उस्तै छन् द्वन्द्वपीडितका घाउ

रुकुम, १ असार (रासस) : द्वन्द्वरत पक्षबीच विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको ११ वर्ष पूरा भएको छ । शान्ति सम्झौता भएको एक दशक पुग्दा पनि यहाँका द्वन्द्वपीडितले शान्ति र राहत महसुस गर्न पाएका छैनन् । 

द्वन्द्वका बेला माओवादीबाट बलात्कृत भएकी खाराकी सरिता (नाम परिवर्तित)ले राहतसमेत पाएकी छैनन् । उनको मानसिक अवस्था बिग्रँदो छ । आफ्नो उपचारमा समेत राज्य गम्भीर नभएको उनले बताइन् । 

त्यस्तै, महत–५, का सुबोध सेर्पालीको शरीरमा अझै गोली छ । तत्कालीन माओवादीका पूर्व लडाकू सेर्पालीलाई नेपाली सेनासँगको भिडन्तमा गोली लागेको हो । उनी राम्रोसँग काम गर्न सक्दैनन् । 

गोली शरीरबाट निकाल्न नसक्दा बेलाबेलामा उनलाई द्वन्द्वको सम्झना आउँछ । द्वन्द्व सम्झँदा उनको मन छियाछिया हुन्छ । “मैले देश र दुनियाँ बदल्न लडेँ,” उनले भने, “राज्यले मेरो जीवन बदलेन ।” उनी जस्तै शरीरमा गोली भएका रन्मामैकोटका सुरुल पुनले पनि शान्तिको महसुस गर्न पाएका छैनन् । “मेरो शरीरमा गोली छ,” उनले भने, “बेलाबेला घाउ बल्झिँदा कसरी भुलँु म द्वन्द्व ।” पुनको शरीरका ३५ ठाउँमा गोलीका छर्रा छन् । नेताहरु देश तथा विदेशमा उपचार गराउँछन् । द्वन्द्वका घाइते खोलागाउँका गोपालप्रसाद शर्माले भने, “हामीलाई उपचारमा बेवास्ता ग¥र्याे ।” द्वन्द्वको उद्गम थलो यहाँबाट माओवादी नेता जनार्दन शर्मा, लोकेन्द्र विष्ट, गणेशमान पुन, दलजित सेर्पाली, कमला रोका, विमला केसी मन्त्री भए । उनीहरुले समेत द्वन्द्वपीडितको समस्याप्रति गम्भीर नभएको उनीहरुको आरोप छ । 

त्यस्तै, द्वन्द्वपीडितहरुले राहतसमेत पाउन सकेका छैनन् । राहत नपाउँदा आफ्नो समस्या अझै जटिल बनेको ओपेन्द्रलाल कामीले बताए । यहाँका द्वन्द्वपीडितले निर्दाेष मान्छे पीडित भएको प्रति आफ्नो आपत्ति रहेको बताए । छानविनपछि दोषीलाई कारवाही गरिए आफ्नो घाउ सेलाउने उनीहरुको भनाइ छ । घाइते तथा अपाङ्गता भएका व्यक्ति राज्यबाट आफ्नो उपचार र रोजगारीको व्यवस्था हुनुपर्ने बताउँछन् । देश परिवर्तनकै लागि आफूहरुले दुवै आँखा गुमाउनुपरेको भन्दै नेपाली काँग्रेसका जिल्लास्तरीय नेता गोपालप्रसाद शर्माले भने, “म दुवै आँखा देख्दिनँ, कसरी जीवन चलाउँ । राज्यले मेरो पालनपोषण गर्नुपर्छ कि पर्दैन ?” । दुर्गा रावले केसीले आफ्नो श्रीमान्को लाससमेत देख्न पाइनन् । उनले सरकारी राहतभन्दा न्याय पाउने आशमा रहेको बताइन् । शिक्षक नर्जित बस्नेतको माओवादीले एउटा हात काटिदिए द्वन्द्वको बेला । उनी अहिले अशक्त जस्तै छन् । “दोषीलाई कानूनी कारवाही नहुँदासम्म मेरा घाउ निको हुँदैन” उनी भन्छन् – “द्वन्द्वको घाउ उस्तै छ । निको पार्न राज्यले सकेन ।” लडाइँ गरेर शान्ति प्रक्रियामा आएको माओवादी सरकारमा हुँदासमेत आफूहरुलाई बेवास्ता गरेको द्वन्द्वपीडितहरुको भनाइ छ । 

राहत र उपचार सेवाबाट वञ्चित उनीहरु देशमा राजनीतिक अस्थिरता कायमै रहँदा झनै पीडित छन् । राजनीतिक स्थिरता भए आफ्ना आफन्तले लिएको सपना पूरा हुने यहाँका द्वन्द्वपीडितको भनाइ छ । महँगी, भ्रष्टाचार, बेरोजगार समस्या अझ जटिल बन्दा आफन्तहरुको सपना पूरा नभएको नेपाली काँग्रेसका नेता प्रेमप्रकाश ओलीले बताए । उनका बुबा पनि द्वन्द्वका बेला शहीद भएका थिए । आफ्नो स्वार्थका लागि नेताले जनतालाई भुलेको यहाँका सर्वसाधारणको आरोप छ । 

करीब दुई दशकअघि तत्कालीन युद्धरत नेकपा माओवादीले खारा घटनामा ठूलो पराजय व्यहोर्नु प¥र्याे । सोही पराजयको जगमा उभिएर २०६२ मा चुनवाङ बैठकले युद्ध त्यागेर शान्ति प्रक्रियामा जाने निर्णय ग¥र्याे । सोहीबमोजिम युद्धरत माओवादी र नेपाल सरकारबीच सात बुँदे शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो । यहाँबाट माओवादीले युद्धको शुरुवात गरेको थियो । युद्धको अन्त्य पनि यहीँ बसेको बैठकबाट पारित भयो र शान्ति प्रक्रियामा गयो । द्वन्द्वमा मानवीय तथा धनजनको क्षति यो जिल्लाले पनि बेहो¥यो । कतिका सिन्दूर पुछिए, कति घाइते भए, कसैको अंगभंग भयो, कोही अभिभावकविहीन भए । कति आमाहरु छोरोको पर्खाइमा अझै जीवन कटाउन बाध्य छन् । युद्धले यहाँका हजारौँ जनताको मनमा घाउ बनाइदिएको छ र यो पुरिन बाँकी छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *