३० चैत, ताज्मानिया (अष्ट्रेलिया) । विश्वको कूल जनसंख्याको करिब २० प्रतिशत मानिसहरु कोरोना भाइरसका कारण प्रत्यक्ष ‘लकडाउन’मा छन् ।
महामारीका रुपमा फैलिएको उक्त भाइरसका कारण संसारभरि हालसम्म १ लाख ८ हजार बढीको मृत्यु भइसकेको छ भने यो संख्या अझै बढ्ने निश्चित छ । व्यापार व्यावसाय ठप्प छन्, अर्थतन्त्र डामाडोल छ, करोडौं मानिसहरु बेरोजगार भएका छन् ।
यही स्थिति रहुन्जेलसम्म अष्ट्रेलियामा मात्र करिब २० लाख मानिसहरु बेरोजगार हुन सक्ने अनुमान गरिएको छ । यो महामारीबाट अष्ट्रेलियामा रहेका लाखौं नेपालीहरु पनि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रभावित भएका छन् ।
कोरोना भाइरसका कारण बेरोजगारीको संख्या त बढ्दै छ तर यसको ठीक विपरीत अष्ट्रेलियामा हजारौंको संख्यामा रहेका नेपालीहरुको काम भने ज्यूँका त्यूँ छ । अझ भनौं, काम अझै बढेको छ ।
अष्ट्रेलियाको सरकारले खाद्यान्न क्षेत्रमा, वृद्धवृद्धा स्याहार केन्द्रमा, हस्पिटलमा काम गर्ने कामदारहरुलाई अत्यावश्यक कामदारका रुपमा परिभाषित गरेपछि त्यस क्षेत्रमा काम गर्ने नेपालीहरुलाई भने काम गर्न भ्याइ नभ्याई छ । यहाँको सरकारले वृद्धवृद्धा स्याहार केन्द्रमा काम गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरुले काम गर्न पाउने प्रतिहप्ता २० घण्टाको सीमा बढाएर ४० घण्टा पुर्याएपछि पनि उनीहरुलाई काम गर्न भ्याइ नभ्याई भएको हो ।
’यो (कोरोना) भाइरसका कारण हामीलाई त अझै काम थपिएको छ,’ अष्ट्रेलियाको ताज्मानिया राज्यको लन्चेस्टनस्थित एक वृद्धवृद्धा स्याहार केन्द्रमा काम गर्ने शारदाले भनिन्, ‘पहिला पहिला हप्तामा २० देखि २५ घण्टा काम हुन्थ्यो, आजकाल ४० घण्टासम्म गर्छौं ।’
अन्य क्षेत्रमा काम गर्नेहरु काम नपाएर हैरान हुँदा आफूहरुको काम भने चलिरहँदा गर्व लाग्छ, लन्चेस्टनकै एक हस्पिटलमा काम गर्ने रजिस्टर्ड नर्स रुपा गुरुङलाई । यत्रो लकडाउन हुँदा पनि रोजगारी नगुम्नु खुसीको कुरा हो ।
‘तर अन्य क्षेत्रको तुलनामा जोखिम पनि त छ नि,’ दुबैजनाको अनुहारमा एउटै पीर झल्किन्थ्यो । वृद्धवृद्धाहरु कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेकाले पनि उनीहरुसँग काम गर्दा डर लाग्ने बताए ।
त्यसो त स्याहार केन्द्रहरुले काम गर्ने कामदारहरु र वृद्धवृद्धाहरुलाई संक्रमणबाट बचाउन काममा आउने कामदारहरुको नियमित स्वास्थ्य परीक्षण गर्ने, ज्वरो नापेर मात्र काममा जाने नियम, पर्याप्त ‘पीपीई’को उपलब्धता, लगायतका संक्रमण रोकथामका उपायहरु भने अपनाएका छन् ।
उनीहरुको मात्र होइन, लन्चेस्टनकै ग्रोसरी स्टोर कोल्समा काम गर्ने अर्का नेपाली मित्र गुरुङको पनि पछिल्लो समयमा व्यस्तता बढेको छ । नबढोस् पनि किन, ‘जति लकडाउन भएर घरमै बसे पनि मानिसलाई खान त आवश्यक पर्ने रहेछ,’ उनी व्यस्तताको कारण बताउँछन् ।
यहाँको सरकारले पनि महामारीको समयमा खाद्यान्न लगायत अत्यावश्यक सामाग्री आपूर्तिमा काम हुन नदिन अनेक उपायहरु अपनाएको छ । अझ ‘सुपरमार्केट’हरुले त खाद्यान्न आपूर्तिमा सहजता ल्याउनका लागि हजारौं नयाँ जागिरहरु पनि खोलेको थियो ।
कोरोना भाइरसका कारण अष्ट्रेलियामा रहेका नेपालीहरुमध्ये सबैभन्दा प्रभावित हुनेहरुमा होटल रेस्टुरेण्ट, मनोरञ्जन, यातायात र पर्यटन क्षेत्रमा काम गर्नेहरु पर्छन् ।
अष्ट्रेलियाका अधिकांश मझौला खालका व्यापार व्यावसाय ठप्प जस्तो हुँदा पनि अत्यावश्यक कामदारका रुपमा केही क्षेत्रहरुमा नेपालीहरुले काम गर्न पाउनु सकारात्मक पक्ष भएको बताउँछन् एनआरएनएका पूर्वअध्यक्ष तथा सामाजिक अभियन्ता सुरेन्द्र सिग्देल ।
‘अष्ट्रेलियाको अत्यावश्यक सेवामा काम गर्नेहरुमध्ये नेपालीहरु पनि भएको कुरा हाम्रा लागि गर्वको विषय हो,’ अनलाइनखबरको जिज्ञासामा उनले भने, ‘यस्तो बेलामा पनि काम गर्न पाइएको छ, राम्रो आवर पाइएको छ, सकारात्मक कुरा हो ।’ तर काम, आवर मात्र भन्दा पनि आफ्नो स्वास्थ्यलाई प्राथमिकता राखेर काम गर्न उनले सुझाव दिए ।
यस्तो महामारीको बेलामा काम गर्दा संक्रमणबाट बच्न एकदमै ध्यान पुर्याएर काम गर्नुपर्ने चिकित्सकहरुको सुझाव छ । हस्पिटल, वृद्धवृद्धा स्याहार केन्द्र जस्ता ठाउँहरुमा काम गर्दा कामदारहरुलाई पनि संक्रमणको जोखिम उच्च हुने बताउँछन् उनीहरु ।
‘काम गर्दा पीपीईको पर्याप्त प्रयोग, सरसफाइमा पर्याप्त ध्यान दिने, यहाँको सरकारले तथा स्वास्थ्य अधिकारीहरुले तोकेको नीति नियमभित्र रहेर काम गर्नु नै यस महामारीबाट बच्ने उत्तम उपाय हो,’ अष्ट्रेलियामा कार्यरत एक नेपाली चिकित्सक प्रवीन दाहालले भने ।
काम पाएकाहरुलाई संक्रमणबाट बचेर काम गर्न र काम नभएकाहरुलाई मानसिक तनाव नलिन उनले सुझाए । काम नभएर घरमै बसेकाहरुलाई मोटोपन, उच्च रक्तचाप, मानसिक रोगहरु लाग्न सक्ने जोखिम हुने भएकाले ‘एक्सरसाइज’ लगायत अन्य शारीरिक क्रियाकलाप मा संलग्न हुन उनको सुझाव थियो ।
–प्रतीक सिग्देलबाट
साभार : अनलाइनखबर अनलाइन