६ मंसिर २०८०, बुधवार
(नेपाली समय)
६ मंसिर २०८०, बुधवार
नेपाली समय

अप्ठ्यारो घडीमा मिलेर अघि बढ्नुपर्छ : प्रधानमन्‍त्री ओली

मे दिवसको शुभकामना सन्देश

काठमाडौं : प्रधानमन्‍त्री केपी शर्मा ओलीले श्रमजीवी वर्ग दुःख गरेर सुखको सपना देख्ने वर्ग भएको बताएका छन्।  मे दिवस २०२० को अवसरमा शुभकामना सन्देश दिँदै उनले श्रमजीवी वर्ग परिवर्तनको संबाहक भएको धारणा राखेका छन्।

शुभकामना सन्देशमा भनिएको छ, ‘श्रमजीवी वर्ग भनेको दुःख गर्न सक्ने, तर सुखको सपना देख्ने वर्ग हो।  परिवर्तनको संबाहक हो।  र, सबै आत्तिएको बेला ढाडस दिन सक्ने, अनि आफैं अघि सरेर समस्याको सामना गर्न सक्ने वर्ग श्रमजीवी वर्ग हो।’ 

सन्देशमा कोरोना भाइरसका कारण उद्योग–व्यवसाय बन्द हुँदा आम्दानी घटेका स्वदेशमा कार्यरत सबै प्रकृतिका श्रमिकहरुका कष्टकर जीवनप्रति दुःखी भएको उल्लेख छ। ‘ एक दशकको हिंसात्मक द्वन्द्वका कारण गाउँको रोजगारी खोसिँदा शहर/बजार पसेका, तर शहर/बजारले रोजगारी दिन नसक्दा परदेश भासिएका लाखौं नेपाली युवा श्रमिकहरु विभिन्न मुलुकमा कार्यरत छन्।  युवाहरु विदेशिने यी र अन्य विभिन्न बाध्यकारी परिस्थिति तथा प्रवृत्ति पनि छन्।’  ओलीले भनेका छन्, ‘अहिले कोरोना भाइरसको महामारीका कारण ‘न कार्यरत मुलुकमा रम्न सकिने, न त स्वदेश फर्किन सकिने’ चेपुवामा श्रमिकहरू परिरहेका छन्।  यसबाट सिर्जना भएको पीडाप्रति म जानकार तथा संवेदनशील छु।  यस अप्ठ्यारो घडीमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण श्रमजीवी नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक ऐक्यबद्धता जाहेर गर्दछु।’ 

उनले कोरोना महामारी विरुद्धको लडाईंमा एक हुँदै श्रमिकको रोजगारी, आय र सामाजिक सुरक्षा सुनिश्चित गर्ने दिशातर्फ केन्द्रित रहने बताएका छन्। ओलीले वैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई उनीहरुले हासिल गरेको दक्षता अनुरुपको स्वरोजगारी सिर्जना गर्न सरल कर्जा र प्रविधि हस्तान्तरणको प्रबन्ध गर्ने बताएका छन्।  सन्देशमा भनिएको छ, ‘स्वदेशमा रहेका वा विदेशमा रोजगारीमा जान नपाएकाहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रममा जोडिने छ।  विभिन्न मन्त्रालय, निकाय र सार्वजनिक संस्थाहरु मार्फत सिर्जना भएका कामका अवसरहरु नेपालीलाई नै सुनिश्चित गर्ने व्यवस्था मिलाइने छ।’ 

साभार : अन्नपूर्ण पोष्ट अनलाइन

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds