१० असोज २०७९, सोमवार
(नेपाली समय)
१० असोज २०७९, सोमवार
नेपाली समय

कर्णालीमा कोरोनाको जोखिम : लकडाउनले नपुग्ने भन्दै कोरियन मोडेलको खोजी

अन्धविश्वासका कारण क्वारेन्टाइनमा बस्न इन्कार, एक महिला भेरीमा हाम्फालिन्

२५ चैत, सुर्खेत । छिमेकी प्रदेश सुदूरपश्चिमबाट कोरोना भाइरस दोस्रो चरणमा प्रवेश गरेपछि कर्णाली प्रदेशले आफ्नो प्रदेशमा सतर्कता बढाएको छ । सुदूरपश्चिमजस्तै कर्णाली प्रदेश पनि भारतबाट प्रवासी नेपालीहरु बढी भित्रिने क्षेत्रमा पर्छ । कर्णालीमा विभिन्न जिल्लाका बासिन्दाहरु भारतमा रोजगारी गर्न जाने गर्छन्, जो अहिले स्वदेश भित्रिएका छन् ।

कर्णाली प्रदेश सरकारले विपद् व्यवस्थापन परिषद्, अनुगमन समिति, विभिन्न उपसमिति र प्रदेश संकट व्यवस्थापन केन्द्रलगायतका संरचनामार्फत कोरोना रोकथामको तयारी थालेको छ । हालसम्म यहाँ संक्रमित नदेखिए पनि प्रदेश उच्च जोखिममा रहेको निष्कर्षसहित कर्णाली सरकारले १० वटै जिल्लाका स्थानीय तहमा दोस्रो तहको तयारी थालेको छ ।

कर्णालीमा सुदूरपश्चिमकै जस्तै विशेषता भएकोले भयावह अवस्था आउन नदिन केन्द्र सरकारका सबै निर्णय र लकडाउनलाई कार्यान्वयन गराउन बल प्रयोग गर्नसमेत मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले निर्देशन दिएका छन् ।

सुदूरपश्चिमजस्तै जोखिममा छ कर्णाली

कर्णालीमा हालसम्म संक्रमित नभेटिए पनि उच्च जोखिममा छ । पूर्वतयारीमा सरकार चुकेको अवस्थामा कर्णालीले सुदूरपश्चिमकै नियति भोग्नुपर्ने निश्चित छ । कर्णालीमा पनि ठीक सुदूरपश्चिमकै अवस्था छ । किनभने, यहाँ भारतबाट फर्किनेको संख्या ठूलो छ ।

प्रदेश सरकारको तथ्याङ्कअनुसार विदेशबाट ८ हजार ६५० जना आएका छन् । केही बाहेक यो संख्या भारतबाट आउनेको हो । तर, भारतबाट आएका धेरैजसो क्वारेन्टाइनमा नबसी गाउँ पुगेका छन् । उनीहरु सेल्फ क्वारेन्टाइनमा बसेको समेत निश्चित हुन सकेको छैन ।

फा्रन्सबाट करतार हुँदै नेपाल आएको जहाजमा संक्रमितहरुसँगै चैत ४ गते आएका दैलेखका स्वास्थ्यकर्मी नै क्वारेन्टाइनमा नबसेको र २० दिनसम्म पनि परीक्षण नगराउनुले नै यो पुष्टि गरेको छ ।

उल्लेखित तथ्याङकबाहेक अन्य व्यक्ति पनि अवैधरुपमा (हेल्थ डेस्क छलेर) प्रवेश गरेको हुन सक्ने बताउँछन् प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको नेतृत्व गरेका कानूनमन्त्री नरेश भण्डारी । यसले कर्णालीमा थप जोखिम बढाएको छ ।

अन्धविश्वासका कारण क्वारेन्टाइनमा बस्न इन्कार

सुदूरपश्चिममा कोरोना प्रवेश नगरोस् भनेर शैलेश्वरी मन्दिरमा स्थानीयले भाकल गरेका थिए । ठीक त्यस्तै कर्णालीमा पनि देवीदेवता भाकल गर्न थालिएको छ । लकडाउन भइसकेको अवस्थामा दैलेखमा कोरोना गाउँ नपसोस् भनी कूल देवताको पूजा गरी संकल्प गरिएको थियो ।

यो अन्धविश्वासको एउटा उदाहरण मात्रै हो । अशिक्षाका कारण यहाँ थुप्रै समस्या छन् । अशिक्षाकै कारण कर्णालीवासी क्वारेन्टाइनमा बस्न मानिरहेका छैनन् ।

यही चैत १५ गते नेपालगञ्जबाट डोल्पा पुगेका स्थानीयवासी क्वारेन्टाइनमा बस्न मानेनन् । तर, गाउँपालिकाले जबरजस्त क्वारेन्टाइनमै राख्न खोजेपछि से–फोक्सुण्डो गाउँपालिका–५ क ङाचोक गुरुङले भेरी नदीमा हाम फालेर आत्महत्या प्रयास गरिन् ।

क्वारेन्टाइनमा बस्नुभन्दा आत्महत्या गर्न तयार हुनुको प्रमुख कारण कर्णालीको अशिक्षा हो । नागरिकले क्वारेन्टाइन भनेको जेल सम्झिन्छन्, बरु अरु सजायँ भोग्न तयार हुन्छन् । नागरिकमा चेतना जागृत हुन नसक्दा पनि कोरोनाको रोकथाममा चुनौती थपिएको प्रदेश सरकारकी प्रवक्ता सहकारीमन्त्री विमला केसीको भनाइ छ ।

गाउँमा कोरोनोप्रतिको गलत बुझाइका कारण पनि बाहिरबाट गएकाहरु क्वारेन्टाइनमा बस्न नमान्ने गरेको प्रवक्ता केसीको बुझाइ छ । ‘नागरिकमा चेतनास्तर कम छ, कोरोनालाई एचआईभी जस्तै सम्झिएका छन्,’ उनले भनिन्, ‘समस्या छ तर सम्झाइबुझाई गरी सुरक्षित राख्ने प्रयत्न गरिरहेका छौं ।’

चिनियाँ मोडेलको ‘युनिट एक्सन टिम’ परिचालन

खास गरी दोस्रो चरणमा प्रदेश सरकारले नयाँ संरचना र अवधारणा अवलम्बन गर्ने जनाएको छ । जसअन्तर्गत तेस्रो मुलुक र भारतबाट आएकाहरुको विशेष निगरानी गरिने छ । यसका लागि टोल, समुदाय, वडा र स्थानीयतह र जिल्लास्तरमा एकीकृत टिम अर्थात ‘युनिट एक्सन टिम’ निर्माण गरी बाहिरबाट आएका नागरिकको तथ्यांक संकलन गर्न थालिएको छ ।

केही स्थानीय तहले तथ्यांक संकलन गरेर काम सुरु गरिसकेको कर्णाली प्रदेश सरकारकी प्रवक्ता भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विमला केसीले जानकारी दिइन् ।

प्रदेशका सबै जिल्ला, स्थानीय तह र वडा हुँदै समुदाय र टोलमा समेत छिट्टै एकीकृत टिम निर्माण भइ काम सुरु हुने उनको भनाइ छ । ‘सुर्खेत, जाजरकोट लगायतका जिल्लामा काम सुरु भइसकेको छ,’ प्रवक्ता केसीले भनिन्,‘अब सबै ठाउँमा जनप्रतिनिधिको नेतृत्वमा काम हुन्छ । निर्देशन भइसकेको छ ।’

चीन र दक्षिण कोरियामा प्रभावकारी देखिएकाले कर्णालीमा यो मोडेल अपनाइएको हो । एकीकृत टिममा स्वास्थ्यकर्मी, जनप्रतिनिधि र सुरक्षाकर्मी रहेका छन् ।

टिमले स्थानीयलाई क्वारेन्टाइनमा बसाल्ने, बिरामी भए उपचार गर्ने, शंकास्पद व्यक्तिहरुलाई कोरोनाको परीक्षण गर्न पठाउने, अप्ठेरोमा परेकालाई राहत वितरण गर्नेछ ।

२५ सय क्वारेन्टाइन, ३३९ आइसोलेसन

दोस्रो चरणको तयारी सुरु भएको कर्णालीमा हालसम्म दुई हजार ५२८ वटा क्वारेन्टाइन निर्माण भएका छन् । ३३९ वटा आइसोलेसन कक्ष निर्माण गरिएको छ ।

एक हजार क्षमताको क्वारेन्टाइन सुर्खेतको वीरेन्द्रनगरस्थित मध्यपश्चिमाञ्चल विश्वविद्यालय र खुलामञ्चमा निर्माण गरिएको छ ।

खुलामञ्चमा नेपाली सेनाले निर्माण गरेको क्वारेन्टाइन नमूना भएको प्रदेश सरकारको दाबी छ । सम्पूर्ण मापदण्ड पूरा गरी क्वारेन्टाइन निर्माण गरिएको छ ।

सुर्खेतसहित प्रदेशका अन्य जिल्ला र स्थानीय तहमा पनि क्वारेन्टाइन निर्माण गरिएको छ । यी क्वारेन्टाइनमा भारतबाट आएका मजदुरहरुलाई राखिएको छ । सुर्खेतको क्वारेन्टाइनमा पहिलो चरणमा भारतबाट आएका ५७, दोस्रो चरणमा ४५ र तेस्रो चरणमा ५९ जना राखिएको छ ।

जुम्लामा पनि ठूलो संख्यामा भारतबाट आएका मजदुरलाई क्वारेन्टाइनमा राखिएको छ । त्यहाँका ३०० जनाको एकै पटक मंगलबार केन्द्रको टोलीले कोरोना परीक्षण गर्ने प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिका संयोजक कानूनमन्त्री नरेश भण्डारीले जानकारी दिए ।

स्थानीय तहमा समेत क्वारेन्टाइन रहेको र त्यहाँ बसेर फर्किने, नयाँ आउने क्रम पनि जारी भएकोले संख्या यकिन भैनसकेको प्रदेश सरकारले जनाएको छ ।

बाहिरबाट आएका केही व्यक्तिहरु १४ दिन क्वारेन्टाइनमा बसेर अहिले सेल्फ कोरेन्टाइनमा रहेको

लकडाउन मात्रै पर्याप्त छैन

कारोना रोकथामका लागि विश्वले अपनाएको विधि लकडाउन हो । तर, कर्णालीमा लकडाउन नै रोकथामका लागि पर्याप्त हुने देखिँदैन ।

कर्णालीको भौगोलिक अवस्था, नागरिक चेतनास्तर, अशिक्षा र जनजीवनका कारण कर्णालीमा लकडाउन मात्रै कारोना रोकथामको प्रमुख औजार हुन नसक्ने बताउँछन् ‘युनिट एक्सन ग्रुप’ अभियन्ता नरबहादुर कार्की ।

कर्णालीको ठूलो संख्या मजदुरीका लागि भारतमा छ । उनीहरुलाई घरफर्किन लकडाउनले छेकेन । बरु सरकारले नै उद्धार गरेर घर फर्काउनु पर्‍याे । गाउँ गएकाहरु क्वारेन्टाइन्मा बस्न मानेनन् । जबरजस्त गर्न खोज्दा आत्महत्या प्रयास भयो । उनीहरुलाई कसले रोक्ने ?

कर्णाली सुर्खेत र अन्य जिल्लाका सदरमुकामबाहेक सबै भौगोलिक विकट छ । एक वडाबाट अर्को वडा पुग्न घण्टौं लाग्छ । अशिक्षा र चेतनास्तरका कारण आफैं लकडाउनमा बस्दैनन् । गाउँमा प्रहरी युनिट छैन । कर्णालीमा लकडाउन कार्यान्वयन गर्ने एउटै उपाय आत्मअनुशासन भएको बताउँछिन् सरकारी प्रवक्ता विमला केसी ।

तर, कर्णालीको मध्यपहाडी र हिमाली क्षेत्रको जनवीनका कारण पनि लकडाउन प्रभावकारी हुन नसक्ने तर्क गर्छन्, युनिट एक्सन ग्रूपका अभियन्ता कार्की ।

एक गाग्री खानेपानीको घण्टौं हिँडेर जोहो गर्नुपर्ने, खाना पकाउने दाउरा खोज्न घरबाहिरै निस्कनुपर्ने, बस्तुभाउका लागि घाँसदाउरा गर्नु पर्ने, खेतिपाती गर्नु पर्ने बाध्यताले लकडाउन उल्लंघन हुने उनको भनाइ छ ।

यसकारण कर्णाली मात्र नभई देशैभर हरेक नागरिकको तथ्याङक राखेर निगरानी गर्ने र जाँचको दायरा बढाउनुको विकल्प नभएको उनको भनाइ छ ।

भेन्टिलेटरसहित उपचारको व्यवस्था, धीमा गतिमा जाँच

कर्णाली प्रदेश स्वास्थयमा पनि सधैं पछाडि छ । प्रदेशमा रहेका साविकको क्षेत्रीय अस्पतालबाट अञ्चल अस्पतालमा बिरामी रिफर गर्नुपर्ने बाध्यता अहिले पनि कायमै छ ।

हाल कोरोना संक्रमण रोकथामका लागि तिनै न्यून संरचना र जनशक्तिबाटै प्रदेश सरकारले तयारी गरिएको छ । केन्द्र सरकारको निर्णयअनुसार नै सुर्खेतमा प्रयोगशाला स्थापना गरी यही चैत २० गतेदेखि कोरानोनाको परीक्षण सुरु गरिएको छ ।

सोमबारसम्म कर्णालीमा ८० जनाको थ्रोट स्वाब परीक्षण गरिएको छ । ४९ जनाको प्रदेशकै ल्याबबाट र ३१ जनाको टेकुमा परीक्षण गराइएको थियो । विदेशबाट आएका उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।

प्रदेशमा प्रयोगशालाबाट दैनिक ४ देखि १६ जनासम्मको परीक्षण हुने गरेको छ । यो न्यून हो । सरकारको तथ्याङ्कअनुसार विदेश (भारतसहित)बाट आएकाको संख्या मात्रै साढे आठ हजारभन्दा धेरै छ । अवैधानिक रुपमा आएकाहरु सरकारको सम्पर्कमै छैनन् ।

हालकै अवस्थामा जाँच हुँदा विदेशबाट आएकाहरुको यो संख्याको जाँच गर्न मात्र साढे दुई वर्षभन्दा धेरै समय लाग्ने देखिन्छ । निर्देशनालयका अनुसार प्रदेशमा आइसोलेसनमा राखेर उपचार गर्नु पर्ने बिरामीको संख्या भने हालसम्म शून्य नै छ ।

प्रदेश सरकारले उपचारका लागि हालसम्म ३३९ वटा आइसोलेसन वार्ड तयारी अवस्थामा राखेको छ । जसमा सबैभन्दा धेरै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १२० भन्दा बढी आइसोलेसन कक्ष रहेका छन् ।

सुर्खेतको प्रदेश अस्पताल र अन्य जिल्ला अस्पतालहरुमा पनि आइसोलेन कक्षहरु तयार गरिएको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिका संयोजक नरेश भण्डारीले जानकारी दिए ।

उनका अनुसार जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० र सुर्खेतमा ५ र दैलेखमो २ गरी १७ वटा आईसीयु र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५ र प्रदेश अस्पताल सुर्खेतमा २ गरी ७ वटा भेन्टिलेटर तयार गरिएको छ ।

साभार : अनलाइनखबर अनलाइन

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds