विराटनगर : विश्वमै महामारीको रुप लिएको कोरोना भाइरसविरुद्ध युवाहरुलाई एकत्रित र एकतावद्ध बनाउन मोरङमा ‘प्रहरीको साथी म’ नामक नयाँ अभियान सुरु गरिएको छ। संक्रमण नियन्त्रण गर्न र फैलन नदिन सरकारले लकडाउन गरिरहेका बेला त्यसलाई प्रभावकारी बनाउनसमुदाय स्तरबाट प्रहरीका गतिविधिसँग युवालाई जोड्दै नयाँ दस्ता तयार पारेर परिचालन गर्न थालिएको हो। सर्वसाधारण नागरिकलाई लक्षित गर्दै प्रहरीले विगतदेखि नै सञ्चालन गरिरहेको ‘समुदाय–प्रहरी साझेदारी’ अन्तर्गत यो अभियानको थालिएको छ। प्रहरीका ‘प्रहरी मेरो साथी’, ‘मुस्कानसहितको प्रहरी सेवा’, ‘टोलटोलमा प्रहरी’ लगायतका अभियान जारी छन्।
ती अभियान भन्दा भिन्न नाम दिएर ‘प्रहरीको साथी म’ नामक नयाँ अभियान सञ्चालन गरिएको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताए। उनका अनुसार यो अभियानमा जोडिएका युवाले लकडाउनलाई प्रभावकारी बनाउन र यसको कार्यान्वायनमा सहयोग गरिरहेका छन्। त्यस्तै लकडाउनमा घर बाहिर ननिस्कने, भीडभाडमा नजाने, मास्क प्रयोग गर्ने, साबुन पानीले नियमित हात धुने र सेनिटाइजरको प्रयोग गर्ने लगायत कोरोना जनचेतना फैल्याउन प्रहरीलाई सहयोग गरिरहेको अधिकारीले बताए।
एक महानगरपालिकासहित १७ वटा स्थानीय तह रहेको मोरङमा १६९ वटा वडाहरू छन्। प्रत्येक वडामा न्यूनतम १० जनाको टोली बनाएर परिचालन गर्ने योजना अन्तर्गत अभियान अघि बढिरहेको एसपी अधिकारीले जानकारी दिए। अभियानमा जोडिएका युवालाई ‘प्रहरीको साथी म’ लेखिएको ‘टी सर्ट’ उपलब्ध गराइन्छ। एसपी अधिकारीका अनुसार विराटनगर महानगरपालिका, पथरीशनिश्चरे र रंगेली नगरपालिकामा अभियान सुरु भइसकेको जानकारी एसपी अधिकारीले दिए।
इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीले पथरीशनिश्चरे क्षेत्रमा एक सय युवा अभियानमा आवद्ध भइसकेको बताए। ‘प्रत्येक वडाबाट १० जना युवालाई समेटेर टोली तयार गरिएको छ,’ उनले भने, ‘टोलटोलबाट शिक्षक, बुद्धिजिवी, व्यापारी, सर्वसाधारण सबै वर्गलाई समेटिएको छ।’ प्रहरीको उपस्थित कम भएको अवस्थामा अभियानमा जोडिएका युवाहरूले प्रहरीका लागि सहयोगीको भूमिका निर्बाह गर्ने डीएसपी गिरीले बताए।
रंगेलीमा दुई सय युवा यो अभियानमा जोडिएका छन्। एसपी अधिकारीले ‘प्रहरीको साथी म’ अभियानमा आवद्ध भएका युवासँग मिलेर कोरोना महामारीपछि पनि प्रहरीले काम गर्ने जानकारी दिए। उनका अनुसार अभियानमा जोडिएका युवाले कोरोना महामारीपछि समुदायमा हुने अपराधिक गतिविधि नियन्त्रणमा प्रहरीलाई सहयोग गर्नेछन्।
अपराधरहित र शान्त समाज निर्माणमा अभियानले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको एसपी अधिकारीले बताए। अभियानमा जोडिएका युवाले महामारीपछि अपराध नियन्त्रणमा प्रहरीसँगै गस्ती पेट्रोलिङ पनि गर्ने बताइएको छ।
अभियानमा आवद्ध पथरीशनिश्चरे–२ का समीर तिम्सिनाले कोरोनाको संक्रमण फैलन नदिन बाहिरबाट आएकाहरुमाथि निगरानी गरेर प्रहरीलाई जानकारी दिने काम भइरहेको बताए। ‘सबै ठाउँमा प्रहरी पुग्न सक्दैन। रातका समयमा नाकाबाट धमाधमा मान्छेहरु नेपाल छिर्ने गरेको पाइयो’ उनले भने, ‘त्यही भएर नयाँ अभियानमा आवद्ध भएर प्रहरीका लागि सहयोगीको भूमिकामा छौं।
टोलटोलमा पुगेर सर्च गर्दै कोरोनाको शंस्कापद कोही भेटिएमा प्रहरीलाई खबर गर्ने काम भइरहेको तिम्सिनाले जानकारी दिए। अभियानमा सामेल युवाहरुले पालो गर्दै मोटरसाइकलमा गस्ती गरी शंकास्पदहरुको खोजी गर्दै क्वारेन्टाइनमा बस्न आग्रह गर्ने गरिएको उनले उल्लेख गरे। तिम्सिनाले महामारीपछि समुदायमा हुने अपराध नियन्त्रणमा प्रहरीलाई सहयोग गरेर शान्त समाज निर्माणमा भूमिका खेल्ने अभियानको उदेश्य रहेको सुनाए।
साभार : अन्नपूर्ण पोष्ट अनलाइन