भोजपुर : भोजपुर नगरपालिका भैँसीपंखाका अर्जुनकुमार विष्टको परिवारको जिविका दिनभरीको मजदुरीले टर्छ।दिनभरको सानोतिनो ज्यालादारीले परिवारको दुई छाक धान्ने उनीहरू सरकारले लगाएको लकडाउनले भने पिरोलिएका छन्।लकडाउन खुल्ने कुनै छाँटकाट नदेखेपछि बाँच्नकै लागि अरुको मेलापात र अधिँयामा खेतीपाती गर्न सुरु गरेका छन् ।
मिठोमसिनो खाएर लगाएको खेतीपातीले यस वर्ष धान्छ भन्ने अर्जुन आशावादी छन्।‘रोगभन्दा ठूलो बाँच्नु हो, परिवार र बालबच्चालाई दुईछाक खुवाउनै भए पनि खेतीपातीमा लाग्यौं,’ उनले भने, ‘लकडाउन खुल्ने कुनै छाँटकाँट छैन, आफू र परिवार बताउनै भए पनि अर्काको खेत अधिँयामा लिएर खेतीपाती गर्नुपर्यो ।’ अर्जुनकुमार जस्तै भोजपुरका ग्रामीण कृषकहरू यतिबेला बाली लगाउन व्यस्त छन् ।
सहरबजारका मानिसहरू घरमै बसी सरकारले लगाएको लकडाउनको पालना गरे पनि किसानलाई भने बाली लगाउन बढी चटारो छ।लकडाउनको वास्तै नगरी चैते धान रोप्न र मकै लगाउन उनीहरू व्यस्त देखिन्छन्।कृषिबाट जिविका चलाउने उनीहरूलाई यतिबेला खेतीपाती लगाउन भ्याइ-नभ्याइ छ।माना खाएर मुरी फलाउने समय भएकाले लकडाउनको वास्तै नगरी खेतबारीको काम सक्नमा व्यस्त रहेको भोजपुर नगरपालिका बोखिमका कल्याण राई सुनाउँछन् ।
राई भन्छन्, ‘यतिबेला खेतीको सिजन हो, अहिले खेतीपाती नलगाए हामी के खानु, कसरी बाँच्नु ? ’ लकडाउनमा कुनै सीप नचलेपछि बजार बस्नेहरू पनि गाउँ फर्किएका छन्।खेतीपातीको सिजन सुरु भएकाले पनि गाउँ नै उत्तम विकल्प भएको उनीहरू सुनाउँछन्।गाउँघर नै सुरक्षित र उत्तम विकल्प भएको भोजपुर नगरपालिका-४ सिद्देश्वरका तारा चौहानले सुनाइन् ।
‘लकडाउनमा किनेर खाएकोले कतिदिन पुर्याउनु, गाउँमै काम र समय कटाउनु आराम छ,’ उनले भनिन्, ‘खेतबारीको काममा परिवार, साथिभाईसँग राम्रै बसाई हुन्छ, आनन्द आउँछ ।’ कोरोना संक्रमणबाट सावधानी अपनाउँदै सरकारले गरेको लकडाउनले देश ठप्प भए पनि भोजपुरका ग्रामीण भेगका किसानलाई भने खेतीपाती लगाउन फुर्सद छैन।गत आर्थिक वर्ष जिल्लामा ३२ हजार ४ सय ५७ मेट्रिक टन धान र २ दशमलव १८ मेट्रिक टन मकै उत्पादन भएको थियो ।
लकडाउन सुरु हुनभन्दा करिब डेढ महिनाअघि नै किसानलाई ९ स्थानीय तहका ८१ वडाबाटै मल वितरण गरिएकाले पनि किसानलाई धेरै सहज भएको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ।केन्द्रले लकडाउनको बेलामा मल आवश्यक पर्ने किसानलाई मल उपलब्ध गराउनका सम्बन्धित वितरकसँग इमेलमार्फत सिफारिस दिने व्यवस्था मिलाएको केन्द्रका प्रमुख योगेन्द्रप्रसाद यादवले बताए ।
साभार : अन्नपूर्ण पोष्ट अनलाइन