१५ चैत २०८०, बिहीवार
(नेपाली समय)
१५ चैत २०८०, बिहीवार
नेपाली समय

कुहुँको महभीरमा सडक पुग्यो

बेनी, म्याग्दी, २९ जेठ (रासस) ः मंगला गाउँपालिका–१ कुहुँको महभिर सडक सञ्जालसँग जोडिएको छ ।

सडक सञ्जालले बस्तीलाई जोड्ने गाउँपालिकाको अभियानअन्तर्गत कुहुँ–कमलजैशी थान हुँदै महभिरसम्म पुगेको सडकको वडाध्यक्ष डेकबहादुर राम्जालीले सोमबार उद्घाटन गर्नुभयो ।

सडक उद्घाटन कार्यक्रममा वडाध्यक्ष राम्जालीले वडाभित्रका बस्तीमा सडक सञ्जालको विस्तार, मर्मतमा प्राथमिकता दिएको बताउनुभयो । उहाँले सडक सञ्जालसँगै शिक्षा, स्वास्थ्य, सामाजिक कार्यमा पर्याप्त बजेटको अभावले समस्या भइरहेकाले आगामी आवमा प्राथमिकता दिएर गाउँपालिकामा बजेट माग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

गाउँपालिकाको रु पाँच लाखको लागतमा करीब एक किलोमिटर सडक उद्घाटनसँगै स्थानीयले जनप्रतिनिधिलाई सम्मानसमेत गरेका थिए । करीब ८५ घरधुरी रहेको गाउँका बासिन्दालाई सडक सञ्जालले जोडिएपछि आवतजावतमा सहज भएको वडासदस्य दिलकुमारी खत्रीले बताउनुभयो । “एकै वर्ष सबै समस्या समाधान गर्न सकिएको छैन, प्राथमिकताको आधारमा समस्याको समाधान भइरहेको छ”, उहाँले भन्नुभयो ।

सडक विस्तारमा प्रवासमा रहेका कुहुँवासीले रु ७० हजार आर्थिक सहयोग गरेका थिए । सडक विस्तार गर्ने क्रममा करीब रु दुईलाख अपुग भएको सडक निर्माण उपभोक्ता समितिले जनाएको छ । अपुग रकमका लागि गाउँपालिकामा माग गर्ने तथा चन्दा संकलन गरिनेछ ।

अब पर्यटकीय तथा धार्मिक महत्व बोकेको कुहुँका विभिन्न बस्तीमा सडक पुगेको छ । सडक मर्मत तथा स्तरोन्नति कोषका लागिसमेत वडाले योजना बनाएको छ ।

2018-06-12 07:32

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds