कोरोनाको मारमा नेपाली खेलकुद

काठमाडौं : २०७२ सालको भूकम्पपछि सुस्ताएको नेपाली खेलकुद गत मंसिरमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) कारण जुर्मुराएको थियो। १३औं सागलगत्तै सुरु भएको कोरोना भाइरसको महामारीका कारण नेपाली खेलकुद फेरि शिथिल बनेको छ।

नेपालभित्र हुने र नेपालले आयोजना गर्ने विभिन्न खेलका साना÷ठूला सबै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता अन्योलमा परेका छन्। अधिकांश खेलहरू विश्व खेलकुदसँग जोडिएकाले त्यसको गहिरो असर नेपाली खेलकुदमा पनि परेको हो।

कोरोना संक्रमण सुरु भएसँगै करिब तीन महिनादेखि हुँदै आएको लकडाउनका कारण सिंगो खेलकुद पनि लकडाउनमै रह्यो। कराँते र तेक्वान्दोका एकाध अनलाइन अन्तर्राष्ट्रिय प्रतियोगिताबाहेक अन्य खेल गतिविधि आयोजना भएका छैनन्।

कोरोना भाइरसको महामारीले विश्व खेलकुदमा छाएको आर्थिक मन्दीबाट पनि नेपाली खेलकुदसमेत अछुतो रहेन। तर, नेपाली खेलकुद व्यावसायिक भई नसकेकाले त्यति ठूलो आर्थिक असर भने नपर्ने खेल पदाधिकारीहरू बताउँछन्।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष एवं कराँते प्रशिक्षक दीपक श्रेष्ठले नेपाली खेलकुदमा ठूला देशमा जस्तो आर्थिक असर नदेखिए पनि कतिपय खेलाडीको आर्थिक अवस्था कमजोर हुँदा समस्या परेको बताउँछन्।

‘हाम्रो देशमा फुटबल, क्रिकेटजस्ता खेलका खेलाडीको पारि श्रमिक र अनुबन्ध विषय सुरु भएका छन्। कतिपय खेलाडीले स्टारडम जस्तो गरेर आफ्नो तलब र पारि श्रमिकको कुरा बाहिर ल्याउँदैनन्। त्यसैले क्लबहरूले तलब नदिएको कुरा पनि बाहिर आउँदैन’, श्रेष्ठ भन्छन्, ‘तर, नेपालमा व्यावसायिक फुटबल खेल्न विभिन्न राष्ट्रबाट आएका विदेशी खेलाडीले लकडाउनमा पैसा नपाएर दुःख खेपेको कुरा बाहिर आइरहेका छन्।’

उनी उमेरसमूहका खेलाडीको खेल जीवनमा पनि कोरोना भाइरसको महामारीका कारण दीर्घकालीन असर पर्ने बताउँछन्। ‘अहिले ओलम्पिकको तयारीबाहेक ठूला खेलको तालिका छैनन्। लामो समयसम्म खेलकुद गतिविधि ठप्प हुँदा खेलाडी पलायन हुने सम्भावना रहन्छ। उमेरसमूहका खेलाडीले पनि आफ्नो उमेरका कारण विभिन्न प्रतियोगिता खेल्ने अवसर गुमाउँछन्’, श्रेष्ठ भन्छन्, खेलकुद नहुँदा अभ्यास र तयारीमा अल्छी गर्छन्। नेपाली खेलकुदमा पनि त्यसको दीर्घकालीन असर पर्छ।’

ओेलम्पिक एक वर्षपछि सरेकाले ओलल्पिक तयारीमा भने खासै फरक नपर्ने श्रेष्ठ बताउँछन्। ओलम्पिकमा नेपालले सीधै छनोट भएर खेल्ने सम्भावना छैन। त्यसैले अनिवार्य कोटामार्फत नेपालबाट पौडीमा गौरिका सिंह र एलेक्स शाह तथा एथलेटिक्समा एक जना गरी तीन खेलाडीको ओलम्पिक सहभागिता सुनिश्चित भइसकेको छ। एथलेटिक्स खेलाडीको टुंगो लाग्न बाँकी छ। नेपाल ओलम्पिक कमिटी (एनओसी) ले यसअघि नै विभिन्न खेलका थप १२ जना खेलाडीलाई ‘वाइल्ड कार्ड’ को लागि आईओसीमा सिफारिस गरिसकेको जनाएको छ।

यसैगरी नेपालका चर्चित तेक्वान्दो खेलाडी एवं प्रशिक्षक दीपक विष्ट कोरोनाको महामारी र लकडाउनका कारण नेपाली खेलाडीको शारीरिक, मानसिक र आर्थिक पाटोमा असर परेको बताउँछन्। ‘कोरोनापछि सन् २०२० ओलम्पिक, एसिएन च्याम्पियनसिपजस्ता ठूला प्रतियोगिता स्थगित हुँदा त्यसको तयारीमा रहेका खेलाडी निराश छन्। सागमा स्वर्ण जितेर उच्च मनोबलमा रहेका खेलाडी अहिले अभ्यासबिना नै बसेका छन्’, विष्ट भन्छन्, ‘संघ र प्रशिक्षकहरूले खेलाडीलाई अनलाइन तयारी र निगरानीमा राख्ने काम त गरेका छन् तर, अर्चुअल निगरानी खासै उपलब्धिमूलक हुन्न।’

ओलम्पियन खेलाडी विष्टले सागमा स्वर्ण जितेर उच्च फर्ममा रहेका खेलाडीको लय गुम्ने खतरा रहेको पनि बताए। ‘अधिकांश नेपाली खेलाडीको आर्थिक अवस्था दयनीय छ। निम्न आय भएका बाबुआमाको कमाइले खेलमा लागेका खेलाडीलाई परिवारको आर्थिक समस्याले नछुने कुरै भएन। त्यसैले उनीहरूमा खेलको नियमित अभ्याससँगै मानसिक समस्या पनि पर्छ। यसलाई सबन्धित निकायले बुझ्न जरुरी छ,’ विष्ट भन्छन्।

सागमा स्वर्ण पदक जितेका खेलाडीलाई लक्षित गरी अब पहिलो चरणको तयारी सुरु गर्न आवश्यक रहेको पनि विष्टले औंल्याए। ‘अब कोरोनाबाट सुरक्षित रहँदै खेलकुद गतिविधि सुचारु गर्नुको विकल्प छैन, उनले भने।

नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेशकुमार सिलवाल कोरोना र लकडाउन कारण सबै क्षेत्रलाई असर पर्नु स्वाभाविक ठान्छन्। यद्यपि नेपाली खेलकुद युरोप र अमेरिकाको जस्तो व्यावसायिक नभइसकेकोले त्यति असर नपर्ने उनको बुझाइ छ।

‘कोरोना र लकडाउनका कारण नेपालको खेलकुदमा ठूला देशको जस्तो आर्थिक नोक्सानी हुँदैन। हाम्रोमा नोक्सानी भइहाल्ने खालका खेलकुद तालिका थिएनन्। प्रमुख खेलहरू फुटबल, क्रिकेट, भलिबलका प्रतियोगिता रोकिँदा केही असर त परेको छ नै,’ सिलवाल भन्छन्।

अवस्था सामान्य भएसँगै खेलकुद गतिविधि सुचारु हुँदै जाने उनले बताए। कोरोनाले नेपाली खेलकुदलाई देखिने खालको ठूलो आर्थिक संकट नपारे पनि नेपालको अन्तर्राष्ट्रिय सहभागिता, समूहगत खेल आयोजना र तयारीमा भने असर पार्ने निश्चित छ।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *