१० कार्तिक २०७८, बुधवार
(नेपाली समय)
१० कार्तिक २०७८, बुधवार
नेपाली समय

अब तरकारी किन्दा पनि डिजिटल कारोबार हुनुपर्छ: अनिल शाह

 देशमा लकडाउन भएको एक महिना नाघिसकेको छ । लकडाउनका बेला पनि बैङ्कहरू सुचारु छन् । नागरिकहरूले बैङ्क पुगेर सेवा लिन भने पाएका छैनन् । यस्तो बेला डिजिटल कारोबार गर्न केन्द्रीय बैङ्कले आग्रह गर्दै आएको छ ।प्रविधिमा धेरै पछाडि रहेको नेपालका लागि कोभिड-१९ एउटा अवसरको रुपमा आएको नबिल बैङ्कका सीईओ अनिल केसरी शाह बताउँछन् ।

केन्यामा चोरी र लुटपाट धेरै बढेपछि डिजिटल कारोबार बढेको उदाहरण दिँदै उनले नेपालमा पनि कोरोनाका कारण डिजिटल कारोबार बढ्ने बताए । बैङ्किङ प्रविधिका विविध पक्षमा शाहसँग अनलाइनखबरका रोयल आचार्यले गरेको भर्चुअल संवाद :

लकडाउनका बेला कसरी सेवा प्रदान गरिरहनुभएको छ ?

मान्छेले बिर्सिरहेको जस्तो लाग्छ, अहिले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरूले राम्रो काम गरिरहनुभएको छ । म उहाँहरूलाई सलाम गर्छु ।

अहिले धेरै मान्छेहरूलाई अस्पताल नगए पनि भएको छ । तर, वित्तीय संस्थामा त जानै परेको छ । पैसा त सबैलाई चाहिन्छ नै । बैङ्क तथा वित्तीय संस्थाहरू अनिवार्य आवश्यकताका क्षेत्रहरू हुन् । दाल, तरकारी किन्न पैसा नभई हुन्न । पैसाका लागि बैङ्क जानैपर्छ ।

लकडाउनका बेला सेवा दिन हामीले एउटा रणनीति बनाएर कार्यान्वयन गर्यौँ– यथासम्भव प्रविधि प्रयोग गर्ने । एटीएम जस्तो प्रविधि प्रयोग गर्न अप्ठ्यारो ठाउँमा बैङ्कको शाखा नै खोलेर सेवा दिने । परिणाम, अहिलेसम्म बैङ्कको पैसा निकाल्न नपाएको गुनासो आएको छैन । ग्राहकहरू बैङ्क तथा वित्तीय संस्थाहरूले दिएको सुविधाबाट सन्तुष्ट हुनुहुन्छ ।

लकडाउनपछि बैङ्किङ प्रविधि प्रयोग बढेको हो ?

हो, बढेको छ । डिजिटल कारोबार गर्ने लिडिङ बैङ्कको रुपमा नबिल बैङ्क छ । नबिलको प्राथमिकता पनि डिजिटल बैङ्किङमा छ । वर्ल्ड बैङ्क, एडीबी, आईएमएफलगायतबाट हामीले बारम्बार सुन्नपर्थ्यो– तिमीहरूले मोबाइलबाटै कारोबार गर्ने प्रविधि किन नअपनाएको, केन्यालाई हेर न !

डाँडाकाँडा भएको नेपालमा पनि प्रविधि प्रयोग बढाउनुपर्ने सुझावहरू आउँथ्यो । हामीले बुझ्दा केन्यामा चोरी लुटपाट धेरै भएपछि डिजिटल कारोबार बढेको रहेछ । केन्यामा क्राइम भएजस्तै नेपालमा डिजिटल बढाउने कोरोना बनेको छ । अहिले एटीएम कार्डमात्र नभई मोबाइल बैङ्किङ, इन्टरनेट बैङ्किङसमेत बढेको छ ।

बैङ्कहरूले प्रविधि प्रयोग बढाउन खोजेकै थिए । त्यसअनुसार ल्याएका प्रोडक्टहरू बिकेको भने थिएन । कोरोनाले यसको महत्व बढाएको छ । कोरोनापछि नेपालमा डिजिटल कारोबार बढ्छ ।

नेपालमा बैङ्किङ प्रविधि असुरक्षित छ भनिन्छ नि ?

प्रविधिमा केही चुनौती हुन्छ नै । यसको अर्थ असुरक्षित भन्ने हुँदैन । फेरि प्रविधि असुरक्षित भएर मेरो खाताको पैसा गयो, म खत्तम भएँ भन्ने सुनेको छैन । इन्टरनेट ह्याकिङ भएर कुनै ग्राहकले एक रुपैयाँ पनि गुमाउन परेको छैन भने असुरक्षित कसरी भन्ने ?

केही समयअघि एटीएम ह्याक गर्ने विदेशी समूह पैसा चोरेर भाग्न पाएन, पक्राउ परिहाले । त्यसलाई नै आधार मानेर नेपालमा बैङ्किङ प्रविधि असुरक्षित छ भनेर लेखेको मैले पनि पढेँ । म यहीँ प्रश्न सोध्न चाहन्छु– कुन देशमा एटीएम ह्याक हुँदाहुँदै बैङ्कले थाह पाएर ह्याक गर्ने समूहलाई नै समातेको छ ?

कति देशमा त यति मिलियन डलर लिएर भागेको खबर सुनेका छौँ । तर, नेपालमा त्यस्तो भएको छैन । प्रविधिमा चुनौती हुन्छ, त्यसमा लगानी बढाउँदै जानुपर्छ । कसैले चोर्न खोज्छ भन्दैमा असुरक्षित छ भन्नु ठिक होइन । चोर आएर चोर्ला कि भनेर हामी घरमा तला लगाउँछौँ। ताला लगाएको घरै असुरक्षित छ भन्न त मिल्दैन नि ।

भनेपछि कोभिड-१९ प्रविधि प्रयोग बढाउने अवसर नै हो त ?

बैङ्कहरूले अवसरका रुपमा लिएका छन् । यो रहरले होइन, बाध्यताले भएको हो । लकडाउनमा पनि ग्राहकलाई सेवा चाहिएकै छ । हामी भएका प्रोडक्टबारे बुझाउने र नयाँ प्रोडक्ट ल्याउने काम गरिरहेका छौँ। नबिलले भर्खरै नयाँ प्रोडक्ट लञ्च गरेको छ । अन्य बैङ्कहरूले पनि गरेका छन् ।

नबिलको नयाँ प्रोडक्ट कस्तो हो ?

पहिलो कम्प्युटरराइज बैङ्किङ ल्याउने बैङ्क नबिल नै हो । ३५ वर्ष अघि पहिलो ज्वाइन्ट भेन्चरको रुपमा नबिल नेपाल आउँदा नै हामीले कम्प्युटर भित्र्यायौँ । त्यो बेला कागजमा लेखेर बैङ्किङ कारोबार हुन्थ्यो । रेकर्डहरू पनि कागजमै हुन्थे ।

नबिलले एटीएम ल्याउँदा असुरक्षित हुन्छ कि ? अर्को कार्डवालाले मेरो खाताबाट पैसा निकालिदिन्छ कि भन्ने डर थियो । अहिले त कसैलाई त्यस्तो छैन । हजुरबुबा/आमाहरूले पनि मजाले प्रयोग गर्न थाल्नुभएको छ । प्रविधि प्रयोग बढ्दै गयो, हामीले कार्डमा पनि चिप बनायौँ । चिप बेस कार्ड धेरै सुरक्षित हुन्छ ।

योभन्दा सुरक्षित बनाउनुपर्छ भनेर हामीले ट्याप कार्ड ल्याएका छौँ । घरमै बसेर कारोबार गर्न सजिलो होस् भनेर मोबाइल एपमा थप सुविधा दिन थालेका छौँ ।

ईएटनविल (E@Nabil/CIBS) पनि सुरु गरेका छौँ । व्यक्तिगत खातामा एक जनाको हस्ताक्षर हुन्छ, एकजनाले चलाउन सक्नुहुन्छ । यस्तो बेलामा कम्पनीको खाता कसरी चलाउन सहज होस भनेर सुविधा ल्याएका हौँ । यसबाट सबै कम्पनीहरूले घरमै बसेर कारोबार गर्न सक्नुहुन्छ ।

हामीले एउटा कल सेन्टर पनि खोलेका छौँ। त्यो चौबिसै घण्टा सुचारू रहन्छ । अर्को ‘नबिना’ भन्ने च्याट बक्स छ, जसले तपाईंलाई चाहिएको सामान्य जानकारीहरू च्याटबाटै दिन्छ । जस्तो– एटीएम कहाँ छ ? शाखा कहाँ छ ? अहिले अनलाइनबाटै खाता खोल्न सकिन्छ । अनलाइनबाटै केवाइसी भर्ने व्यवस्था पनि मिलाउँदैछौँ ।

नेपालमा डिजिटल बैङ्किङ हुँदैन भन्ने थिएन । तर, कहिले हुन्छ भन्ने थियो । कोरोनाले त्यो अवसर सिर्जना गरेको छ । अब बैङ्कहरूले नयाँ नयाँ प्रविधि भित्र्याउनुपर्छ ।

अहिले क्यूआर कोडबाट कफी खाएको बिल तिर्न सकिन्छ । चीनमा त धेरै कामहरू क्यूआर कोडबाटै हुने गरेका छन् । हामी पनि यसको विकास गरिरहेका छौँ । त्यसपछि हरेक नेपालीको हातमा डिजिटल सेवा पुग्छ । हामी चाहन्छौँ– नेपालमा तरकारी किन्न जाँदा पनि डिजिटल कारोबार होस् । साइकलमा तरकारी बेच्ने भाइसँग पनि क्यूआर कोड होस् ।

दोस्रो पटक सहुलियत घोषणा गर्दै राष्ट्र बैङ्कले २ प्रतिशत छुट दिने बताएको छ, यसलाई कसरी लिनुहुन्छ ?

कुनै बैङ्कको सीईओले बैङ्कका लगानीकर्ता, ग्राहक र कर्मचारीबारे मात्र सोच्ला । तर, राष्ट्र बैङ्क र अर्थमन्त्रालयले समग्र अर्थतन्त्रलाई हेर्ने हो । मैले यसलाई सकारात्मक नै लिएको छु ।

राष्ट्र बैङ्कले ल्याएको प्याकेजका विषयमा छलफल भइरहेको छ । बैङ्कर्स संघका अध्यक्षज्यूले पनि छलफल चलाउनुभएको छ । यो नै पर्याप्त नहोला । बैङ्कको ब्याजमात्र ठूलो कुरा होइन । घरभाडा, बिजुलीको महसुल लगायतका धेरै कुरा छन् ।

उपप्रधानमन्त्रीको संयोजकत्वमा बनेको उच्चस्तरीय समितिले कोरोनाका विषयमा धेरै काम गरेको छ । अर्थतन्त्रका लागि यस्तो छुट्टै समिति चाहिन्छ । अर्थमन्त्रीज्यूको संयोजकत्वमा एफएनसीसीआई, चेम्बर, सीएनआई, बैङ्कर्स संघ लगायत समेटिएर छुट्टै समिति बनोस् र अर्थतन्त्र जोगाउन आवश्यक कामहरू गरोस् ।

समूद्रको आइसवर्ग १० प्रतिशत मात्र पानीमाथि देखिन्छ बाँकी ९० प्रतिशत देखिँदैन । अर्थतन्त्रमा अहिले देखिएका समस्याहरू पनि १० प्रतिशत मात्र हुन् । अर्थतन्त्रलाई शतप्रतिशत समस्याबाट जोगाउन छुट्टै उच्चस्तरीय समिति बनाउनैपर्छ ।

साभार : अनलाइनखबर अनलाइन