१० कार्तिक २०७८, बुधवार
(नेपाली समय)
१० कार्तिक २०७८, बुधवार
नेपाली समय

कसरी हुन्छ प्रोपागान्डा ?

नरेश रेग्मी

प्रोपागान्डाका सात प्रकार

सामाजिक सञ्जालमा भारतीय क्रान्तिकारी कवि गोरख पाँडेको नाममा एउटा कविता प्रसिद्ध छ। 
राजा बोला रात है 
रानी बोली रात है 
मन्त्री बोला रात है 
सन्तरी बोला रात है 
फिर सब बोले रात है 
ये सुबह सुबहकी बात है (हिन्दी)
यो कविताको बारेमा जान्ने पर्ने दुई पक्ष छन् । पहिलो हो कविताको अर्थ र दोश्रो हो कविताको इतिहास। सरलीकरण गर्दा कविताको अर्थ निकै प्रष्ट छ। सत्ताले चाह्यो भने बारम्बार प्रचार गरेर दिउँसै रात पारिदिन सक्छ। गलतलाई सही बनाइदिन सक्छ जसरी राजा, रानी, मन्त्र, सन्तरीले बिहानै रात पारिदिए र सबैले गलतलाई सही भनेर प्रचार गरे पछि सबैले विश्वास गर्न थाले।

कविता सुनेका अधिकांश मानिसलाई लाग्छ यो कविता गोरख पाँडेको हो तर वास्तवमा यो कविता गोरख पांडेको होइन। यो कविता जवाहरलाल नेहरू विश्वविद्यालयका प्राध्यापक गोविन्द प्रसाद को हो र ‘ओरिजनल’ कविता अझै लामो, थोरै भिन्न एवं झन अर्थपूर्ण छ।  

यो कविताको उद्देश्य राजनीतिमा ‘प्रोपागान्डा’ले कसरी काम गर्छ भनेर बुझाउनु थियो तर जुन कविता ‘प्रोपागान्डा’को पर्दाफास गर्नका लागि  लेखिएको थियो । अन्त्यमा त्यही कविता आफै ‘प्रोपागान्डा’को शिकार भयो। कसैले योजनाबद्ध तरिकाले गोरख पाँडेको फोटोमा यो कविता लेखेर सामाजिक सञ्जालमा हालिदियो र त्यो गलत सामग्री एकाएक भाइरल भयो।  आज यो कविता गोरख पाँडेको नाममा यति प्रसिद्ध छ कि यो कविता गोविन्द प्रसादको हो भनेर स्थापित गर्ने निकै गाह्रो छ। बारम्बार प्रचार हुँदा असत्य बलियो बनेको छ भने सत्य कमजोर। 

यस्तै सन्दर्भमा हिटलरका ‘प्रोपागान्डा’ मन्त्री पाउल जोसेफ ग्वेबल्सको एउटा चर्चित भनाइ छ। ‘एक पटक बोलिएको झुट, झुट नै ठहर्छ  तर हजार पल्ट बोलिएको झुट सत्य बन्छ।’ अर्थात् झुटलाई सत्य भए जसरी नै प्रचार गरेको गर्यै गर्ने हो भने कवितामा भनिए झैं आम मानिस त्यो झुटलाई सत्य सोचेर विश्वास गर्न थाल्छन्। 

ग्वेबल्सकै एउटा अर्को चर्चित भनाइ छ।  प्रोपागान्डले सबै भन्दा राम्रो काम तब गर्छ जब मानिस प्रोपागान्डाबाट बहकिएको थाहै नपाएर आफ्नै सुझबुझले चलिरहेको भन्ठान्छन्। अर्थात एउटा राम्रो प्रोपागान्डा त्यो हो जो प्रोपागान्डा हो भनेर आम मानिसलाई थाहै हुँदैन।

ग्वेबल्सकै एउटा अर्को चर्चित भनाइ छ। प्रोपागान्डले सबै भन्दा राम्रो काम तब गर्छ जब मानिस प्रोपागान्डाबाट बहकिएको थाहै नपाएर आफ्नै सुझबुझले चलिरहेको भन्ठान्छन्। अर्थात एउटा राम्रो प्रोपागान्डा त्यो हो जो प्रोपागान्डा हो भनेर आम मानिसलाई थाहै हुँदैन। 

उहिलेको जस्तो आजभोलि प्रोपागान्डा मन्त्री नै बनाउने चलन त छैन तर प्रोपागान्डा बनाएर भ्रम छर्ने चलन पहिला भन्दा पनि झन बढेको देखिन्छ। ‘सूचनाको युग’ सँग हातमा हात समातेर र काँधमा काँध मिलाएर सँगसँगै हिँडिरहेको छ प्रोपागान्डाको युग। समाचार पढ्न थाल्यो कि कहिले कहिले त थाहै हुँदैन पढेको सामग्री समाचार थियो वा प्रोपागान्डा !  प्रायोजित मिडियाको यस्तो विगविगी छ कि समाचार कुन हो र प्रोपागान्डा कुन हो छुट्याउने नसकिने अवस्था आएको छ। प्रोपागान्डा हेर्दा समाचार वा सूचना जस्तो देखिन्छ तर वास्तवमा प्रोपागान्डा न समाचार हो न सूचना। मानिस प्रोपागान्डाला सत्य सम्झेर प्रोपागान्डालाई झन ‘भाइरल’ बनाइदिन्छन् । अनजानमा आफू पनि प्रोपागान्डाको शिकार हुन्छन् र अरुलाई पनि शिकार हुन आकर्षित गर्न पुग्छन्। 

कोही त छन् जो जानी जानी हरेक दिन केही भ्रामक समाचार ‘भाइरल’ बनाइरहेका छन्। कोही त छन् जो कतै नै कतै बसेर सत्यलाई झुट र झुटलाई सत्य बनाइरहेका छन्। आखिर को हुन उनीहरु जो मस्तिष्कमा ग्वेबल्स बोकेर हिँडिरहेका छन् ? यो लेख आम मानिसलाई ग्वेबल्सहरुबाट जोगाउन, प्रोपागान्डा के हो चिनाउन, प्रोपागान्डा कसरी काम गर्छ बुझाउन र प्रोपागान्डाबाट बचाउनको लागि लेखिएको हो। 

परिभाषा
प्रोपागान्डा सिद्धान्तकी विज्ञ एन म्याकक्लिन्टकका अनुसार प्रोपागान्डा भनेको आम मानिसलाई आफ्नो पक्षमा तान्न वा कसैको विपक्षमा बनाउन योजनाबद्ध तरिकाका गरिएको व्यवस्थित प्रयास हो। सही होस् वा गलत, सत्य वा झुट प्रोपागान्डाको एक मात्र उदेश्य भनेको बनाइएको प्रचार सामग्रीमा आम मानिसले विश्वास गरुन भन्ने हुन्छ। विश्वास दिलाउनको लागि प्रोपागान्डा उत्पादकले विषयलाई बंग्याउने, विशुद्ध झुटको साहारा लिने, मानिसलाई बहकाउने लगायतका विभिन्न तिगडम प्रयोग गर्छन्। यहाँ बुझ्नु पर्ने एउटा महत्वपूर्ण विषय के छ भने प्रोपागान्डाहरु यती योजनाबद्ध र व्यवस्थित हुन्छन कि मानिसहरु सजिलै यसको जालमा फस्छन्। प्रोपागान्डा राजनीतिमा मात्र हुँदैन। रेडियो, टेलिभिजन, पत्रपत्रिका जस्ता आम–सञ्चारमा माध्यमबाट गरिने विभिन्न वस्तुको विज्ञापनदेखि धर्म प्रचारका सामग्रीमा पनि प्रोपागान्डाको अत्यधिक प्रयोग हुन्छ। तर यो लेख राजनीतिक प्रोपागान्डामा बढी केन्द्रित छ।  

प्रोपागान्डा राजनीतिमा मात्र हुँदैन। रेडियो, टेलिभिजन, पत्रपत्रिका जस्ता आमसञ्चारमा माध्यमबाट गरिने विभिन्न वस्तुको विज्ञापनदेखि धर्म प्रचारका सामग्रीमा पनि प्रोपागान्डाको अत्यधिक प्रयोग हुन्छ।

प्रोपागान्डाका सात प्रकार 
सर्वसाधारण जस्ता देखिने मानिसको प्रयोग  
सन् २०१४ मा भारतीय जनता पार्टीको चुनावी अभियानको एउटा मुख्य  नारा थियो ‘अच्छे दिन आने वाले है’ अर्थात राम्रा दिन आउनेवाला छन् । यो नारा पनि एउटा सानो तिनो प्रोपागान्डा थियो तर सबै भन्दा खतरनाक यही नाराको नाममा बनाइएका भिडियो प्रचार सामग्री थिए। युट्युबमा खोजे साढे दुई मिनेटको उक्त भिडियो हेर्न सकिन्छ। 

भिडियोको पहिलो अंशमा तीनजना बुढा मान्छे पार्कमा व्यायाम गर्दै गरेका देखिन्छन् । हेर्दा मध्यम वर्गीय परिवारका जस्ता देखिने ती बुढा अली–अली व्यायाम गर्दै एक अर्काअर्कासँग देशको भौगोलिक सुरक्षा लगायतका समस्या बारे चिन्ता व्यक्त गरिरहेका हुन्छन्। चिन्ताकै बीचबाट तीनमध्ये एक जनाले एकाएक एकदम आशावादी कुरा गर्छ। ‘यसपाली मोदीलाई जिताउँछौँ, भाजपालाई बहुमत दिलाउँछौँ,’ एक जनाले भन्छन्। आशा माथि आशा थप्दै  अर्को बुढो मान्छेले थप्छन्, ‘त्यही भएर त राम्रा दिन आउँदैछन् ।’ विज्ञापनको प्रस्तुति यति राम्रो छ कि भिडियो  हेर्दै गरेको हरेक बुढो मान्छेले आफूलाई त्यो विज्ञापनसँग भावनात्मक रुपमा जोड्ने सम्भावना बढी छ। 

भिडियोको दोश्रो अंशमा दुईजना ट्याक्सी चालक र तेश्रो अंशमा ग्रामीण भेगकी दुई महिलालाई देखाइन्छ। ट्याक्सी चालकको भिडियो महंगीमा केन्द्रित छ भने ग्रामीण महिलाको भिडियो गाउँमा छिट्टै विद्यालय खुल्ने र छोरीलाई पढाउने विषयमा केन्द्रित छ। ट्याक्सी चालकको संवाद मजदुर र किसानलाई भावनात्मक रुपमा आफू तिर आकर्षित गर्ने प्रकारको छ। महिलाको संवाद भने ती तमाम महिलालाई आकर्षित गर्ने प्रकारको छ । जो चाहन्छन् कि उनका छोरीले पनि पढ्न पाउन। भान्सा कोठाको संसार नाघेर अगाडि बढ्न पाउन। समाजका समस्याको कुरा गर्दै भिडियोमा मोदी र भाजपाको लागि भोट मागिन्छ। 

विज्ञापनमा सर्वसाधारण जस्ता देखिने मानिसको प्रयोग गरेर प्रभावित गर्ने प्रोपागान्डाको यो शैलीलाई अंग्रेजीमा ‘प्लेन फल्क्स’ भनिन्छ। प्रोपागान्डामा यो शैली एकदम प्रयोग हुन्छ। यस्ता विज्ञापन हेर्दा आम मानिस विज्ञापनमा देखिएका कलाकारलाई साँच्चै नै आफू जस्तो सर्वसाधारण जस्तो बुझ्छन् र उनीहरुले प्रचार गरिरहेका विषयसँग भावनात्मक रूपमा जोडिएर कलाकारले बोलेको कुरालाई आफ्नै मनको आवाज जस्तो बुझ्न पुग्छन्। त्यस्ता विज्ञापनले आम मानिसको निर्णय प्रकृयालाई प्रभावित पार्छ र मानिस प्रोपागान्डाको जालमा फस्छन्।

भिडियोमा देखिने ती कलाकारले यस्ता सामग्रीआफ्नो पारिश्रमिक लिएर अभिनय गर्छन् र उनीहरु स्वयं आफ्नो जिन्दगीमा प्रचार गरिएको पार्टीका मतदाता नहुन पनि सक्छन् तर यस्ता भिडियोबाट प्रभावित भएर लाखौँ मानिसले भोट हाल्छन्। 
अरु समयमा विलाशी जीवन बिताउने तर चुनावको मुखमा किसानसँग धान रोपे जस्तो गर्ने, मजदुरहरुसँग काम गरे जस्तो गर्ने र आफू पनि मजदुर किसान नै भएको जस्तो आभास दिलाउने  तरिका  प्रोपागान्डा हो। सावधान ! 

विज्ञापनमा सर्वसाधारण जस्ता देखिने मानिसको प्रयोग गरेर प्रभावित गर्ने प्रोपागान्डाको शैलीलाई अंग्रेजीमा ‘प्लेन फल्क्स’ भनिन्छ। प्रोपागान्डामा यो शैली एकदम प्रयोग हुन्छ। विज्ञापन हेर्दा आम मानिस विज्ञापनमा देखिएका कलाकारलाई साँच्चै नै सर्वसाधारण जस्तो बुझ्छन् र उनीहरुले प्रचार गरिरहेका विषयसँग भावनात्मक रूपमा जोडिएर कलाकारले बोलेको कुरालाई आफ्नै मनको आवाज ठान्छन् । 

नाम बदनाम गर्ने गरी दोषारोपण 
प्रोपागान्डाको यो शैलीमा विरोधी वा प्रतिस्पर्धीलाई नाम बिगार्ने गरी नकारात्मक नाम भिराउने गरिन्छ। अंग्रेजीमा ‘नेम कलिङ’ भनिने यो शैलीलाई विपक्षीको नाम बदनाम गर्ने शैली भन्दा पनि हुन्छ। विरोधीको नाम बिगार्नको लागि  मुखमै झुन्डिने खालको एउटा नकारात्मक अर्थ दिने शब्द प्रयोग गरिन्छ वा कुनै व्यक्ति वा संस्थाको बारेमा प्रमाणित नै गर्न नसकिने तर भावनात्मक रुपमा प्राभावित बनाइहाल्ने आरोप लगाएर समाचार जस्तो देखिने सामग्री प्रकाशितर प्रशारित गरिन्छ।

माधवकुमार नेपालको पालामा सरकारलाई तत्कालीन एनेकपा माओवादी  एवम् विपक्षीबाट  ’कठपुतली’ सरकार भनेर नाम भिराइयो। झन्डै एक दशकपछि  प्रचण्डको पालामा सरकारलाई विशेष गरी (नेकपा–एमाले) एवं अन्य विरोधीबाट ’लम्पसारवादी’ भनेर नाम भिराउने काम भयो। अचम्मको कुरा के छ भने माधव नेपालको सरकारलाई कठपुतली भन्नेहरु स्वयं केही वर्षपछि ‘लम्पसारवादी’ नाम बोकिरहेका थिए र ‘कठपुतली’ कहलिएका स्वयं केही वर्षपछि ‘लम्पसारवादी’ नाम बोकाइरहेका थिए। कुनै सरकार लम्पसारवादी वा कठपुतली थियो वा थिएन भनेर यहाँ विश्लेषण गर्न खोजिएको होइन्। 

यहाँ प्रोपागान्डाको यो शैलीमा कसरी विषयलाई अति सरलिकरण नकारात्मक नाम बोकाउने र बदनाम गर्ने गरिन्छ भन्ने विषयमा प्रकाश मात्र पार्न खोजिएको छ। यस्ता  नकारात्मक नाम यसरी मुखमै झुन्डिने प्रकृतिका हुन्छन् कि सरकारका हरेक गतिविधि नै लम्पसारवादी भनेर सरलिक्रित गर्न थालियो। ‘कठपुतली’ वा ‘लम्पसारवादी’ भएको आरोप आज मूलधारका हरेक पार्टीले एक अर्कालाई लगाइसकेका छन्। 

यो किसिमको प्रोपागान्डाको सिकार भएको मानिस कुनै व्यक्ति वा संस्था प्रति एकदम नकारात्मक बन्न पुग्छ र उक्त व्यक्ति वा संस्थाका सकारातमक पक्ष देख्ने नसक्ने निरपेक्ष आलोचक बन्न पुग्छ। एक दम सरलिकरण गरेर हाम्रो राजनीतिमा कसै प्रति असहमत हुँदा बिना प्रमाण सिधै  ‘दलाल र को–एजेन्ट’, ’डलरवादी’, ‘विखण्डनकारी’, ‘आतंककारी’  जस्ता नकारात्मक शब्द भिराउने गरिएको छ। आजसम्म नेपाल र भारतका बीचमा जति पनि असमान सन्धि सम्झौता भएका छन् ती कुनैपनि मधेसी समुदायको नेताकै नेतृत्वमा भएको देखिन्न तै पनि ‘राष्ट्रघाती’ को आरोप भने सबै भन्दा बढी मधेसवादी नेतालाई लगाइने गरिनुको पछाडि यो प्रोपागान्डाको भूमिका छ।   

हरेक विषयमा षडयन्त्र देख्ने ‘षडयन्त्र सिद्धान्त’ले यो प्रोपागान्डालाई एकदम मलजल गर्ने गरेको पाइन्छ। केही समाजमा षड्यन्त्रको सिद्धान्त अत्यन्त बिक्ने गर्दछ । प्रोपागान्डा उत्पादकले मानिसको यस्तो एकदम रुचाउँछन्। त्यसका साथसाथै जातपात, धर्म, लिंग, अन्धविश्वास आदिका आधारमा असहिष्णु समाजमा मानिसलाई थप असहिष्णु बनाउनका लागि यो प्रोपागान्डा अत्यन्त प्रयोग गरिन्छ। 

नेपाल होस् वा अमेरिका शब्द छनोटमा फरक भए पनि प्रोपागान्डाको शैली भने उस्तै हुन्छ। डोनाल्ड ट्रम्प राष्ट्रपतीय निर्वाचनको प्रचार प्रसारको अभियानदेखि आजको दिनसम्म पनि सबै भन्दा बढी प्रयोग गर्ने प्रोपागान्डा यही हो। उनले निर्वाचन अभियान भरी हिलारी क्लिन्टनलाई बारम्बार ‘डेविल’ (सैतान) भनेर बदनाम गरे। इशाई बाहुल्यता भएको तथा  समय समयमा नश्लभेद, रंगभेद एवं लैंगिक विभेदका समाचार आइरहने अमेरिका जस्तो  मुलुकमा कसैलाई ‘डेविल’ भनेर बारम्बार प्रचार गर्नुले आम मानिसलाई प्रभावित गर्नु निश्चित नै थियो।

ट्रम्पले भर्खरै पनि कोभिड–१९ भाइरसलाई ‘चाइनिज भाइरस’ भनेर आम जनतालाई चीन प्रति थप नकारात्मक बनाउने काम गरे। भाइरसको कसरी राष्ट्रियता हुन् सक्छ ? भोलि नेपालमा कुनै नयाँ भाइरस देखियो र संसार भरी नेपाली भाइरस भनेर प्रचार गरिए के होला? सावधान !

हरेक विषयमा षडयन्त्र देख्ने ‘षडयन्त्र सिद्धान्त’ले प्रोपागान्डालाई एकदम मलजल गर्ने गरेको पाइन्छ। केही समाजमा षड्यन्त्रको सिद्धान्त अत्यन्त बिक्ने गर्दछ । प्रोपागान्डा उत्पादकले मानिसको यस्तो एकदम रुचाउँछन्।  साथसाथै जातपात, धर्म, लिंग, अन्धविश्वास आदिका आधारमा असहिष्णु समाजमा मानिसलाई थप असहिष्णु बनाउनका लागि प्रोपागान्डा प्रयोग गरिन्छ।  

चमकदार नामको ताज पहिर्याउने  
प्रोपागान्डाको यो शैलीमा कुनै व्यक्ति, संस्था वा ब्राण्डको नाम चम्काउने काम गरिन्छ। कुनै व्यक्ति वा संस्थाका बारेमा तथ्यहीन तरिकाका महिमागान गर्ने  विषय लेखेर आम मानिसलाई प्रभावित गर्ने गरिन्छ। यस्तो कामको लागि व्यक्तिको नाम अगाडि एकदम चमकदार एवं वजनदार नामहरु जोडेर प्रचार गर्ने गरिन्छ। सामुहिक रुपमा गरिएको सकारात्मक कामको श्रेय एउटालाई दिने गरी सामग्रीप्रकाशित गर्ने पनि गरिन्छ। यो शैली नाम बदनाम  गर्ने शैलीको ठ्याक्कै उल्टो शैली हो जसलाई अंग्रेजीमा ‘ग्लिटरिंग जेनरालिटिज’ भानिन्छ।   

नेपालको संविधान २०७२  जारी हुने बितिक्कै कांग्रेसका कार्यकर्ताले तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई ‘संविधानका पिता’ भनेर प्रचार गरे। त्यो यस प्रकारको प्रोपागान्डा थियो। संविधान कुनै एउटा व्यक्ति वा एउटा पार्टीले चाहेर जन्मिने अवस्था थिएन। आजको संविधान सामूहिक समझदारीबाट आएको हो तर जम्मै श्रेय एउटा व्यक्तिलाई दिएर उसको व्यक्तित्व चम्काउन खोज्नु  प्रोपागान्डा हो। त्यसरी नै समय समयमा कुनै सरकारलाई एकदम ‘राष्ट्रवादी’को उपमा भिराएर होस् वा ‘जननायक’ भनेर होस् कसैको छवि चम्काउन कै लागि तथ्यहीन तरिकाले ल्याइने श्रव्य र दृष्य पाठ्य सामाग्री प्रोपागान्डा हुन्। व्यक्तिलाई एकदम ‘हिरो’ बनाएर सामाग्री प्रकाशित गर्ने, गाउँमा सरकारी बजेटमा बाटो बन्यो फलानाले बनायो भनेर सामग्री प्रकाशित गर्ने, पुल बन्दा एउटाको जयजयकार गरेर सामग्री प्रकाशित गर्ने शैली यस प्रकारको  प्रोपागान्डा भित्र पर्छ। 

हाम्रो राजनीतिक परिवेशमा कसैलाई एकाएक लाखौँ ‘युवाको ढुकढुकी’ भनिदिने, कसैलाई ‘आशा र भरोशाको केन्द्र’ भनेर चाकडी गर्ने जमात ठूलो छ। युवामा कोही लोकप्रिय नै हुन्न भन्न खोजिएको होइन तर एकाएक कसैको व्यक्तित्व चम्काउने उद्देश्यले प्रयोग गर्दा प्रोपागान्डा हुन् पुग्छ। यसरी महिमा मण्डन गरेर यदि कुनै व्यक्तिको समाचार प्रकाशित हुन्छ भने बुझ्नु पर्छ त्यो प्रोपागान्डाले भरिएको विज्ञापन हो र यस्ता सामग्री प्रति सावधान हुनु नै उत्तम विकल्प हो। हामीलाई समाचार जस्तो लागेको कुनै सामग्रीमा  ‘फलानाको पहलमा’ जस्ता शीर्षक छन् भने प्रोपागान्डा हो कि ? सावधान ! 

स्थानान्तरण   
प्रोपागान्डा उत्पादक विभिन्न अवस्थामा आम मानिसले एकदम श्रद्धा र सम्मान गर्ने वस्तुलाई प्रयोग गरेर त्यस वस्तु प्रतिको श्रद्धा अर्को कुनै व्यक्ति वा पार्टीमा स्थानातरण गर्ने गर्छन्। मानिसको एक वस्तु प्रतिको श्रद्धा अरु केहीमा सुनियोजित तरिकाले सारिएको कुरा आम मानिसलाई थाहै नहुन सक्छ। यसरी कुनै वस्तु प्रतिको श्रद्धाले गर्दा कुनै पार्टी वा व्यक्ति मन पर्न थाल्छ। अंग्रेजीमा ‘ट्रान्सफर’ भनिने यस प्रकारका प्रोपागान्डामा प्राय राष्ट्रिय झण्डा, विभिन्न समुदाय पोसाक, टोपी, प्रसिद्ध हिमाल, धार्मिक स्थल, राष्ट्रवादी गीत–संगीतहरुको प्रयोग गरिन्छ। 

नेपाली समाजको एउटा हिस्साको लागि पृथ्वी नारायण शाह एउटा सशक्त बिम्ब हो। धेरै नेपालीका लागि पृथ्वी नारायण शाहले औंला उचालेको शालिक वा चित्रले श्रद्धा भाव पैदा गर्ने गर्छ। यो एउटा पक्ष हो तर पृथ्वी नारायण शाहलाई नेपालका केही पार्टीले भोट बैंकको रुपमा प्रयोग गर्ने गर्छन्। यो प्रोपागान्डा हो। यो सुन्दा धेरैलाई नराम्रो लाग्न सक्छ तर वास्तविकता यही हो। पृथ्वी नारायण शाहले प्रतिपादन गरेको कुनै राजनीतिक सिद्धान्त छैन, उनको नाममा प्रकाशित दिव्य उपदेश कुनै राजनीतिक विचारधारा होइन।  पृथ्वी नारायण शाहको बिम्बात्मक प्रयोग गर्दा पृथ्वी नारायण शाह प्रतिको श्रद्धा कुनै पार्टीमा धेरै थोरै सर्छ। निर्दलीय राजतन्त्रात्मक व्यवस्थाको शासक कसरी कुनै राजनीतिक दलको बिम्ब हुन सक्छ? राष्ट्रिय विभूति नै मानिसकेपछि कुनै दल विशेषले उनको बिम्ब प्रयोग गर्नु प्रोपागान्डा हो। पृथ्वी नारायण शाहलाई त पार्टी भनेको के हो भन्ने सम्म थाहा थिएन होला। 

हाम्रो राजनीतिक परिवेशमा कसैलाई एकाएक लाखौँ ‘युवाको ढुकढुकी’ भनिदिने, कसैलाई ‘आशा र भरोशाको केन्द्र’ भनेर चाकडी गर्ने जमात ठूलो छ। युवामा कोही लोकप्रिय नै हुन्न भन्न खोजिएको होइन तर एकाएक कसैको व्यक्तित्व चम्काउने उद्देश्यले प्रयोग गर्दा प्रोपागान्डा हुन् पुग्छ। 

चुनावमा धार्मिक अर्थ बोक्ने चुनाव चिह्न प्रयोग गर्नु, धर्मको नाममा भोट माग्नु, भगवानको फोटो प्रयोग गरेर पार्टी प्रति आकर्षित गर्नु जस्ता अभ्यास सबै यस प्रकारको प्रोपागान्डा भित्र पर्छन्। यदि कुनै व्यक्तिले अरु समयमा मुस्लिम वा मधेसी समुदायका एजेन्डा प्रति चासो चिन्ता राख्दैन  तर मुस्लिम समुदायको कार्यक्रममा जाँदा उनीहरुको टोपी लगाइदिन्छ वा  मधेसी समुदायको कार्यक्रम जाँदा धोती लगाइदिन्छ भने त्यो पनि प्रोपागान्डा हो।  यस्तो गर्दा मानिसमा रहेको धोती र टोपी प्रतिको श्रद्धा नेतामा सर्न जान्छ। 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पहिलो पल्ट नेपालमा आउँदा संविधान सभा भवनमा उनले केही वाक्य जानी नजानी नेपालीमा बोले। भारतीय सत्ता प्रति प्राय नकारात्मक रहने नेपाली समाज त्यस बखत केही दिन नरेन्द्र मोदी प्रति सकारात्मक बन्यो । नेपाली भाषा प्रतिको हाम्रो प्रेम नरेन्द्र मोदीमा सर्यो। यस्ता गतिविधि समेटेका समाचार बने । ति समाचार होइन विज्ञापन थिए । सावधान !

प्रसिद्ध व्यक्तिको प्रयोग 
कुनै पनि विज्ञापनमा प्रसिद्ध कलाकार, ख्यातिप्राप्त सामाजिक व्यक्ति, ‘सेलिब्रिटी’ प्रयोग गर्नु पनि एक प्रकारको प्रोपागान्डा हो।  स्थानान्तरण जस्तै यो शैलीमा आम मानिसको कलाकार प्रतिको प्रेम, मान–सम्मान अर्को व्यक्तिमा सार्ने काम गरिन्छ। प्रसिद्ध व्यक्तिले प्रचार गरिदिँदा उसका समर्थक , शुभचिन्तक एवं ‘फ्यान’हरु  प्रचार गरिएको वस्तु, व्यक्ति वा पार्टी प्रति आकर्षित हुन् पुग्छन्। यसलाई अंग्रेजीमा ‘टेस्टीमोनियल’ भन्ने गरिएको छ। ‘फेयर एयान्ड ह्यान्सम’ क्रिमको विज्ञापन गर्ने भारतीय अभिनेता शाह रुख खानले वास्तविक जीवनमा त्यही क्रिमको प्रयोग गर्छन् भन्ने हुँदैन तर आम मानिसहरु शाह रुखले प्रयोग गर्ने क्रिम भनेर किन्न पुग्छन्। 

प्रचारको यो शैली किन प्रोपागान्डा हो भने यसले कुनै व्यक्ति, संस्था वा राजनीतिक दलको एजेन्डा बुझ्न भन्दा पनि प्रसिद्ध कलाकार प्रतिको मायामा सर्वसाधारणलाई बहकाउँछ? कुनै पनि पार्टी रोज्ने काम भनेको त्यो पार्टीको एजेन्डा बुझेर हुनु पर्दछ। यहाँ प्रश्न उठ्न सक्छ के कुनै कलाकार वा सेलिब्रिटीको पार्टीको प्रचार गर्ने अधिकार हुँदैन? अवश्य पनि कलाकारको पार्टी वा नेता छान्ने अधिकार हुन्छ तर यहाँ अहिले कलाकारको स्वतस्फुर्त प्रचारको कुरा गरिएको छैन।  कसैको योजनामा परेर, प्रलोभनमा फसेर वा आर्थिक लेनदेन गरेर सेलिब्रिटीले चुनावी प्रचार गर्ने विषयलाई प्रोपागान्डा  भनिएको हो। माथि पहिले नै भनिस किएको छ कि प्रोपागान्डा योजनाबद्ध हुन्छन्। नेपालमा पनि यस्ता छिटपुट अभ्यास हुने गरेका छन् तर हाम्रो छिमेकी भारतमा यो व्यापक रुपमा प्रयोग हुने प्रोपागान्डा हो।

कुनै पनि विज्ञापनमा प्रसिद्ध कलाकार, ख्यातिप्राप्त सामाजिक व्यक्ति, ‘सेलिब्रिटी’ प्रयोग गर्नु पनि एक प्रकारको प्रोपागान्डा हो। यो शैलीमा आम मानिसको कलाकार प्रतिको प्रेम, मान–सम्मान अर्को व्यक्तिमा सार्ने काम गरिन्छ। 

भारतमा फिल्मी कलाकार चुनावी सभामा वा र्यालीमा उपस्थित गराउनु त सामान्य विषय हो। त्यो भन्दा पनि बढी त्यहाँ हरेक निर्वाचनमा दर्जनौं फिल्मी कलाकारलाई टिकट नै दिएर चुनाव लडाउने काम गरिन्छ। कलाकारको राजनीतिमा आउन पाउने अधिकार नहुने कुरै भएन तर पार्टीले एकाएक टिकट दिएर कुनै प्रसिद्ध कलाकारलाई चुनाव लडाउँदा कलाकारको व्यक्तित्वले देशै भरी पार्टीको थप प्रचार हुने अपेक्षा राखेका हुन्छन्।  पार्टीका विचार सिद्धान्तको सतही अध्ययनसम्म नगरेका, दुई–तीन वर्ष पार्टीमा योगदान पनि नपुर्याएका कुनै पनि सेलिब्रिटीलाई एकाएक टिकट दिनु पार्टीको विज्ञापन हो, प्रोपागान्डा हो। यस्तो भनिराख्दा बुझ्नु पर्ने अर्को विषय के छ भने राजनीति बुझेर राजनीतिमा प्रवेश गरेका र राम्रो योगदान पुर्याएका कलाकार, पत्रकार एवं खेलाडीप्रति यो लेख लक्षित छैन। प्रसिद्ध व्यक्तिको तस्बिर टाँसेर लेखिएका भनाइ उनीहरुले नभनेको पनि हुन सक्छन्। 

भेडाको बथान तयार पार्ने 
प्रोपागान्डाको यो शैलीमा प्रोपागान्डा उत्पादकहरु अधिकांश मानिस आफ्नो पक्षमा भएको जस्तो पारेर आकर्षित गर्ने प्रयास गर्छन्। प्राचारकले आम मानिसहरुलाई ‘सबै जना फलानाको पक्षमा छन्। तपाइँ चाहिँ कसको पक्षमा नि ?’ भनेर प्रश्न गर्न रुचाउँछन्। मानवीय स्वभाव नै धेरै मानिसले जे गर्छन् त्यही गर्न मन पराउने हुन्छ। फेसन भनेकै यही प्रोपागान्डामा चल्ने हो। एक किसिमको कपाल काट्ने फेसन आयो भने सबैले त्यस्तै काट्न थाल्छन। ल है ल हैमा अर्काको पछि लाग्नु एउटा खतरनाक मानवीय स्वभाव हो जसरी भेडाको बथानमा अगाडि हुने भेडा खाल्डोमा खसेपनि पछाडि लागेका भेडा खाल्डोमा खसे पनि  पछि लाग्न छोड्दैनन्। यो शैलीलाई अंग्रेजीमा ‘ब्याण्डव्यागन’ भनिन्छ।  

वास्तविक मतदातालाई चुनावी माहोलमा सहभागी बनाएर आफ्ना विषय स्पष्टसँग राख्नु र राजनीतिक जागरण फैलाउनु अत्यन्त सकारात्मक विषय हो तर  चुनाव आउँदा अन्त कतैबाट मान्छे बोलाएर भए पनि बहुमत देखाउन खोज्ने राजनीतिक अभ्यास प्रोपागान्डाको यही शैलीमा पर्छ। 

चुनावमा किन यसरी भए पनि माहोल बनाउने चलन छ ? यसरी माहोल बनाउँदा फलानाको पक्षमा धेरै मान्छे रहेछन् भन्ने सोच विकास हुन्छ। अधिकांश मानिसको स्वभाव नै बहुमत तिर आकर्षित हुने हुन्छ। माहोल हेर्दा ठूला पार्टीका उम्मेदवारतिर नै बढी हुने हुँदा चुनावमा सानो पार्टीबाट उठ्ने योग्य उम्मेदवारले जित्दैनन् भनेर भोट नै पाउँदैनन्। अधिकांश मानिस जित्ने उम्मेदवार भनेर हल्ला बढी भएको मानिसहरुलाई भोट हाल्न मन पराउँछन्। 

भाषणको क्रममा जो कोहीले पनि  भन्ने गरेको, ‘तीन करोड नेपाली हाम्रो साथमा छन्’ पनि यही शैलीको एउटा उदाहरण हो। सामाजिक सञ्जालमा प्रोपागान्डाहरु यसरी नै फैलिन्छ। मानिसहरु आफ्नै व्यक्तिगत धारणा भन्दा पनि प्रोपागान्डाले तयार पारेको बनिबनाउ धारणामध्ये जता बहुमत छ त्यतै ढल्किन थाल्छन् । कुनै राजनीीतक घटना घट्यो भने एउटा पक्ष त्यो घटना सही भनेर प्रचारबाजीमा लाग्छ। अर्को पक्ष त्यही घटना गलत भनेर अर्को पक्षमा लाग्छ। कुनै पनि घटनाका बहुआयामिक पक्षहरुको वस्तुगत विश्लेषण नगरेर यसरी एउटा पक्ष वा विपक्षमा माहोल बनाउनु नै प्रोपागान्डा हो। यसरी कुनै घटनाको पक्षमा बढी माहोल बन्यो भने धेरै मान्छे पक्ष तिर आकर्षित हुने र विपक्षमा माहोल बन्यो भने विपक्षमा मानिस आकर्षित हुने हुन्छ। कुनै पनि यस्ता सामग्रीहरु ‘सेयर’ गर्नु भन्दा पहिला विभिन्न पक्ष बुझेर आफ्नो धारणा बनाउने काम गर्नु नै यो प्रोपागान्डाबाट बच्ने उत्कृष्ट उपाय हो।  

मानवीय स्वभाव नै धेरै मानिसले जे गर्छन् त्यही गर्न मन पराउने हुन्छ। फेसन भनेकै यही प्रोपागान्डामा चल्ने हो। एक किसिमको कपाल काट्ने फेसन आयो भने सबैले त्यस्तै काट्न थाल्छन।  अर्काको पछि लाग्नु एउटा खतरनाक मानवीय स्वभाव हो । यो शैलीलाई अंग्रेजीमा ‘ब्याण्डव्यागन’ भनिन्छ।   
 

शब्दको मायाजाल 
 यदि विज्ञापन वा प्रचारमा कुनै व्यक्ति, वस्तु वा पार्टीको एउटा पक्षमा जोड दिने र अर्को पक्षलाई दबाउने प्रकारले भाषा प्रयोग गरिन्छ भने प्रोपागान्डाको त्यो शैलीलाई शाब्दको मायाजाल भानिन्छ। यस प्रकारको प्रोपागान्डामा भाषाको माध्ययमबाट तथ्यलाई बंगाउने, अर्ध(सत्य भन्ने , विषयान्तर गर्ने काम बढी गरिन्छ। यस प्रकारको प्रोपागान्डालाई अंग्रेजीमा ‘कार्ड स्ट्याकिंग’ भन्छन्। 

खुकुरी चुरोटको विज्ञापनमा ‘साहसीको एक मात्र चाहना’ जस्तो भाषा प्रयोग गरेर झुक्याउनु वा ‘चिसो भनेकै कोकाकोला’ भनेर भाषिक भ्रम छर्नु नै यो प्रोपागान्डाको शैली हो। प्रोपागान्डाको यो शैलीमा शब्द यसरी प्रयोग गरिन्छ कि श्रोताले  शब्दले नभनेको अर्थ स्वयं निकालेर प्रभावित हुन्छन। केही राजनीतिज्ञ  पनि यो शैली निकै प्रयोग गर्ने गर्छन्। शब्दको मायाजाल प्राय आकर्षक नारामा लुकेको हुन्छ। नारा सुन्दा एकदम आकर्षक हुन्छ तर नाराको वास्तविक अर्थ भने स्पष्ट हुँदैन। 

उदाहरणको लागि केही राजनीतिक कारणाहरु निनयालेर हेर्दा स्पष्ट भइन्छ। साझा पार्टीले केही वर्ष अगाडि सांगठनिक अभियानका क्रममा धेरै पल्ट प्रयोग गरेको एउटा नारा थियो ‘नयाँ सोच, नयाँ प्रयोग’ नारा हेर्दा आकर्षक छ। सोच पनि नयाँ, प्रयोग पनि नयाँ तर पाठकहरुले यस्तो नारामा भन्दै नभनेको कुरा बुझेर प्रभावित हुने सम्भावना बढी हुन्छ। पाठकले नयाँ सोच भने पछि राम्रो सोच भनेर बुझ्छन्। त्यसरी नै नयाँ प्रयोग भने पछि पनि राम्रो प्रयोग भनेर बुझ्ने सम्भावना बढी हुन्छ। यहाँ हामीले बुझ्नु पर्ने विषय के हो भने नयाँ सोच र नयाँ प्रयोग भनेको राम्रो मात्र हुन्छ भन्ने छैन तर आम मानिस नयाँ सोच भन्दा राम्रो सोच भनेर आकर्षित हुन्छन्। यहाँ शब्दको मायाजाल प्रयोग भयो।

विभिन्न समयमा विभिन्न राजनीतिक दलले प्रयोग गर्ने गरेको एउटा नारा हो ‘हामीले नगरे कसले? , अहिले नगरे कहिले?’। यो नारा धेरै आकर्षक छ तर यसको अर्थ भने पाठकले आफैं लगाउनु पर्ने हुन्छ। हामी भनेको जनता भनेको हो वा युवा भनेको हो, देशभक्त भनेको हो वा विकासप्रेमी भनेको हो, पाठक स्वयंले बुझ्नु पर्ने हुन्छ। त्यसै गरी  नारामा भनिएको काम के हो? गर्नु पर्ने के हो त्यो पनि प्रष्ट छैन। यसको अर्थ पनि पाठकले स्वयं परिस्थिति अनुसार आफैंले निकाल्नु पर्ने हुन्छ। गर्नु पर्ने काम भनेको विकास हो कि जिम्मेवारी लिने काम हो कि? आन्दोलन गर्ने काम हो कि ? वा अन्य केही आ–आफ्नो बुझाईमा भर पर्ने हुन्छ। नारा निकै आकर्षक छ तर भन्न खोजेको विषय के हो, नाराले आफै प्रष्ट भन्दैन।  शब्दको मायाजाल भनेको यही हो। 

अमेरिका लगायत विभिन्न मुलुकहरुमा चुनाव ताका एकदम प्रयोग हुने नारा हुन ‘चेन्ज व्यी क्यान बिलिभ इन’ अर्थात् हामी परिवर्तनमा विश्वास गर्न सक्छौं वा ‘चेन्ज क्यान ह्यापन’ (परिवर्तन हुन सक्छ)। यी नारालाई नियालेर हेर्ने हो भने खास्सै अर्थ केही लाग्दैन। परिवर्तन कस्तो परिवर्तन? प्रष्ट छैन।  परिवर्तन हुन सक्छ यो सबैलाई थाहा छ तर के परिवर्तन हुने हो भनिएको छैन। पाठकहरु यस्ता नारामा परिवर्तन भन्नाले आर्थिक विकास वा भ्रष्टाचारको अन्त्य वा अरु नै केही  अर्थ आफै लगाएर आकर्षित हुन पुग्छन तर यी नारा एक दम रित्ता छन्। यी नारामा शब्दको मायाजालबाहेक केही पनि छैन। यस्तो भन्दैमा हरेक नारा प्रोपागान्डा हुन भनेर बुझ्नु भने हुँदैन। 

प्रोपागान्डाको यो शैलीमा व्यक्तिको डिजिटल वा प्रतिकात्मक फोटोहरु राख्ने फोटोको क्याप्सनमा मायाजाली शब्द प्रयोग गर्ने प्रचलन पनि व्यापक छ। बाराक ओबामा राष्ट्रपतिको उम्मेदवार हुँदा उनका तस्बिरमा यस्ता  ‘होप’ (आशा)  वा ‘यस व्यी क्यान’ अर्थात् ‘हो हामी सक्छौं’ लेखिएका तमाम पोस्टर बनाइएको थियो। पोस्टर हेर्दा के के न हो जस्तो लाग्छ तर वास्तवमा केही पनि हुँदैन। ‘आशा’ लेख्दा के भन्न खोजेको थाहा नै हुन्न। हामी सक्छौं तर के सक्छौं त्यो पनि उल्लेख गरिएको छैन। यी पोस्टर आकर्षक भने निकै थिए। 

प्रोपागान्डाबाट बच्ने उपाय भनेको कसैका नारा वा भनाइलाई केलाएर हेर्नु वा बुझ्नु  नै हो। नभनिएको अर्थ लगाएर सकारात्मक वा नकारात्मक बन्नु भन्दा ठ्याकै भन्न खोजिएको विषय बुझ्ने गर्नुपर्छ। कपालको चाया हटाउने स्याम्पू प्राय गर्ने दाबी के हो भने, ‘यो स्याम्पूले चाया नियन्त्रण गर्छ ।’ उपभोक्ताहरुले नियन्त्रण गर्छ भन्दा निर्मूल पार्छ भनेर बुझ्छन् तर नियन्त्रण गर्नु भनेको कुनै पनि कोणबाट निर्मूल पार्नु होइन। 

यस्ता प्रोपागान्डाबाट बच्ने उपाय भनेको कसैका नारा वा भनाइलाई केलाएर हेर्नु वा बुझ्नु  नै हो। नभनिएको अर्थ लगाएर सकारात्मक वा नकारात्मक बन्नु भन्दा ठ्याकै भन्न खोजिएको विषय बुझ्ने गर्नुपर्छ। कपालको चाया हटाउने स्याम्पू प्राय गर्ने दाबी के हो भने, ‘यो स्याम्पूले चाया नियन्त्रण गर्छ ।’ उपभोक्ताहरुले नियन्त्रण गर्छ भन्दा निर्मूल पार्छ भनेर बुझ्छन् तर नियन्त्रण गर्नु भनेको कुनै पनि कोणबाट निर्मूल पार्नु होइन। 

प्रोपागान्डाका यी सात सिद्धान्त बुझेपछि फेरि ग्वेबल्सको एउटा अर्को भनाइ हेरौं र बुझौँ। उनले भनेका छन्, ‘प्रेस र मिडियालाई एउटा यस्तो ‘किबोर्ड’को रुपमा बुझौँ जसमा सत्ताले आफूले चाहेको धुन बजाउन सक्छ ।’ अर्थात प्रोपागान्डा गर्न चाहने कुनै पनि सत्ता वा शक्तिले  मिडियाको साथ पायो भने पाठक, श्रोता र दर्शकलाई जस्तो पनि गीतमा नचाउन सकिन्छ। के हामी प्रोपागान्डालाई सत्य सम्झेर दिनानुदिन यसरी नै नाचिरहेका त छैनौं? गम्भीर भएर सोचौं। झुक्किएर कुनै सामग्रीमा त्रुटी भएको छ भने त्यसलाई मानवीय कमजोरीका रुपमा लिनु पर्छ तर योजनामै यस्ता ‘फेक न्युज’ बनाइएका छन् भने ती प्रोपागान्डा हुन। फेक न्युज पनि कुनै मिडियाको लाइक, कमेन्ट, भ्यु  वा सेयर बढाउने या कसैको पक्ष वा विपक्षमा आम मानिसलाई प्रभावित पार्न नै बनाइने हुनाले फेक न्युज पनि एक प्रकारको प्रोपागान्डा हो। सावधान! ग्वेबल्सको भौतिक शरीर मरे पनि ग्वेबल्सले जसरी सोच्ने तरिका अझै जीवित छ। 

साभार: अन्नपूर्णपोष्ट अनलाइन