१३ चैत २०८०, मंगलवार
(नेपाली समय)
१३ चैत २०८०, मंगलवार
नेपाली समय

कर्णाली प्रदेशको नीति तथा कार्यक्रम संघीय नक्कल ः नेता शाही

सुर्खेत, २८ जेठ (रासस) ः नेपाली काँग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले प्रदेश सरकारको नीति तथा कार्यक्रम संघीय सरकारको नक्कल सिवाय फरक नभएको बताउनुभएको छ ।

कर्णाली प्रदेश सरकारले शनिबार प्रस्तुत गरेका आव ०७५÷०७६ नीति तथा कार्यक्रमलाई उहाँले संघीय सरकारको नक्कल मात्र नभई कथाको पाना जस्तो भएको संज्ञा दिनुभयो ।

नेता शाहीले “प्रस्तुत नीति तथा कार्यक्रम सुनियो, बुझियो, सबै हँचुवाका तालमा ल्याइएको छ, यसमा सरकारको आफ्नो योजना देखिएन,” भन्नुभयो ।

उहाँले भन्नुभयो, “नीति तथा कार्यक्रमले कर्णालीको भूगोल र मौलिकतालाई समेट्न सकिएकोे छैन, नत त्यसलाई कार्यान्वयन गर्ने कुनै संयन्त्र छ, निकै ठूला सपना बाँडिएको छ ।”

प्रदेश सरकारले अर्थतन्त्र बलियो बनाउनका लागि राजश्व उठाउने संरचना पनि तयार नगरेको उल्लेख गर्दै नेता शाहीले पखेटा नभएको नीति तथा कार्यक्रम विकासभन्दा वितरणमुखी हुने देखिएको बताउनुभयो ।

प्रदेशसभा सदस्य दिनबन्धु श्रेष्ठले पनि सरकारको नीति तथा कार्यक्रमले सस्तो लोकप्रियतालाई मलजल गरेको टिप्पणी गर्नुभयो ।

बढी महत्वाकांक्षी भएकाले सरकारको नीति तथा कार्यक्रमबाट कर्णालीको तत्कालीन गरिबी अन्त्य गर्न नसक्ने बताउँदै उहाँले बिगतको संस्कारलाई नै प्रदेश सरकारले अंगालेको आरोप लगाउनुभयो ।

सत्तापक्षका प्रदेशसभा सदस्य धर्मराज रेग्मीले सरकारले ल्याएको नीति तथा कार्यक्रमको उद्देश्य, परिकल्पना र विकासप्रतिको प्रतिबद्धता ठीकै भएको बताउनुभयो ।

यद्यपि यसको प्राथमिकता निर्धारण हुन नसक्दा यो वास्तविकताभन्दा अलि टाढा रहेको जस्तो देखिएको छ, उहाँले भन्नुभयो, “क्षेत्रीय सन्तुलन कायम गर्न सडक, जलविद्युत्, कर्णाली पर्यटन हव, प्रादेशिक विमानस्थल र प्रादेशिक स्वास्थ्य संरचना निर्माणलाई नीति तथा कार्यक्रमले प्राथमिकता दिइनुपर्छ ।”

सत्तापक्षकै अर्का सदस्य कौशिला खत्रीले नीति तथा कार्यक्रम तत्कालीनभन्दा पनि दीर्घकालीन आवश्यकता पूरा गर्ने बताउनुभयो ।

सारमा कर्णाली प्रदेशको नीति तथा कार्यक्रमले सर्वाङ्गीण वर्ग, क्षेत्र र पक्षलाई समेट्न खोजे पनि सीमान्तकृत, अल्पसंख्यक वर्गलाई छुन नसकेको र अझै महिलामैत्री बन्न नसकेको उहाँको प्रतिक्रिया थियो ।

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds