१० असोज २०७९, सोमवार
(नेपाली समय)
१० असोज २०७९, सोमवार
नेपाली समय

कोरोनाबारे अनविज्ञ साङ्ता बस्ती

सुन्दरकुमार थकाली

जोमसोम: विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइसले विश्व समूदायलाई आतंकित तुल्याएको छ । उत्तरी छिमेकी देश चीनबाट सुरु भएको कोरोना भाइरस अहिले विश्वकै सर्वाधिक शक्तिशाली राष्ट्र अमेरिकालगायत अन्य मुलुकमा  फैलिएको हो । दक्षिणी छिमेकी देश भारतमा कोरोनाका कारण दर्जनौ व्यक्तिले ज्यान गुमाइरहेका छन् ।

विश्व स्वास्थ्य संगठन डब्लुएचओले नेपाल कोरोनाको उच्चजोखिम भएको तथ्य सार्वजनिक गरेपछि नेपाल सरकारले पनि कोरोना रोकथाम तथा नियन्त्रण लगायतका विभिन्न कार्यलाई प्राथमिकताका साथ अगाडि बढिरहेको छ।सरकारले कारोना भाइरस निर्मूल गर्न कोरोना प्रतिकार्यस्वरुप मुलुक ‘लक डाउन’ गरेको हो ।

कोरोना भाइरसका कारण सिंगो मुलुक आतंकित छ । सरकारले कोरोनाकै कारण शैक्षिक क्षेत्र ,पूर्वाधार विकास ,विभिन्न सेवाप्रदायक निकायलगायत अन्तराष्ट्रिय उडान बन्द गरेको छ ।  एक व्यक्तिबाट अर्को व्यक्तिमा भाइरस सर्ने डर भएकाले उत्तर-दक्षिणका नाका बन्द छन् भने सर्वसाधारणलाई समेत अति आवश्यकीय काम बाहेक घर बाहिर ननिस्कन सरकारले अनुरोध गरेको छ । सडक पुरै लकडाउनले ठप्पै छ । सहर देखि गाउँगाउँमा दैनिक कोरानाको चर्चा परिचर्चा हुन्छ । संञ्चार माध्यमले निरन्तर कोरोनाकै समाचार अपडेट गरेका छन् ।

मुस्ताङमा एउटा यस्तो अचम्मको बस्ती छ ,जहाँ कोरोनाको कुनै डर र त्रास छैन । त्यहाँका स्थानीयको दैनिकी साविक भन्दा अहिले पनि कुनै भिन्नता छैन । मुस्ताङको ९६ वटा गाउँबस्ती मध्येको त्यो अचम्म लाग्दो गाउँ साङ्ता ।यस गाउँका मानिस कोरोनाबाट मुक्त छन् ।

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-५ मा पर्छ साङ्ता । मुलुक कोरोनाले आतंकित बनाइरहँदा साङ्ता गाउँ नामजस्तै शान्त र स्थिर छ । गाउँका कोही पनि मानिस वैदेशिक रोजगारमा विदेश नगएकाले गाउँ कोरोना जोखिम मुक्त भएको हो ।

जोमसोमदेखि ४० किमी पञ्चिमतर्फ हानिए साङ्ता गाउँ आइपुग्छ। मुस्ताङ र डोल्पा सिमाक्षेत्रमा अवस्थित साङ्ता पुग्न जोमसोमबाट ६ घण्टा लाग्छ ।जोमसोमदेखि कच्ची सडक भएता पनि यहाँ सवारी साधन चल्दैन। वारागुङ मुक्तिक्षेत्र-५ को एउटा वडामा जोडिएको फल्याक ,धाकार्जुङभन्दा विकट साङ्ता गाउँ करिब ३० किमी टाढा छ ।

चारैतिर अग्ला अग्ला डाडोको भिरालो फेदमा छ साङ्ता गाउँ । गाउँमा शिक्षा ,स्वास्थ्य बिजुली र संञ्चारको समेत पर्याप्त पहुँच छैन । गाउँका ८० प्रतिशत मानिस प्राय अशिक्षित छन्।जिल्लामा कोरोना आतंकले सर्वसाधारणलाई त्रसित बनाई रहेको अवस्थामा पनि यस गाउँ भने कोरोनाको नत कुनै डर छ ,नत स्थानीयलाई कोरोनाबारे जानकारी हाँसिल छ । यहाँ सरकारको समेत न्युन उपस्थित हुने गर्छ । लाग्छ मुस्ताङ जिल्लाकै भुगोल भित्र रहेको भएपनि साङ्ता गाउँ एक्लो गाउँ जस्तै बनेको छ ।

भौगोलिक दृष्टिले विकट भएकाले यहाँ सरकारी कर्मचारी ,जनप्रतिनिधि ,सुरक्षा निकाय कसैको पनि उपस्थित देखाउँदैनन् । गाउँमा १३ घरधुरीका करिब ७० जती जनसंख्या छ । गाउँकै ३ कक्षासम्म पढ्ने स्कुल पनि राम्ररी ६ महिना पनि खुल्दैन । स्थानीय बालबालिकाले त्यहाँ राम्ररी पढ्ने सुविधा छैन । गाउँका सबै खेतीपाती र पशुपालन गरेर जिविकोपार्जन गर्छन् ।

स्थानीय साङ्ता गाउँका मुखिया ङहिटुक गुरुङले कोरोना भाइरस भनेको आफूलाई केही थाहा नभएको बताए । उनले भने,’ गाउँमा सरकारै छैन । रेडियो ,टेलिभिजन र इन्टनेट चलाउने सविधा छैन । सुविधा भएनी भनेको कुरा बुझ्नै कठिन पर्छ।’

सोही गाउँका वडाअध्यक्ष राप्के गुरुङले साङ्ता गाउँ अटो लक डाउनको गाउँ भएको बताए । साङ्तामा नयाँ मान्छे कोही नजाने बरु गाउँकै मान्छे कहिलेकाही किनमेल गर्न जोमसोम आउने गरेकाले उनीहरुलाई कोरोनाबारे पत्तो नभएको जानकारी दिए ।

स्थानीय प्रशासन ,स्वास्थ्य, पालिका र सुरक्षाकर्मीलगायतले अहिले गाउँगाउँमा कोरोना भाइरसको कार्यक्रम गरेपनि साङ्तामा कोही पुग्न सकेका छैनन् ।

साभार : अन्नपूर्ण पोष्ट अनलाइन

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds