४ माघ २०७८, मंगलवार
(नेपाली समय)
४ माघ २०७८, मंगलवार
नेपाली समय

कोरोनाबाट बच्‍न लकडाउन प्रभावकारी

अन्‍नपूर्ण भिडियो अन्तक्रिया

चैत ११ गतेदेखि सुरु भएको लकडाउन मुलुकभर जारी छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले तेस्रोपटक म्याद थप गरी वैशाख ३ गतेसम्म लकडाउनको समयावधि थप गरिसकेको छ। कोभिड १९ सम्बन्धी उच्चस्तरीय समितिको मंगलबारको बैठकले नेपाल आउने अन्तर्राष्टिय हवाई उडानमा लगाएको प्रतिबन्ध पनि वैशाख १८ गतेसम्म लम्ब्याएको छ। यो किन पनि आवश्यक छ भने विश्वभर आजसम्म कोरोनाभाइरसका कारण ७६ हजार चार सय ३९ को मृत्यु भइसकेको छ भने १३ लाख ६४ हजार तीन सय ८५ लाई संक्रमण भएको छ।

दुःखद्सँगै सुखद् समाचार के भने हालसम्म दुई लाख ९३ हजार आठ सय ४३ जना सञ्चो भएर घर फर्किसकेका छन्। यसरी भाइरसको संक्रमणबाट जोगिन गर्नुपर्ने विभिन्न उपायका लागि नेपाल सरकारले मंगलबार कोरोना संकटविरुद्ध लड्न विश्व बैंकसँग तीन अर्ब ४८ करोड रुपैयाँ ऋण लिएको छ। अन्य देशको तुलनामा नेपाल सुरक्षित छ।

त्यसैले पनि सबै नागरिक थप सचेत भई घरमै सुरक्षित रहन सरकारका अतिरिक्त चिकित्सक, विज्ञ र सुरक्षाकर्मीले आह्वान गरिरहेका छन्। यही र यस्तै उपायबारे वर्तमान परिस्थितिमा अन्नपूर्ण मिडिया नेटवर्कले आज तीनजना विज्ञसँग भिडियो अन्तक्रिया गरेको छ। उहाँहरुको धारणाको सम्पादित अंश ः

कडा निगरानी र कडाइ चाहिन्छ

प्रा.डा जगदीश अग्रवाल, डिन चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)

कोरोना भाइरस (कोभिड १९) को संभावित संक्रमणको जोखिमलाई न्युन गर्न सरकारले सुरुमा लकडाउनको घोषणा गरेको हो। यो सबैभन्दा राम्रो र उपयुक्त निर्णय थियो। त्यतिबेला धेरैले नेपालमा कोरोना भाइरस आउन नसक्ने सोचाइसमेत राखेका थिए। तर लकडाउनका क्रममा दुई ÷चार ठाउँमा सानातिना केही त्रुटी हुन पुगे। हाम्रो जस्तो अल्पविकसित देशमा संक्रमण रोक्न चालिएको यो प्रभावकारी उपाय हो।

मुलुकका अत्यावश्यक बाहेकका सबै सेवा र सम्पूर्ण आवतजावत बन्द गरेको अवस्था हो। यो समयमा सरकारले घोषणा गरेको लकडाउनलाई सफल तुल्याउनु सबै नेपालीको दायित्व हो। घरमै बस्नु भन्ने उद्देश्यका साथ लकडाउनको घोषणा भएको हो। तर, जनताले यसको अर्थ वा महत्व नबुझेर हुनसक्छ, केही त्रुटी हुन पुग्यो। लकडाउनको पालना गर्न मानेनन्। काठमाडौंबाट गृहजिल्लातर्फ लागे। विदेश र सीमापारीबाट गाउँतिर जाने क्रम चलिरहयो। जो जहाँ छ, त्यहीं बस्नु पर्नेमा जनताले इमान्दारीपूर्वक लकडाउनको पालना गरेनन्।

खुला सीमाका कारण भारतबाट हुलका हुल नेपाली आए। भारतबाट यसरी आउलान् भन्ने कसैले सोचेकै थिएन। यसले दीर्घकालमा कस्तो असर पर्छ भन्नेबारे जनताले अलि बुझेनन् जस्तो लाग्छ। कडाइका साथ लकडाउनको पालना गर्नुपथ्र्यो। त्यो हुन सकेन। संक्रमणको दीर्घकालीन संकटबाट जोगिने उपाय नै पहिलो नम्बरमा लकडाउन हो। समयमै लकडाउनको घोषणा गर्नमा सफल त भयौं। तर, त्यसको अनुगमन र कार्यान्वयनमा चुक्यौं।

दुई साताअघि घोषणा भएको लकडाउनलाई सरकारले पुनः लम्ब्याएर वैशाख ३ गतेसम्म लगेको छ। लकडाउनको अवधि थप गरिनुको अर्थ संक्रमण नहोस् भनेर नै हो। छिमेकी भारतको अवस्था अस्तव्यस्त नै देखिन थालेको छ। नेपालमा पनि पूर्वतयारीका लागि धेरै ढिलो भइसकेको अवस्था होइन। आत्तिहाल्नु पर्ने अवस्थामा हामी छैनौं। अन्तर्राष्टिय सीमा नाका र खुला सीमा नाकाबाट हुने आवागमन रोक्ने कार्य गरिएको छ। सीमा नाकामा निगरानी अलि फितलो देखिएको छ। आर्मी शासन जस्तो कडा किसिमले निगरानी र कडाइ गरिनुपर्छ।

सरकारले क्वारेन्टाइनको व्यवस्था गरेको छ। विदेशबाट आएका सबैलाई अनिवार्य क्वारेन्टाइनमा राखिनु पर्छ। अहिले बनाइएको क्वारेन्टाइन पनि व्यवस्थित देखिएको छैन। भक्तपुरको खरिपाटिमा जस्तो मुलुकभरि व्यवस्थित क्वारेन्टाइन निर्माण गरिनु पर्छ। क्वारेन्टाइनमा पनि एकैठाउमा दुरी कायम नगरि बसिएको छ। क्वारेन्टाइनमा रहँदाखेरी अपनाउनु पर्ने नियम पालना नगर्दा संक्रमणको जोखिम झन बढाउँछ।

धेरैजनालाई एकै ठाउँमा राख्ने कार्य गरिन हुँदैन। क्वारेन्टाइनको सिद्धान्तअनुसार नै व्यवस्थापन र नियम पालनामा कडाइ गरिनुपर्छ। क्वारेन्टाइनमा बस्नेलाई खाना, पानीलगायत अन्य खानेकुरा र सुरक्षा सामग्री उपलब्ध गराउनुपर्छ। क्वारेन्टाइनमा बस्नेलाई केही नदिँदा उनीहरुको रोग प्रतिरोधात्मक शक्ति न्युन हुन पुग्छ।

अहिलेसम्म नेपालमा ९ जनामा संक्रमण देखिएको छ। संक्रमितका परिवार अन्य सम्पर्कमा आएका व्यक्तिको छिटोभन्दा छिटो परीक्षण गर्नुपर्छ। परीक्षणपछि भाइरस पोजेटिभ पाइएमा आइसोलेसनमा राख्नुपर्छ। भाइरस नेगेटिभ छ भने क्वारेन्टाइनमा राखिहाल्नु पर्छ। स्वास्थ्य परीक्षणबाहेक अन्य विकल्प छैन।

अहिले लकडाउनको पालनासँगै क्वारेन्टाइनमा बसेका व्यक्तिको छिटो परीक्षण गरिनुपर्छ। परीक्षणपछि क्वारेन्टाइन वा आइसोलेसनमा राख्नुपर्ने अवस्था छ भने व्यवस्थापन छिटो गर्नुपर्छ। यो विषयलाई अहिलेसम्म गम्भीर रुपमा लिइएको छैन। एक गाउँपालिकाबाट अर्को गाउँपालिका जान नपाउने निर्णय उपयुक्त छ। स्थानीय सरकार पनि सक्रिय हुनुपर्छ। उपचारका लागि पनि अस्पतालमा लैजान उचित प्रबन्ध स्थानीय सरकारले गर्नुपर्छ।

कोरोना भाइरस विशिष्ट खालको भाइरस हो। अन्य भाइरस दुई ÷चार सातामा हराउँछ भन्ने ठानिएको थियो। तर, यो कोरोना भाइरस अलि फरक खालको छ। १४ दिनको क्वारेन्टाइनपछि भोलिपल्टै छोडिदिनु पर्छ भन्ने पनि होइन। लकडाउनको पालना जनताले पनि इमान्दारीपूर्वक गर्नुपर्छ। रोगको पहिचान गर्ने कार्यलाई तीब्रता दिनुपर्छ। अहिले पनि लकडाउनमा सरकारसँगै हामी सबै इमान्दार हुनुपर्छ।

भारत अन्य मुलुकबाट पनि अहिले नेपालमा संक्रमित आइसकेको अवस्था छ। अहिले छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमण बढेको छ। खुला सीमा छ। दक्षिण खुला सीमाबाट नेपाल भित्रन सक्ने संभावना छ। यसतर्फ सचेत र सतर्क हुनैपर्छ। हाम्रो सामाथ्र्य, काम गर्ने तरिका प्रभावकारी हुनुपर्छ। कर्मचारीतन्त्र, जनता संवेदनशील रुपमा नलिँदा समस्या हुनसक्छ।

कोरोना भाइरसको संक्रमित विदेशबाट फर्केको र आफन्तलाई सारेको अवस्थामा अन्य केशहरुको पहिचान गर्नुपर्ने अहिलेको महत्वपूर्ण पक्ष हो। लकडाउनले समुदायमा संक्रमित हुनबाट जोगाउने हो। लकडाउनले मात्र सबै कार्य पूरा हुँदैन। परीक्षणको दायरा पनि बढाउनु पर्छ। संक्रमण पत्ता लगाएर आइसोलेसनमा राख्नुपर्छ। अहिले तत्कालै पहिलो लक्ष्य भनेकै संक्रमितको घुमफिर संभावित ठाउँहरु पत्ता लगाउने हो। ती ठाउँलाई उच्च प्राथमिकतामा राख्नुपर्छ। संघ, प्रदेश र स्थानीय सरकारबीचको राम्रो समन्वय भएको भए अहिलेको स्थिति आउने नै थिएन।

विकसित मुलुकसँग नेपाललाई दाँजेर पनि हुँदैन। त्यसैले पनि नेपाललाई चुनौती बढेको छ। सुरक्षाकर्मी, स्वास्थ्यकर्मीसँग जनताले पनि आआफ्नो भूमिकामा इमान्दारीपूर्वक निभाए मात्र संक्रमण रोकथाम गर्न सकिन्छ। स्वास्थ्यकर्मीको मनोबल बढाउनु पर्छ। उनीहरुको त्रास घटाउनु पर्छ। यसका लागि स्वास्थ्यकर्मीलाई पर्सनल प्रोटेक्टिभ इक्यिुपमेन्ट (पीपीई) को व्यवस्था गर्नुपर्छ।

हरेक क्षेत्र र पायक पर्ने स्थानमा फिभर क्लिनिक चलाउनु पर्छ। सरकारी र निजी सबै स्वास्थ्य संस्थामा भेदभाव नराखि कार्यरत सबै स्वास्थ्यकर्मीलाई सुरक्षाको अनुभूति दिनुपर्छ। स्वास्थ्यकर्मी पनि डराउने होइन, उचित तवरमा सावधानी अपनाएर सेवा गर्नुपर्छ।

अहिले कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको छ। यसले गर्दा झन् सतर्क हुनुपर्ने अवस्था छ। अहिले संक्रमणको न्युन आँकलन गर्नु उपयुक्त छैन। विकसित मुलुकमा जस्तो बलियो स्वास्थ्य सेवा पनि नेपालमा छैन। मुलुकको स्वास्थ्य सेवाको अवस्थाबारे सबैलाई थाहा छ।

अहिले हामीले लकडाउनको इमान्दारीपूर्वक पालना गर्नुपर्छ। यसका लागि प्रहरी परिचालन गरिएको छ। जनताले पनि स्वतःस्फूर्त सरकारको नियमको पालना गर्नुपर्छ। क्वारेन्टानमा बसेका व्यक्तिको छिटो परीक्षण गर्ने र परीक्षणको दायरालाई बिस्तार गर्नुपर्ने आजको आवश्यकता हो। सबै मिलेर तोकिएको काम, कर्तव्य इमान्दारीपूर्वक आआफ्नो कार्य गर्नुपर्ने देखिएको छ।

थिंक ट्यांक बनाऔं

डा. चक्रराज पाण्डे, मेडिकल डाइरेक्टर, ग्राण्डी इन्टरनेशनल हस्पिटल

विश्वव्यापी संक्रमण गराइरहेको कोरोना भाइरस (कोभिड १९) को महामारी सयौं वर्षपछि देखिएको छ। यस खालको महामारी हाम्रो अघिल्लो पुस्ताले देखेको र भोगेको थिएन। हामीले पनि यसअघि अनुभव गरेका पनि थिएनौं।

विश्वले नै कल्पना गर्न नसकेको समस्या अगाडि आएको छ। मेडिकलको हिसाबले हेर्दा त मेडिकल सप्लाई र चेनको कुरा गर्दा पनि जर्मनी जान लागेको मास्कलाई अमेरिकाले बैंककबाटै लग्यो भन्ने कुरा सार्वजनिक भएको छ। अमेरिकालगायत विकसित मुलुकलाई समेत अत्यावश्यक वस्तुको आपूर्ति र व्यवस्थापनमा समस्या भइरहेको छ भने नेपालमा चुनौती देखिनु स्वभाविक हो।

नेपालमा मेडिकलसम्बन्धी वस्तुको उत्पादन गर्न सकिएको रहेनछ। मास्क, शैया, आइसोलेसन, औषधि , पर्सनल पोटेक्टिभ इक्विपमेन्ट (पीपीई) लगायतका कुराहरु अभाव हुनु स्वभाविक हो। यो तीतो सत्य हो। यसमा मैले कसैलाई दोष दिन खाजेको होइन। फोहोर व्यवस्थापन कसरी गर्ने यो अर्को चुनौती हामी सामू देखिएको छ।

नीति बनाउने अहिले अवसर पनि हो। हामी कसरी अघि बढ्ने र नयाँ पुस्तालाई कसरी सुरक्षित राख्ने र अघि लैजाने भन्ने वास्तविक रुपमा गृहकार्य गर्ने बेला आएको छ। यो एउटा अवसर पनि हो। स्वास्थ्य र जनसंख्याको क्षेत्रमा थिंक ट्यांक खोज्नु पर्ने भएको छ। वैज्ञानिक, सरुवा रोगविज्ञ सहितको समूह बनाउनु पर्छ।

मिडियाले पनि यसमा सपोर्ट गर्नुपर्छ। अब रणनीति बनाएर कार्यन्वयनमा जानुपर्छ। लगानी कुन कुन क्षेत्रमा लगाउनु पर्छ, पहिचान गरेर अघि बढनुपर्छ। अल्पकालीन र दीर्घकालीन योजना बनाउनु पर्छ। अल्पकालीनअन्तर्गत अहिलेको कोरोना भाइरसको संक्रमण न्युनीकरण गर्ने हो। सरकार र निजी क्षेत्र भनेर अहिले नछुट्याउँ। निजी स्वास्थ्य संस्थाले सरकारलाई सहयोग गर्ने हो। अहिले निजी क्षेत्र भनेर बिर्सिदिउँ।

सबै मिलेर काम गरौं भन्ने सिद्धान्तसँगै वास्तविक कार्यान्वयन अर्को पाटो हो। स्वास्थ्यकर्मीको मनोविज्ञान हेर्नुपर्छ। सरकारले सबैको ख्याल गर्नुपर्छ। बाँच्ने इच्छा सबैलाई छ। सरकारलाई काम गरेर देखाउनु चुनौती छ। टास्क फोर्स र एक्सन प्लानको निर्माण गर्नुपर्छ। सरकारलाई पनि यस्तो बेला दोष दिएर मात्र समस्या समाधान हुँदैन।

अल्पकालीन योजनाअन्तर्गत जनताको मनोबल बुझ्ने र स्वास्थ्यकर्मीको आत्मबल बढाउने काम गर्नुपर्छ। नजिजामूलक काम गर्नुपर्छ। जनतालाई खाद्यपदार्थको समस्या छ भने समाधान गर्नेतिर लाग्नुपर्छ। समन्वय गर्ने समय हो। कसैलाई पनि आलोचना गर्ने वा तीतो बोल्ने बेला होइन।

कोरोना भाइरसको संक्रमणको तथ्यांक हेर्दा केही अनुमान गर्न सकिन्छ।

चीन, अमेरिका, क्यानडा र युरोपियन मुलुकलाई हेर्दा अहिले हामी जोखिममा नै छौं। सरकारले लकडाउन घोषणा गरेर संक्रमण सार्ने कार्यको न्युनीकरण गरेको हो। अवस्था भयावह हुनसक्छ। परीक्षण गर्ने, पहिचान गर्ने कार्य युद्ध स्तरमा गर्न सकिएको छैन। परीक्षण र पहिचानको दायरा बढाउनु पर्छ। तीन सातामा कुन तहमा पुग्छ भन्ने मान्ने हो भने आगामी साताहरु झन् चुनौतीपूर्ण छन्। उपचारका स्रोत पनि सीमित छन्।

भेन्टिलेटर पनि तीन चार सय मात्र छन्। अमेरिका जस्तो विकसित मुलुकमा समेत भेन्टिलेटर अभाव छ। अन्य मुलुकमा मागेको अवस्था छ। अमेरिकाले समेत भेन्टिलेटरका लागि अन्य मुलुकसँग सहयोग मागेको अवस्था मूल्यांकन गर्दा हामीबीच संक्रमित बढेको अवस्थामा नेपालले थेग्न सक्दैन।

संघ, प्रदेश र स्थानीय सरकारलाई पनि गाहो छ। अप्रत्यासित र अकल्पनीय भएको कारण कसरी समन्वय र कार्य सम्पादन गर्ने भन्नेमै सरकार अन्योलमा देखिन्छ। यस बारेमा अनुभव कसैको छैन। विदेशबाट सिक्ने हो। इटलीभन्दा पहिला यो संक्रमण नेपालमा भएको भए कस्तो हुन्थ्यो होला ? अथवा इटली जस्तै नेपालमा देखा परेको भए के हुन्थ्यो होला ? चीनबाट संक्रमण युरोप, अमेरिकातिर जाँदा नेपालमा ढिलो संक्रमण हुनुले पूर्व तयारीको लागि अवसर हो।

निजी स्वास्थ्य संस्था पनि सरकारअन्तर्गत नै परिचालन हुनुपर्छ। नेपालमा स्वास्थ्यकर्मीको मनोबल उच्च राख्नु पर्ने आवश्यकता छ। व्यवस्थित क्यारेन्टाइनको निर्माण गर्दै परीक्षण कार्यको बिस्तार गर्नुपर्छ। प्रकृतिको संरक्षण गर्नेतिर लाग्नुपर्छ। सवारीसाधन खरिद गर्नेभन्दा प्रकृतिको जोगाउनेतिर नलाग्ने हो भने मानवले मानवलाई नै खतरा हुनेछ। अभिभावकको जुन बानी व्यहोरा थियो, त्यो अवलम्बन गर्नुपर्ने अवस्था देखिएको छ।

हामीले एक सय जनामा संक्रमण नहुँदै लकडाउन घोषणा गर्न र त्यसको पालना गर्न सफल भयौं। यसले गर्दा लक्षण नदेखिएका तर संक्रमित व्यक्ति धेरै घुम्न र अरुलाई संक्रमण गर्न पाएनन्। त्यसले गर्दा अन्य देशको भन्दा नेपालमा भाइरस संक्रमण बढ्ने संभावना न्युन देख्छु। भयावह अवस्थालाई दृष्टिगत गर्दा अमेरिका, इटली जस्तो स्थिति हुँदैन भन्ने लाग्छ।

यद्यपि, कोरोना संक्रमणले दोस्रो चरणमा प्रवेश गरेकाले जोखिम कायमै छ। भारतबाट खुला सीमाबाट आएका व्यक्तिका कारण पनि जोखिम बढेको हो। नेपालमा एक खालको प्राकृतिक आइसोलेसन छ। एउटा गाउँबाट अर्को गाउँ टाढा टाढा छन्। सोसल मिडियाबाट पनि धेरैमा चेतना फैलिएको छ। एक गाउँबाट अर्को गाउँमा जान रोक लगाइएको छ।

अहिलेको अवस्थामा पहिचान, परीक्षण, लकडाउन र क्वारेन्टाइन कै आवश्यकता हो। लकडाउन र परीक्षणलाई प्रभावकारिताका लागि नेतृत्व सबैलाई काउन्सिलिं गर्दै अघि बढनु पर्छ। कसैले आलोचना गर्छ भने पनि अघि बढनु पर्छ। बाँच्ने कुरा पनि ठूलो कुरा भइसकेको अवस्था छ। आगामी दिनमा स्वास्थ्य सुरक्षामा अधिक लगानी बढाउनु पर्छ। लगानी पारदर्शी हुनुपर्छ।

हेल्थ केयरसम्बन्धी उद्योगमैत्री नीति र वातावरण बनाउनु पर्छ। न्यूक्लियर बम निर्माण गरेर हुँदो रहेनछ, रिसर्च सेन्टर, ज्ञान प्रवद्र्धनतिर ध्यान दिनुपर्छ। अब सय वर्षको दीर्घकालीन योजना बनाउनु पर्ने आवश्यकता छ। मुलुक बनाउन जनता नै जागरुक हुनुपर्छ। आजको निर्णयले नयाँ पुस्तालाई अब्बल बनाउन श्वेतपत्र जारी गर्नुपर्छ। त्यसको कार्यान्वयन पनि एकसाथ अघि बढाउनु पर्छ।

सर्वप्रथम व्यक्ति आफैं सचेत हुनुपर्छ

विश्वराज पोखरेल, प्रहरी नायब महानिरीक्षक, महानगरीय प्रहरी कार्यालय, काठमाडौं

कोरोना भाइरसले अहिले नेपाल मात्रै होइन, विश्व नै त्रसित छ। यसबारे पहिला स्वयं व्यक्ति आफैं सचेत हुन जरुरी देख्छु। सरकारले अहिले सीमित स्रोतका बाबजुत पनि संक्रमित र लक्षण देखिएकाको उपचार र राहत वितरणलाई सँगसँगै लगेको छ।

नेपाल प्रहरीले कोरोना संक्रमण हुन नदिन र यसका लक्षण लागेका व्यक्तिलाई नजिकको प्रहरी कार्यालय र स्थानीय तहमा सिधा सम्पर्क राख्न आग्रह गर्दै आएको छ। नेपालमा थप महामारी फैलन नदिन प्रहरीले टोलटोलमा सचेतना अभिवृद्धि गराउँदै आएको छ। अहिले कोरोनाबाट थप त्रसित गराउने काम सोसल मिडियाबाट भइरहेको छ।

विशेषगरि फेसबुक र युट्यूबबाट भ्रम फैलाउने भइरहेको छ। प्रहरीले त्यस्ता व्यक्तिका फेसबुक अकाउन्ट र युट्यूबरहरुको खोजी गरिरहेको छ। केहीलाई कानुनी दायरामा पनि ल्याइसकेको छ। सडकमा हेर्ने हो भने पनि सुरक्षा निकायको उपस्थिति धेरै देखिन्छ। सुरक्षाको पाटो एउटा होला तर लकडाउनलाई उल्लंघन गर्ने व्यक्तिलाई हामीले सम्झाउँदै आएका छौं।

प्रहरीकै ‘नेपाल पुलिस मोबाइल एप’ बाट सर्वसाधारणलाई कोरोना संक्रमणबारे जानकारी गराउँदै आएका छौं। प्रहरी भित्रैका सकलदर्जाका कर्मचारीलाई पनि प्रहरीकै रेडियोमार्फत सचेत हुन भनिएको छ। प्रहरी मुख्यालयले सातवटै प्रदेश प्रहरी कार्यालयमा पत्राचार गरेर कोरोना संक्रमणबाट जोगिन र स्थानीय तहसँग समन्वय गरेर सर्वसाधारणलाई सचेत गराउन भनिएको छ।

काठमाडौं उपत्यकामा लकडाउन उल्लंघन गर्नेलाई प्रविधिको प्रयोग गरी प्रहरीले नियन्त्रणमा लिन थालेको छ। लकडाउन उल्लंघन गरी हिँड्नेलाई नियन्त्रणमा लिन महानगरीय प्रहरी कार्यालयले मातहतका कार्यालयहरूलाई ११ थान मल्टी फङ्सनल एरेष्ट एन रेस्क्यू डिभाइस दिएको छ। फिल्डमा खटिने सुरक्षाकर्मी र सर्वसाधारणलाई नै मध्यनगर गरेर यो डिभाइसमार्फत रेस्क्यु गर्न थालिएको हो।

प्रहरीले जबरजस्ती गर्नुभन्दा पनि स्वस्फुर्त रूपमा लकडाउनको कार्यान्वयन गरी अत्यावश्यक कामभन्दा बाहेक बाहिर ननिस्कन सबैमा आग्रह गर्छौं। लकडाउनपछि हालसम्म उपत्यकाबाट तीन हजार पाँच सय ३० जना महिला र १५ हजार आठ सय १६ जना पुरुषलाई लकडाउन उल्लंघन गरेको आरोपमा केही समय नियन्त्रणमा लिएर सम्झाई बुझाई छाडिएको छ।

कोरोना भाइरसलाई अफवाह फैलाउनेले माथि हाम्रो निगरानी छ। नेपालमा संक्रमित नदेखिएका बेला रामेछाप खाँडादेवी घर भएर भक्तपुर बस्ने विवेक थापा मगरलाई प्रहरीकै साईबर ब्यूरोले चैत ८ गते पक्राउ गर्न सफल भयो। उनले झोर्ले नामक न्युज पोर्टल बनाएर फेसबुकमार्फत अफवाह फैलाएका थिए। थापामगरलाई महानगरीय प्रहरी वृत्त दरबारमार्गमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ।

सामाजिक सञ्जालका प्रयोगकर्ता धेरै भएकाले जनमानसमा त्रास फैलने सूचना राख्नेलाई विद्युतीय अपराध तथा सजाय ऐनअन्तर्गत कारबाही गर्दै आएका छौं। प्रहरी महानिरीक्षकको सचिवालयमा पनि सामाजिक सञ्जाल हेर्ने छुट्टै युनिट छ। त्यसले पनि अफवाह फैलाउने सूचना कसैले राखेमा निगरानी गर्ने र कारबाहीको दायरामा ल्याउन सम्बन्धित प्रहरी कार्यालयलाई निर्देशन दिँदै आएको छ।

लकडाउन पछि मात्रै साइबर ब्यूरोमा ३७ वटा विभिन्न प्रकृतिका निवेदन परेका छन्। अधिकांशका फेसबुकलाई नै लिएर निवेदन परेका छन्। प्रहरीले सर्वसाधारणलाई भ्रम नफैलाउनुस् भनेर भन्न मात्रै सक्छ। गल्ती गर्ने कानुनी दायरामा आउँछन्। ल्याइरहेका छौं। सरकारले सामाजिक सञ्जालमा कडाइ गर्नुपर्छ।

कोरोनालाई नै लिएर धेरैले टिकटक बनाएर सामाजिक सञ्जालमा पोष्ट गरेको पाइयो। केहीले त सकारात्मक सन्देश दिएका छन् त केहीले भद्दा मजाक बनाइरहेका छन्। मजाक बनाउनेलाई पनि हामीले फोन सम्पर्क गरेर सम्झाई बुझाई गरेका छौं।

प्रस्तुति : दिनेश गौतम

साभार : अन्नपूर्ण पोष्ट अनलाइन