२२ श्रावन २०७९, आइतवार
(नेपाली समय)
२२ श्रावन २०७९, आइतवार
नेपाली समय

‘केनका लागि कीर्तिमानी रकम खर्चिए हुन्छ’

लन्डन : इङ्ल्यान्डको राष्ट्रिय टोलीका पूर्वमिडफिल्डर डेनी मर्फीले ह्यारी केनलाई यथाशीघ्र क्लबमा भित्र्याउन म्यानचेस्टर युनाइटेडलाई सुझाव दिएका छन्। मर्फीले जतिसुकै मूल्य परे पनि केनलाई क्लबमा भित्र्याउनु म्यानचेस्टर युनाइटेडका लागि फाइदाको विषय हुने धारणा व्यक्त गरेका छन्।

‘अहिले म्यानचेस्टर युनाइटेडका लागि सबैभन्दा आवश्यक खेलाडी केन नै हुन्। उनी विश्वस्तरीय स्ट्राइकर हुन्। यतिबेला केनका लागि जुनसुकै मूल्य चुकाउन पनि म्यानचेस्टर युनाइटेड तयार हुनुपर्छ’, ४३ वर्षीय मर्फीले भनेका छन्। २६ वर्षीय केन हाल अर्को इङ्लिस क्लब टोट्टनहाममा आबद्ध छन्।

केनले पछिल्लो समय टोट्टनहाम छोडन चाहेको संकेत पनि दिएका छन्। उनले क्लबसँग आफ्नो पारि श्रमिक बढाउन माग गरेका छन्। पारि श्रमिक नबढाइए उनी टोट्टनहामसँग सम्झौता नवीकरण गर्ने पक्षमा छैनन्। उनी सन् २००९ मा टोट्टनहाममा आबद्ध भएका थिए। यसबीचमा उनले लेस्टर सिटीलगायत विभिन्न क्लबबाट लोन (ऋण) मा पनि खेलिसकेका छन्।

इङ्ल्यान्डको राष्ट्रिय टोलीको सदस्यसमेत रहेका केनले पनि यसअघि म्यानचेस्टर युनाइटेड आफ्नो आगामी गन्तव्य बन्न सक्ने संकेत गरेका थिए। ‘केनलाई भित्र्याउन म्यानचेस्टर युनाइटेड थोरै पैसामा अल्झनु उपयुक्त हुँदैन। यतिबेला उनी क्लबका लागि सबैभन्दा अपरिहार्य खेलाडी हुन्’, मर्फी भन्छन्।

यद्यपि आफ्नो व्यावसायिक खेलजीवनमा मर्फीले कहिल्यै पनि म्यानचेस्टर युनाइटेडबाट खेलेनन्। बरु सन् २००६÷७ मा एक सिजन उनले टोट्टनहामबाट व्यावसायिक फुटबल खेलेका थिए। ‘पछिल्लो समय म्यानचेस्टर युनाइटेड ठूलो सफलताका लागि ठूलै संघर्ष गरिरहेको छ। म्यान युनाइटेडको त्यो अभियानमा केन महत्र्वपूर्ण कडी बन्न सक्छन्’, लिभरपुलका पूर्वखेलाडी मर्फी भन्छन्।

मर्फीका अनुसार केनका लागि म्यानचेस्टर युनाइटेड कीर्तिमानी रकम तिर्नसमेत तयार हुनुपर्छ। ‘यदि केन उपलब्ध छन् भने उनका लागि म्यानचेस्टर युनाइटेडले कीर्तिमानी रकम तिरे पनि हुन्छ’, उनले भनेका छन्। म्यानचेस्टर युनाइटेडका लागि कीर्तिमानी मूल्य भनेको ११ करोड १० लाख अमेरिकी डलरभन्दा बढी हो। म्यानचेस्टर युनाइटेडले सन् २०१६ को अगस्टमा यही मूल्यमा पल पोग्बाको कारोबार गरेको थियो।

साभार : अन्नपूर्ण पोष्ट अनलाइन