२१ मंसिर २०८०, बिहीवार
(नेपाली समय)
२१ मंसिर २०८०, बिहीवार
नेपाली समय

उच्च पहाडि सीमाक्षेत्रमा सशस्त्रको निगरानी

फिदिम : सुरक्षाकर्मीको पाइला नपरेको उच्च पहाडको सीमा क्षेत्रमा कोरोना भाइरसको त्रास बढेपछि बल्ल सुरक्षाकर्मी पुगेका छन् । भारतसँग सीमाना जोडिएको पाँचथरको सीमा क्षेत्रमा शसस्त्र प्रहरी पुगेपछि स्थानीय खुसी छन् । सीमा सुरक्षामा उदासिन देखिएको प्रहरी कोरोना भाइरसका कारण यसपट सीमानामा पुगेको हो ।

सीमाबाट कोराना भाइरस भित्रने त्रास बढेपछि शसस्त्र प्रहरीले निगरानी बढाएको हो । प्रहरी प्रशासनले यसअघि सीमा सुरक्षामा चासो दिएको थिएन । यस क्षेत्रका चौँरी गोठाला नै सीमा सुरक्षा गार्डको रुपमा खटिएका थिए । कोरना भाइरस (कोभिड-१९) को संक्रमण छिमेकी मुलुक भारतमा पनि डरलाग्दो रुपमा फैलिएपछि सीमाक्षेत्रमा बल्ल प्रहरी  पुगेको हो ।

सीमानामा प्रहरी पुगेपछि यहाँका स्थानीयले सुरक्षित महशुस गरेका छन् । ‘यतिका वर्षसम्म प्रहरीले सीमा सुरक्षामा चासो दिएको थिएन,’ फालेलुङ गाउँपालिका ४ चाररातेमा चौँरी पालेर बसेका जंग राईले भने, ‘अहिले सशस्त्र प्रहरीले सीमानामा सुरक्षा दिन थालेकाले हामीलाई ढुक्‍क भएको छ ।’

पाँचथरको फालेलङ गाउँपालिका र याङवरक गाउँपालिकाको सीमाना भारतसँग जोडिएको छ । भारतको वेष्ट बंगाल र सिक्‍किम राज्यसँग जोडिएको यो क्षेत्रमा विगतमा कहिल्यै पनि प्रहरीको नजर पुगेको थिएन । कोरोनाको संक्रमण फैलिएपछि पहाडको सीमा क्षेत्रमा सशस्त्र प्रहरीले सुरक्षा दिन थालेको हो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गुल्म हिमशिखर पाँचथरको टोली उच्च पहाडको सीमा क्षेत्रमा खटाइएको हो । गुल्मपति प्रहरी नायब उपरीक्षक शैलेन्द्र श्रेष्ठका अनुसार २० जना सशस्त्रको टोली सीमाक्षेत्रमा खटाएको हो । ‘तीन स्थानमा अस्थायी क्याम्प खडा गरेर सीमानामा निगानी बढाइएको छ,’श्रेष्ठले भने, ‘सीमाक्षेत्रबाट कसैलाई पनि छिर्न दिइएको छैन ।’

सीमाक्षेत्रमा सिक्‍किम पुलिस, एसएसपी र सशस्त्र प्रहरीले निगरानी बढाएका हुन् । चिवाभञ्ज्याङको सीमाक्षेत्रको निगरानी गर्न च्याङथापुमा १० जना सशस्त्र प्रहरी राखिएको हो । 

सई जसबहादुर नेतृत्वको टोलीले चिवा क्षेत्रमा निगरानी बढाएको छ । फालेलुङको मेमेङमा सई यज्ञराज वस्तीको नेतृत्वमा १० जनाको टोली खटाइएको हो । यो टोलीलाई फुटाएर भैँसेमा पाँच जनाको टोली राखिएको गुल्मपति श्रेष्ठले जानकारी दिए । 

‘प्रहरीले सीमा क्षेत्रमा निगरानी बढाएपछि जडिबुटि र वन्यजन्तुको चोरी निकासी पनि रोकिएको छ,’ चौरीपालक किसान चन्द्रलाल नेपालले भने, ‘कोरोनाको संक्रमण रोकिएपछि पनि सशस्त्रलाई सीमा सुरक्षामा राख्नुपर्छ ।’ यहाँको चौँरी गोठलाई क्याम्प बनाएर प्रहरी राखिएको हो । स्थानीयसँगको समन्वयमा सशस्त्रले सीमानामा निगरानी बढाएको हो ।

साभार : अन्नपूर्ण पोष्ट अनलाइन

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds