१० कार्तिक २०७८, बुधवार
(नेपाली समय)
१० कार्तिक २०७८, बुधवार
नेपाली समय

अहिले स्वास्थ्य मन्त्रीलाई चिनौं, बहस पछि गरौंला !

७ वैशाख, काठमाडौं । देश कोरोना भाइरसको उच्च जोखिममा पर्न थालेको छ । यस्तो चुनौतीपूर्ण घडीमा अग्रमोर्चाको लडाइँ लड्नुपर्ने स्वास्थ्य मन्त्रालयको महत्वपूर्ण जिम्मेवारी नेकपाका केन्द्रीय सदस्य भानुभक्त ढकालको काँधमा छ । उनको काँधमा जिम्मेवारी मात्र छैन, आफ्नै राजनीतिक भविश्यको ‘टेस्ट किट’ को पोकोसमेत झुण्डिएको छ ।

स्वास्थ्यमन्त्री ढकालले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर शेरबहादुर पुनलाई केही सार्वजनिक अभिव्यक्तिको विषयलाई लिएर स्पष्टीकरण सोधेको विषयले अहिले मिडियामा चर्चा पाएको छ ।

कोरोनाविरुद्धको फ्रन्टलाइनमा काम गरिरहेका डा. पुनमाथि लिखित स्पष्टीकरण सोध्नुपर्ने आवश्यकता किन मन्त्री ढकालले ठाने ? डा. पुनमाथि किन स्पष्टीकरण सोध्नैपर्ने भयो ?

यो प्रश्नको जवाफ स्वास्थ्य मन्त्रालयले आम जनतालाई दिएको छैन । वा, दिनुपर्ने आवश्यकता महसुस गरेको छैन । शायद जनदबाव बढ्यो भने बल्ल स्वास्थ्यमन्त्रीले जवाफ दिनेछन् ।

राजनीतिमा उति साह्रो चासो नराख्ने युवापुस्ताका मानिसहरुले नेकपाका नेता एवं स्वास्थ्यमन्त्री ढकाललाई चिन्दैनन् । अहिले नेपालमा स्वास्थ्यमन्त्री को छ भन्यो भने धेरै मानिसले नाम बताउन सक्दैनन् ।

नेकपाभित्र चिरपरिचित नै भएता पनि सोसाइटीमा भानुभक्त ढकाल यसअघिसम्म खासै चर्चित नाम होइन ।

तर, अहिले कोरोनाको महामारीका बेला मानिसहरुले स्वास्थ्य मन्त्रालय र स्वास्थ्यमन्त्रीबारे चासो राख्नु स्वाभाविकै हो ।

यस्तो महामारीका बेलामा स्वास्थ्य मन्त्रालयको महत्वपूर्ण जिम्मेवारी पाउनु ढकालका लागि एउटा अवसर पनि हो । मन्त्री ढकालले यो संकटको बेलामा स्वास्थ्य क्षेत्रमा उदाहरणीय काम गरेर जनताको मन जिते भने यहीँबाट उनको राजनीतिक भविश्य उज्यालिन सक्छ । र, उनलाई नचिनेको युवा पुस्ताले पनि एक सफल स्वास्थ्यमन्त्रीका रुपमा उनलाई सम्झिइरहनेछ ।

तर, स्वास्थ्यमन्त्री ढकालका सुरुवाती कदम त्यति आशलाग्दा देखिन सकेका छैनन् ।

कोरोना महामारीको आतंक फैलिँदै गर्दा मन्त्री ढकालबारे ‘पाहुना’ सम्बन्धी शब्दावलीको ‘ट्रोल’ नै बन्यो । आफ्नो घरमा पाहुना आएकाले फुर्सद छैन भन्ने उनको अभिव्यक्तिलाई परिहासको विषय बनाइयो । यो उनको ठूलै गल्ती त थिएन, तर संकटका बेलामा बोल्दा विचार पुर्‍याउन नसक्नुको परिणाम भने अवश्यै थियो ।

मन्त्री ढकाल छुद्र बोल्छन् र विवादमा पर्छन् भन्ने अर्को पनि उदाहरण छ । औषधिजन्य सामग्री खरिदका लागि बोलाइएका व्यवसायीसँग कुरा गर्ने क्रममा उनले ‘डाक्टरले भान्सामा समेत पीपीई लगाउने गरेको’ छुचो आरोप लगाए । उनको यो वचनका कारण देशभरिका स्वास्थ्यकर्मीले चित्त दुखाए ।

महामारीका बेला स्वास्थ्यकर्मीहरुको मनोबल बढाउनुपर्ने र हौसला दिनुपर्ने बेलामा मन्त्रीले कस्तो घटिया सोचाइ राख्दारहेछन् भन्ने बुझ्नका लागि उनका यी अभिव्यक्ति पर्याप्त नहोलान्, तर सहायक भने बन्न पुगेकै हुन् ।

‘घरमा पाहुना आएका छन्’ भनेको विषय भन्दा ‘डाक्टरले भान्सामा पीपीई मागे’ भनिएको विषय बढ्ता गम्भीर हो ।

यी त भए जिब्रो चिप्लिएका कुरा । मान्छेको मन र जिब्रो लटपटिनु फरक विषय हो ।

तर, मन्त्री ढकाल यसवीचमा मनको पनि सफा प्रतीत हुन सकेको देखिँदैन । मन्त्रालयका कर्मचारीहरुलाई बोल्न नदिने, सबैले प्रवक्ता बन्न पाइन्न भन्दै हप्काउने र कुनै चिकित्सकले कोरोनाबारे जानकारीमूलक केही बोल्यो भने नियन्त्रण गर्न खोज्ने गुनासा आइरहेका छन् । डा. पुनलाई स्पष्टीकरण सोधिएको बिन्दुसम्म आइपुग्दा मन्त्रीको कलुषित मन ‘क्लाइमेक्स’ मा पुगेको देखिन्छ ।

बोली र मनभन्दा ठूलो काम

यी त भए स्वास्थ्यमन्त्रीका बोली र पेटका कुरा । तर, विधिशास्त्रमा त्योभन्दा ठूलो कार्य वा एक्सनलाई मानिन्छ ।

स्वास्थ्य सामग्री खरिद प्रकरणमा ओम्नी गु्रपलाई महंगोमा ठेक्का दिएको विषय स्वास्थ्य मन्त्रीमाथि उठेको गम्भीर प्रश्न हो । यो ठेक्का प्रकरणले मन्त्री ढकालको नियतमाथि त प्रश्न उठाएको छ नै, उनको निर्णय क्षमता र नेतृत्व क्षमतालाई पनि यसले सतहमा ल्याएको छ । उनी स्वार्थसमूहको गोटी बनेका त छैनन् ? यो प्रश्न उब्जिएको छ ।

चौधरी ग्रुपले चीनबाट स्वास्थ्य सामग्री किनेर ल्याउन सक्ने, तर स्वास्थ्य मन्त्रालयले किन नसक्ने ? किन सेनालाई ठेक्का दिनुपर्ने ? यो सबै मन्त्रालयको असक्षमताकै कारणबाट भइरहेको छैन ? मन्त्री ढकालमाथि प्रश्न उठेको छ । तर, उनी भन्दैछन्- यो जवाफ दिइरहनुपर्ने प्रश्न होइन ।

डा. शेरबहादुर पुनमाथि सोधिएको प्रश्न त स्वास्थ्य मन्त्रालयको आन्तरिक विषय हुन सक्ला तर, मन्त्री ढकालले स्वास्थ्य सामग्री खरीद प्रकरणमा भएको गडबडीको जवाफ ऐन मौकामा दिनैपर्ने हुन्छ । अहिले लकडाउनको मौकामा यो प्रश्नको जवाफ दिइरहन आफूले आवश्यक नठानेको भनेर मन्त्री ढकाल खरिद प्रकरणबाट पन्छिँदै आएका छन् । तर, भविश्यमा पनि जनतामा आएर राजनीति गर्नुपर्ने नेताले आफूमाथि उठेको प्रश्नबारे यति साह्रो अररो बन्नु उनैका लागि घातक हुने देखिन्छ ।

नेकपाका तत्कालीन कानूनमन्त्री शेरबहादुर तामाङले बंगलादेशमा रहेका नेपाली विद्यार्थीबारे दिएको एउटा अभिव्यक्तिका कारण तत्कालै राजीनामा दिएका थिए । सांसद तामाङ अहिले मन्त्री छैनन् । तर, राजनीतिक यात्रा टुंगिएको छैन ।

मन्त्री ढकालले स्वास्थ्य सामग्री खरीद प्रकरणमा उठेको प्रश्नको जवाफ दिइरहन किन आवश्यक ठानेनन् ? यसका पछाडि उनको आम जनतालाई बेवास्ता गर्ने उनको कमजोर राजनीतिक संस्कार जिम्मेवार छ ।

ढकाल नेतृत्वको स्वास्थ्य मन्त्रालयले अढाइ महिनादेखि मेडिकल सामग्री खरिद गर्न सकेको छैन । महंगो मूल्यमा सामान किन्ने असफल निर्णयमा हस्ताक्षर गरेपछि उनी विवादमा फसेकै हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले समेत यो विषयलाई सुनेको नसुन्यै गरेर ढकाललाई काँध थापेका छन्

स्वास्थ्यमन्त्री ढकालले आफ्नो पछिल्लो प्रेस बि्रफिङमा भनेका थिए, पहिले कोरोनाको महामारीबाट बचौं र बचाऔं, बहस पछि गरौंला ।

सही हो, स्वास्थ्यमन्त्रीको नेतृत्व क्षमता र भूमिकाबारे कोरोनासँगको हार-जीतपछि नै बहस गर्नु राम्रो हुन्छ । तर, अहिलेचाहिँ हाम्रा स्वास्थ्यमन्त्रीको व्यक्तित्वबारे लोकलाई प्रकाश पार्नु अन्यथा नहोला ।

स्वास्थ्यमन्त्री ढकाल को हुन् र उनी कसरी राजनीतिको यो स्थानसम्म आइपुगे ? यसबारे जानकारी नरहेका नयाँ पुस्ताका पाठक सामु स्वास्थ्यमन्त्री ढकालको प्रोफाइल खोल्नु असान्दर्भिक नहोला ।

को हुन् स्वास्थ्यमन्त्री ढकाल ?

मन्त्री ढका २०२१ साल पुस २१ गते तेह्रथुमको ओख्रेमा जन्मिएका हुन् । उनी मोरङको क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका उम्मेद्वार एवं बिराटनगर नोबेल अस्पतालका मालिक सुशील शर्मालाई चुनाव हराएर प्रतिनिधिसभा सदस्य बनेका हुन् ।

ओख्रेमै विद्यालय तहको अध्ययन गरेका ढकालले कीर्तिपुर विश्वविद्यालयबाट इतिहासमा एमए पढेका छन् ।

०३५ सालको विद्यार्थी आन्दोलनबाट स्कुलदेखि नै राजनीतिमा प्रवेश गरेको बताउने ढकाल अखिलको तेह्रथुम जिल्ला अध्यक्ष भएपछि काठमाडौंमा कानून पढ्न आए । काठमाडौंमा रहँदा यहाँको अखिल कमिटीमा जिल्ला अध्यक्ष हुँदै दुई कार्यकाल अनेरास्ववियूको महासचिव भए । ०५३ सालबाट उनले अखिलबाट विदा लिएर पार्टीमा काम गर्न थाले । काठमाडौंमै उनले ०४९ साल बैशाख ४ गते बिवाह गरे ।

काठमाडौंमा मनमोहन अभिकारीको चुनाव परिचालन कमिटीको संयोजक भएका ढकालले विभिन्न समयमा सडक आन्दोलनमा भूमिका निभाए ।

मन्त्री ढकालसँग पञ्चायतकालमा तीन वर्षजति जेल जीवन बिताएको अनुभव छ ।

तत्कालीन एमालेको उपत्यका विशेष समन्वय कमिटीमा रहेर काम गरेका ढकाल एमालेको आठौं महाधिवशेनबाट केन्द्रीय सदस्य बने । नवौं महाधिवेशनबाट पोलिटब्यूरो सदस्य बने । पार्टी एकतापछि उनी नेकपाको केन्द्रीय सदस्यको जिम्मेवारीमा छन् ।

पार्टीमा केपी ओलीनिकट रहँदै आएका ढकाल ०७० सालमा एमालेबाट समानुपातिक सांसदको कोटामा परे ।

त्यही कार्यकालमा उनले पार्टीको संसदीय दलको प्रमुख सचेतकको भूमिका पाए । उनले पाएको त्यो जिम्मेवारी मन्त्री सरहको थियो । र, त्यहीँबाट राष्ट्रिय राजनीतिमा उनको नाम चर्चामा आयो ।

तर, प्रधानमन्त्री ओली उनको भूमिकाप्रति सन्तुष्ट थिएनन् । समानुपातिक सांसद हुँदा तेह्रथुममा बजेट पुर्‍याएका र पहिल्यै काठमाडौंमा स्थायी घरबार जोडिसकेका ढकाल मोरङबाट पाहुना सांसद चुनिए, उनको भाग्य चम्कियो ।

र, ०७५ साल साउन १८ गते कानून मन्त्रीका रुपमा क्याबिनेटमा पुगेका ढकाल उपेन्द्र यादवले राजीनामा दिएपछि स्वास्थ्य मन्त्रीको जिम्मेवारीमा छन् ।

सोझा तर टर्रा !

मन्त्री ढकाललाई नजिकबाट चिन्ने पूर्वएमालेका नेताहरु उनलाई ‘सोझा नेता’ भन्न रुचाउँछन् । उनलाई प्रयोग गरेर अरुले फाइदा उठाउने सम्भावना प्रचुर रहेको उनका समकालीन बताउँछन् ।

मन्त्री ढकाललाई नजिकबाट चिन्ने एक नेताका अनुसार सोझो भए पनि बोली वचनमा भने उनी निकै नै रुखा छन् ।

बोलीमा मात्र होइन, व्यवहारमा पनि आफ्ना आलोचक र विपक्षीप्रति उनी संकीर्ण छन् । गुटमा मात्र रमाउने उनी आलोचक र विपक्षीसँग मिलेर काम गर्न सक्दैैनन् । मन्त्रालयमा एमाले भनेर चिनिएका बाहेक अन्य कर्मचारी र स्वास्थ्यकर्मीलाई उनी एमालेका शत्रु वा कांग्रेस देख्छन् र झस्कन्छन् । पार्टीभित्र माधव नेपाल पक्ष र पूर्वमाओवादीलाई उनी रुचाउँदैनन् । उनी एकदमै सानो घेरामा काम गर्न रुचाउने संकीर्ण वाम नेता हुन् ।

केपी ओलीकै निकटका कतिपय नेताहरुको स्वीकारोक्ति के छ भने मन्त्री ढकाल जनताको वीचमा भिजेर नेतृत्वमा आइपुगेका होइनन् । यही कारणले उनी अलि अव्यवहारिक लाग्छन् ।

उनी जिल्लाबाट काठमाडौंमा पढ्न आए, यतै विद्यार्थी राजनीति गरे । चुनावमा उनी न काठमाडौंका भए, न तेह्रथुमका । ०७० सालमा समानुपातिकको कोटामा परेपछि पछिल्लो चुनावमा तेह्रथुमबाट चुनाव लड्ने विचार गरेका थिए । तर, तेह्रथुमेले उनलाई ठाउँ दिएनन् ।

अन्ततः विद्यार्थीकालदेखि नै काठमाडौंलाई कर्मथलो बनाएका ढकाल मोरङको बेलबारीमा चुनाव लड्न झरे । सुन्दर हरैंचामा दाजुको घर हुनु बाहेक मोरङसँग उनको नाता थिएन । पार्टीले ‘पाहुना उम्मेद्वार’ बनाएको भन्दै बेलबारीमा एमालेकै स्थानीय नेताले ढकालविरुद्ध विद्रोहसमेत गरेका थिए । तर, माओवादीसँग एकता भएको हुनाले ढकालले बेलबारीबाट चुनाव जिते ।

अबका दिनमा ढकालको चुनाव लड्ने ठाउँ न मोरङ, न काठमाडौं, न त तेह्रथुम नै छ । उनको राजनीतिक ग्राउण्ड नै नरहेको नेकपाका नेताहरु बताउँछन् ।
यस्तो अवस्थामा अब मन्त्री ढकालसँग एउटै मात्र विकल्प बचेको छ- स्वास्थ्यमन्त्रीका रुपमा राम्रो र पारदर्शी ढंगबाट काम गर्ने, सिंगै देशबासीको विश्वास जितेर लोकपि्रयता कमाउने ।

यति गरे भने ढकालको राजनीतिक भविश्य काठमाडौं, तेह्रथुम, वा मोरङ, जहाँबाट पनि अजमाउन सक्छ ।

तर, के ५६ वर्षीय स्वास्थ्यमन्त्री भानुभक्त ढकालबाट मुलुकको आवश्यकता र जनअपेक्षा पूरा हुन सक्ला ? उनको कमाण्डिङमा कोरोनाविरुद्धको अग्रमोर्चा विजयी बन्ला ?

अहिले बाँचौं र बचाऔं । बहस पछि गरौंला !

साभार : अनलाइनखबर अनलाइन