२ जेठ २०७९, सोमवार
(नेपाली समय)
२ जेठ २०७९, सोमवार
नेपाली समय

अपराधीकरण

राजनीतिले जग्गा दलाल, डन, भ्रष्टाचारी, कर छली गर्ने व्यापारी, तिकडमबाजलाई संरक्षण गर्‍यो । त्यसैकारण, राजनीति खराब बाटोमा गइरहेको छ ।

मूर्तिचोरीको अभियोगमा अदालतबाट सजाय तोकिएका छिरिङ डम्डुल लामालाई गत माघमा कर्णाली प्रदेशको मन्त्री बनाइयो। जिल्ला अदालत हुम्लाले मूर्तिचोरीको अभियोगमा लामालाई दुई वर्ष कैद र पाँच हजार जरिवानाको फैसला गरेको थियो। प्रदेशसभा सदस्यसमेत नरहेका लामालाई माओवादी केन्द्रले प्रदेश सरकारको महत्वपूर्ण मन्त्रालयको जिम्मा दिएको थियो। उक्त निर्णयविरुद्ध मध्यपश्चिम विश्वविद्यालय कानुन संकायकी विद्यार्थी विनिता बोगटीले मुद्दा दायर गरेकी हुन्। लामा भने सरकारी घोडागाडीसहित झन्डा हल्लाउँदै मन्त्रीको सेवासुविधा प्रयोग गरिरहेका छन्। 

मनाङका प्रदेश सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेमाथि ‘गुण्डागर्दी’ को आरोप छ। ज्यान मार्ने उद्योगसम्बन्धी अभियोगमा जेल बसेर छुटेपछि उनी प्रदेश सरकारको मन्त्रीसमेत बने। नेकपाबाट प्रदेससभा सदस्य बनेका गुरुङको हातमा  कुनै बेला गण्डकी प्रदेशको सरकार टिकाउने र भत्काउने साँचो थियो। 

राजनीतिक दलको आडमा अपराधीलाई उन्मुक्ति दिन खोजिएको अर्को उदाहरण हो त्रिवि परिसरमा प्राध्यापक कुटिएको विषय। त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागका प्राध्यापक प्रेम चलाउनेमाथि गत वर्ष त्रिवि परिसरमै फलामको रड र बासको भाटा प्रहार भयो। कांग्रेस निकट विद्यार्थी संगठनका नेताहरूले उनीमाथि सांघातिक हमला गरेको पुष्टि भयो। तर, कारबाही भएन। उल्टै, आरोपितहरूले मुद्दा फिर्ता लिन गृह मन्त्रालयमा निवेदन दिए। मन्त्रालयले मुद्दा फिर्ता लिने तयारी गरेको छ। 

राजनीतिशास्त्रको एक परिभाषाले ‘राजनीति त्यो विज्ञान हो, जसले समाजका सबै विज्ञानलाई नेतृत्व गरेर अघि बढ्छ’, भनेको छ। तर, यो विज्ञानलाई व्यवहारमा सही रूपमा नउतार्दा फोहोरी खेल र अपराध ढाक्ने ठाउँ बन्दै गएको छ। त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा समाजशास्त्री डा. डम्बर चेम्जोङ भन्छन्, ‘राजनीतिमा अपराध स्विकार गर्ने, ढाकछोप गर्ने, संरक्षण गर्ने र अपनत्व लिने प्रवृत्ति मौलाउँदै छ। यसैले समाजमा राजनीतिको सही प्रभाव पर्न सकेको छैन। अपराधीले प्रश्रय पाउने ठाउँ बनेको छ राजनीति।’

राजनीतिका आडमा भएका र लुकाइएका अपराध धेरै भेटिन्छन्। अपराधमा संलग्नलाई राजनीतिक दलले ठाडै संरक्षण गर्दा दण्डहीनता मौलाएको छ। जिल्लादेखि केन्द्रसम्म नै यस्ता घटना भेटिन्छन्। प्रहरीले अनुसन्धानका क्रममा सबै प्रमाण फेला पारे पनि राजनीतिक प्रभाव र दबाबका कारण ‘अभियुक्त’ पक्राउ पर्दैनन्।  नागरिक अभियन्ता श्याम श्रेष्ठ अपराधलाई राजनीतिले संरक्षण गर्दा देशमा अन्यायको राज भइरहेको बताउँछन्। 

‘हामी पक्रन्छौं, अनि पक्रेर कठघरामा पुर्‍याउन भ्याएको हुन्न। तीन दलका नेताको फोन आइरहेको हुन्छ। उसलाई थुन्नु कि छाड्नु ? थुनौ जागिर नै जाला भन्ने तनाव, नछाडांै समाजमा अपराध बढ्छ,’ एक जना प्रमुख जिल्ला अधिकारीले गरेको गुनासो सुनाउँदै श्रेष्ठ भन्छन्, राजनीतिले समाजमा दण्डहीनता बढायो।’ 

मुलुकमा अपराध र राजनीति गाँसिएको श्रेष्ठ बताउँछन्। ‘अपराधीहरू राजनीतिमा पस्या छन्, राजनीतिले संरक्षण गरेको छ,’ उनी भन्छन्, ‘यसले गर्दा उनीहरू दन्डबाट पनि बचेका छन् जनताको नजरबाट पनि बचेका छन् ।’ अपराध गर्नेलाई राजनीतिले संरक्षण गर्दा समाज नै गलत बाटोमा हिँड्ने दाबी गर्छन् नेपाल प्रहरीका पूर्वअनुसन्धान अधिकृत हेमन्त मल्ल ठकुरी। उनी भन्छन्, अहिलेको राजनीतिले जग्गा दलाल, डन, भ्रष्टाचारी, कर छली गर्ने व्यापारी, तिकडमबाजलाई संरक्षण गर्‍यो। राजनीति नै खराब बाटोमा गइरहेको छ।’  

टीकापुर हत्याकाण्ड मुख्य योजनाकारको अभियोगमा कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशम चौधरी डिल्लीबजार कारागारमा जन्मकैद भुक्तान गरिरहेका छन्। भूमिगत भएरै उनी राजपाबाट उम्मेदवार बने र जिते पनि। जिल्ला अदालतले जन्मकैदको सजाय गरेकै अवस्थामा पनि उनलाई कारागारबाट ल्याएर संसद् भवनमा शपथ खुवाइएको थियो। 
रौतहट क्षेत्र नं. २ बाट निर्वाचित सांसद मोहम्मद अफताब आलम २०६४ को संविधानसभा निर्वाचनको एक दिनअघि चैत २७ गते रौतहटमा भएको बम विस्फोटको घटना र त्यसका घाइतेलाई ज्युँदै जलाउने कार्यमा संलग्न भएको आरोपमा गत असोजमा पक्राउ परे। निलम्बित सांसद आलम पनि अहिले पुर्पक्षका लागि जेलमा छन्।

चुनावमा भोट दिएर जिताउनका लागि हाम्रो समाजले अझ पनि व्यक्तिको कामभन्दा पनि उसको पावर, पार्टी, सम्पत्ति, समुदाय र हेर्ने गर्छ भन्ने गतिलो उदाहरण हो रेशम चौधरी र आलमको घटना। यस्तै राजनीतिको माथिल्लो पोष्टमा पुगिसकेर पनि बेला–बेला माननीयहरूलाई अपराध कर्ममा संग्लन भएको आरोप लाग्ने गरेको छ। गत वर्षको चर्चित मुद्दा हो पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध बलात्कारको घटना।  संसद् सचिवालयमा कार्यरत कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा महरा पक्राउ परेका थिए। नागरिक अभियन्ता श्याम श्रेष्ठ भन्छन्,‘नहुने काम भइरहेछ राजनीतिमा। राजनीति अनैतिक र फोहोर भयो भनेर आम जनतामा घृणा पैदा हुन्छ, वितृष्णा उत्पन्न हुन्छ।’ राजनीति दण्डहिनताको सिकार बन्छ। अपराधीहरू बच्न पर्‍यो भने दलमा पस्ने प्रचलन सुरु भइरहेको छ। 

राजनीतिमा अपराध स्विकार गर्ने, ढाकछोप गर्ने, संरक्षण गर्ने र अपनत्व लिने प्रवृत्तिा मौलाउँदै छ। अपराधीले प्रश्रय पाउने ठाउँ बनेको छ, राजनीति।

त्रिविका प्राध्यापक तथा समाजशास्त्री डा. चेम्जोङ राजनीतिमा लोकतान्त्रिक संस्कारको चरम अभावका कारण यस्तो भएको बताउँछन्। अपराधका घटनामा मुछिनेहरूमा, वडा सदस्य, स्थानीय तहका अध्यक्ष तथा सांसदसम्म छन्। उनीहरूको संलग्नता सुन तस्करी, बलात्कार, मानव बेचविखन, मूर्ति चोरी, अवैध गर्भपतन र हत्यासम्म छ। झुठा विवरण पेश गरी नागरिकता लिएको, सरकारी छाप दस्तखत कीर्ते, सार्वजनिक अपराध, ज्यान मार्ने उद्योगको अभियोग उनीहरूमाथि छ। जातीय छुवाछूत, बोक्सीको आरोप, चोरी, बैंकिङ कसुर, संगठित अपराधलगायतको घटनामा पनि जनप्रतिनिधि मुछिएका छन्।  

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि पर्सा क्षेत्र नम्बर ३ बाट समाजवादी पार्टी नेपालका सांसद हरिनारायण रौनियार निलम्बनमा परेका छन्। रौनियार पप्पु कन्स्ट्रक्सनका अध्यक्ष थिए। पप्पु कन्स्ट्रक्सनले बर्दियाको गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटको पुल तथा काठमाडौं टेकुको पुल निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग गरेको, ठेक्का लिएका अन्य निर्माण कार्यमा पनि लापरबाही गरेको आरोप लागेको छ।

यस्तै कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री खड्कबहादुर खत्री बैंकिङ कसूरसम्बन्धी मुद्दा लागेपछि पदमुक्त भए। कृषि विकास बैंकले खत्रीसहित ५ जनाले १ करोड ८० लाख ८० हजार रुपैयाँको किर्ते बैंक ग्यारेन्टी बनाएको आरोप लगाएको छ।

अपराध अनुसन्धानमा राजनीतिक दल हावी हुन्छन् भन्ने आरोप लाग्ने गर्छ। नेपाल प्रहरीका प्रवक्ता विष्णुकुमार केसी  भन्छन्, ‘अपराध गरेका व्यक्ति जुनसुकै दलका हुन् हामीले राजनीतिक व्यक्तिभन्दा पनि अपराध गर्ने व्यक्तिका रूपमा अनुसन्धान गर्ने गरेका छौं। कर्मअनुसार कानुनको दायरामा आएकै छन्। प्रहरीले अनुसन्धान गरेकै छौं। राजनीति पार्टीले नै सरकार चलाउँछ। देशको ऐनकानुनअनुसार काम गर्ने हो। राजनीतिक निर्णयको आधारमा सरकारले गर्ने निर्णय पनि कानुनअनुसार नै गरिएको हुन्छ।’ 

सुरक्षाविद्, इन्द्रजित राई भन्छन्, ‘समाजमा अपराधीकरण बढ्नुको अनेक कारण मध्ये राजनीति मुख्य रूपमा आउँछ। समाज बिग्रियो, मोबाइलको असर, गलत सूचनाको असर, धर्ममाथि विश्वास नहुनु, नैतिक शिक्षाको अभावलगायतका विषयले अपराध बढ्यो। 

भूतपूर्व नेता हुन वा मन्त्री प्रधानमन्त्री वा अहिलेका बहालवाला नेतृत्व नै किन नहुन्, वरिपरि गुण्डा, मवाली, ठग राखेर घुमिरहेका हुन्छन्। यो विकृत राजनीतिको पराकाष्ठा हो। किन त भन्ने प्रश्नमा सुरक्षाविद् राईको जवाफ थियो, चुनावमा बुथ कव्जा गर्नु पर्‍यो। व्यापारीलाई धम्काउनु परो। झगडा गर्नुपर्छ, लठ्ठी चलाउनुपर्छ। यस्तो विकृतिले समाजमा दण्डहीनता बढाउँछ। डनहरू मन्त्री बन्ने र क्षमतावान व्यक्तिहरू विदेश पलायन हुने संस्कार देखिँदै आएको छ त ! 

समाजशास्त्री चेम्जोङ पनि नीतिहरूको पनि नीति मानिने राजनीति सफा हुनुपर्नेमा जोड दिन्छन्,। उनी भन्छन्, समाजलाई नियन्त्रण गर्ने, बाटो देखाउने र निर्देशित गर्ने संस्था नै राजनीति हो। यो संस्था नै संस्थागत भएकै छैन। जुन अति जरुरी हो। पदीय दायित्व जिम्मेवारपूर्ण पूरा गर्ने र अपराधलाई बढावा नदिनका लागि नीति बनाउनेतिर दलहरू लाग्नुपर्ने उनको भनाइ छ। 

साभार : अन्नपुर्णपोष्ट अनलाइन बाट