२ जेठ २०७९, सोमवार
(नेपाली समय)
२ जेठ २०७९, सोमवार
नेपाली समय

ओम्नी समूहले ल्याएको कीट कोरोना पत्ता लगाउन उपयोगी हुनेमा आशंका !

२५ चैत, काठमाडौं । कैलाली र कञ्चनपुरमा र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) कीट परीक्षण सुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार मंगलबार अपराह्नसम्म कैलालीमा १८ र कञ्चनपुरमा २१ जनाको नमूना संकलन भइसकेको छ ।

नेपाल कोरोना (कोभिड–१९) भाइरस महामारीको दोस्रो स्टेजमा प्रवेश गरेसँगै सरकारले कैलाली, कञ्चनपुर र बाग्लुङमा आरडीटी कीटको प्रयोग गर्ने निर्णय गरेको थियो । स्थानीय स्तरमा पहिलो कोराना संक्रमण कैलालीमा पुष्टि भएकै दिन सरकारले यस्तो निर्णय गरेको थियो ।

मंगलबार अपरान्हसम्म विभिन्न ल्याबमा एक हजार ८९० वटा नमुना परीक्षण भइसकेका छन् । जसमध्ये जम्मा ९ वटाको मात्रै पोजेटिभ रिर्पोट आएको छ ।

यी सबै परीक्षण स्वाब संकलन गरेर रियल टाइम पोलीमरेज चेन रियाक्सन (पसीआर) विधिमार्फत गरिएको हो । पीसीआर सबैभन्दा भरपर्दो र विश्वसनीय विधि मानिन्छ ।

तर, यसको पनि आफ्नै सीमितता छ । यो विधिमा आरडीटीको तुलनामा समय र लागत बढी लाग्ने जानकारहरू बताउँछन् ।

त्यही भएर सरकारले र्‍यापिड टेस्टमा जाने निर्णय गरेको हो । र्‍यापिड टेस्टमा एन्टीजेन बेस्ड टेस्ट र एन्टीबडी बेस्ड गरी दुई किसिमका कीटको प्रयोग हुन्छ ।

एन्टीजेन कीटको प्रयोग गर्दा भाइरस भए/नभएको तुरुन्तै पत्ता लाग्छ । यसमा १५–२० मिनेटमै रिर्पोट आउने जानकारहरू बताउँछन् ।

‘तर एन्टीबडी बेस्ड कीटले भने संक्रमण भएको ३–४ दिन बित्दा पनि पहिचान नगर्न सक्छ’ जनस्वास्थ्य वैज्ञानिक डा. समीरमणि दीक्षित भन्छन्, ‘एन्टीजेन बेस्ड टेस्ट भाइरस पत्ता लगाउनका लागि हो भने एन्टीबडी बेस्ड टेस्ट निगरानीका लागि हो ।’

अर्थात जुन उद्देश्यका लागि सरकारले र्‍यापीड टेस्टमा जाने निर्णय लियो, त्यो एन्टीबडी बेस्ड टेस्ट कीटले पूरा गर्न नसक्ने स्पष्ट छ ।

सरकारको एन्टीबडी टेस्ट मोह

सरकारले ओम्नी समूहमार्फत ७५ हजार थान र्‍यापीड टेस्ट कीट खरिद गरेको थियो । साढे दुईदेखि तीन डलर पर्ने कीटलाई ८ डलरमा किनेको सार्वजनिक भइसकेको छ ।

परल मूल्य भन्दा ६ करोड रुपैयाँ बढी तिरेर किनिएको सबै कीट एन्टीबडी बेस्ड भएको राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषदका एक अधिकारीले जानकारी दिए । उनका अनुसार कैलाली र कञ्चनपुरमा त्यही कीटमार्फत परीक्षण सुरु गरिएको हो ।

एन्टीजेन कीट अन्तराष्ट्रिय बजारमा उपलब्ध नभएकाले एन्टीबडी बेस्ड कीटबाटै काम चलाउन खोजिएको ती अधिकारी बताउँछन् । उनका अनुसार यो कीटको रिजल्ट सय प्रतिशत एक्युरेट हुँदैन ।

‘सामान्य खोकी लागेको वा विदेशबाट आएको स्वस्थ व्यक्तिलाई समेत कोरोना आयो–आयो भन्ने गरेको अवस्थामा परीक्षण गरिएका व्यक्तिको गोप्यतामा पर्याप्त ध्यान भने दिन्छौं’, उनी भन्छन् ।

किन भरपर्दो छैन एन्टीबडी टेस्ट कीट ?

कोरोना संक्रमितको संख्या दैनिक ५०–६० हजारको दरले बढीरहेको छ । अर्को व्यक्तिमा कति छिटो र सजिलै सर्दोरहेछ भन्ने प्रमाण यही तथ्यांक हो ।

३–४ दिनसम्म पत्ता लाग्न नसक्दा कोरोना जस्तो छिटो सर्ने भाइरस धेरै जनामा पुगीसक्ने जनस्वास्थ्यविदहरूको चिन्ता देखिन्छ ।

यसको अर्को बेफाइदा के छ भने एक पटक कोरोना लागेको व्यक्ति निको भइसकेपछि पनि रिर्पोट पोजेटीभ देखाउन सक्छ । डा. दीक्षितका अनुसार निको भएको ४ देखि ६ महिनासम्म पनि एन्टीबडी टेस्ट पोजेटीभ आउन सक्छ ।

दीक्षित भन्छन्, ‘अहिले हामी निगरानी होइन भाइरस छ की छैन भनेर पत्ता लगाउने चरणमा छौं, त्यसैले एन्टीबडी भन्दा एन्टीजेन बेस्ड टेस्ट नै सबैभन्दा उपयुक्त हो ।’

विकल्प पीसीआर नै

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला सहित १० स्थानमा कोरोना परीक्षण गर्ने ल्याब बनिसकेको छ । टेकुको प्रयोगशालामा एकै पटक ९६ वटा नमूनामा परीक्षण गर्न सकिने त्यहाँका अधिकारीहरू बताउँछन् ।

उनीहरूका अनुसार यो ल्याबलाई २४ सै घण्टा सञ्चालन गर्ने हो भने दैनिक एक हजार नमुना परीक्षण गर्न सकिन्छ ।

धरान, जनकपुर, धुलीखेल, हेटौडा, पोखरा, भैरहवा, बुटवल, धगढी र सुर्खेत पनि प्रयोगशाला सञ्चालनमा आइसकेका छन् । काठमाडौंमा निजी क्षेत्रका दुई वटा ल्याब पनि छन् ।

सरकारले साधन स्रोत र जनशक्ति व्यवस्थापनमा कन्जुस्याई नगर्ने हो भने १० वटा ल्याबले दैनिक १५ सय भन्दा बढी नमुना परीक्षण गर्न सक्ने देखिन्छ । टेकु प्रयोगशालाका एक अधिकारी भन्छन्, ‘निकै विश्वासिलो र भरपर्दो मानिएको विधिबाटै दैनिक यत्रो परीक्षण सम्भव छ भने अहिले नै र्यापीड टेस्टमा किन जाने ?’

साभार : अनलाइनखबर अनलाइन