४ माघ २०७८, मंगलवार
(नेपाली समय)
४ माघ २०७८, मंगलवार
नेपाली समय

कोरोना त्रास : सामाजिक सञ्जालको प्रयोग र यसले ल्याउन सक्ने सुरक्षा चुनौती

समन्त आचार्य

अहिले विश्व कोरोना भाइरसबाट ग्रस्त भएको छ। कोरोना (कोभिड-१९) ले असहज परिस्थिति सिर्जना गरेको छ। कोभिडको संक्रमणबाट विभिन्न क्षेत्र प्रभावित भएका छन्। कोरोना संक्रमणले सूचना प्रविधिका क्षेत्रमा पनि विश्वव्यापी चुनौती खडा भएका छन्।

संसारका सबै देश र तिनका स्वशासित क्षेत्र गरी २ सयभन्दा बढी देशमा फैलिएको यो भाइरसका कारण संसारका अधिकांश मानिस घरमै बस्न बाध्य छन्। घरबाटै काम गर्न थालिएको छ। फेसबुक, इन्स्टाग्राम, मेसेन्जर, भाइबर, ह्वाट्सएप, टेलिग्राम जस्ता सामाजिक सञ्जालको प्रयोग ह्वात्तै बढेको छ। सामाजिक दूरी कायम राखेरै पनि समाजसँग सामीप्य राख्न यस्ता सामाजिक सञ्जाल वरदान सावित भएका छन्। इन्टरनेटको व्यापक प्रयोग भइरहेको छ।

त्यसैले मार्क जुकरबर्गलाई फेसबुकको कार्यक्षमता यथावत् राख्न हम्मेहम्मे परेको उनले बताइसकेका छन्। गुगल, अमेजन, माइक्रोसफ्टको पनि उस्तै हालत भएको छ। यो महामारीका वेला यस्ता प्रविधि प्रयोग गरी अत्यावश्यक काम सामाजिक दूरी राखेरै गर्नका लागि वरदान सावित भएका छन्। अर्कोतिर यसले सुरक्षा र प्रयोगमा अन्तर्निहित चुनौती पनि थपिदिएको छ।

सामान्य अवस्थामा कार्यालयको काम घरबाट गरिँदैन। सुरक्षा र गोपनीयताका कारण घरबाट काम गर्न नदिइएको हो। जब विषम परिस्थिति सिर्जना हुन्छ, तब यस प्रकारका नियम आंशिक खुकुलो बनाइन्छ। त्यसभन्दा माथि जब मानिसमा आफ्नो स्वास्थ्य र ज्यानको सवाल रहन्छ परिस्थिति झन् जटिल हुन जान्छ। अहिले पनि भएको त्यही हो। 

अहिले धेरै विकसित मुलुकका विश्वविद्यालयहरूको पढाइ अनलाइनबाट भइरहेको छ। विद्यालयहरू पनि त्यसैगरी सञ्चालित छन्। सरकारी, गैरसरकारी कार्यालयहरू पनि यसैगरी सञ्चालन भएका छन्। विकासोन्मुख देशहरूमा पनि केही यस प्रकारका अभ्यासको प्रयोग गर्न थालिएको छ। 

हाम्रो जस्तो देशमा यस प्रकारका पूर्वाधार विकास नहुनु नै चुनौतीका रूपमा देखा परेको छ। त्यसैले हामी विकसित मुलुकका विश्वविद्यालय, विद्यालय, सरकारी, गैरसरकारी निकायले झैँ चाहेर पनि घरबाट सबै खालका काम गर्न सकिरहेका छैनौँ।

अकस्मात् सिर्जना भएको परिस्थितिले हामीमा नयाँ चुनौती थपिदिएको छ। हामीले हाम्रा सूचना प्रविधिका संरचनाको पूर्वाधार विकास यस प्रकारका चुनौतीको समयमा गर्न मिल्ने किसिमले विकसित गर्नुपर्ने भएको छ। हाम्रा नीतिनियम पनि तदनुरूप परिमार्जन गर्नुपर्ने हुन्छ। 

हाम्रा कानुनमा पनि संशोधन गर्नुपर्ने आवश्यकता हुन्छ। यस प्रकारको समयमा कार्यालयको कार्य र यसको गोपनीयता महत्वपूर्ण चुनौती हो। त्यसका लागि सूचना प्रविधिका सुरक्षाका लागि चाहिने पूर्वाधार र यसको लगानी महत्वपूर्ण मेरुदण्डका रूपमा रहन्छ।

संसार कोभिडविरुद्ध लडिरहेको परिस्थितिमा चीनले भने सफलता हासिल गरेको देखिन्छ। अन्य देशमा संक्रमण बढिरहेको समयमा चीनमा भने नियन्त्रित हुँदै गएको छ। त्यसैले धेरै देशको संक्रमण नियन्त्रणमा चिनियाँ मोडेलबारे चासो हुनु स्वभाविक हो। 

मुख्यतः तीन कुरा चीनमा प्रयोग भएको पाइएको छ। पहिलो- अस्पतालको सुदृढीकरण र व्यापकता जस्तै छोटो समयमै ठूल्ठूला अस्पतालको निर्माण र क्षमता विस्तार गर्न सक्षम हुनु। दोस्रो- परीक्षण गर्ने किट तथा द्रुत परीक्षण प्रणालीको विकास र विस्तार। तेस्रो- प्रविधि प्रयोग गरी लगभग सबै संक्रमितको गतिविधि ट्र्याक गर्न सक्नु। ग्लोबल पोजिसनिङ सिस्टम, स्मार्ट मोबाइल एपको सहायताले प्रत्येक संक्रमित कहाँ कहाँ गए, कोसित भेट गरे ? संक्रमितहरूको कति नजिक गए जस्ता आदि जानकारी हासिल गरी सम्भावित संक्रमितको नियन्त्रण गरियो र संक्रमण फैलन दिइएन। 

तेस्रो उपाय यस संक्रमण नियन्त्रणमा लाभदायक भए पनि यसले व्यक्तिको गोपनीयतामा धेरै प्रश्न खडा गरिदिएको छ। अमेरिका जस्तो प्रजातान्त्रिक मुलुकमा यो प्रविधि प्रयोग गर्न मुस्किल देखिएको छ, जहाँ उपभोक्ताको व्यक्तिगत गोपनीयतालाई महत्व दिइन्छ।

यदि सरकारले आफ्ना नागरिक कहाँ जान्छन् र कोसित भेट गर्छन् भन्ने रेकर्ड राख्न थाल्यो भने यस प्रकारका संक्रमण नियन्त्रणमा त त्यसले सकारात्मक काम गर्ला तर नागरिक स्वतन्त्रतामा कस्तो असर गर्ला?

यदि सरकारले आफ्ना नागरिकको तापक्रमको र मुटुको चालको रेकर्ड (जुन एक अर्कामा सम्बन्धित छन्) राख्न थालेमा कसलाई ज्वरो आएको छ र कसलाई छैन भन्ने थाहा पाएर उपचार त होला। तापक्रमसँगै मुटुको चाल भएको डाटाको सम्बन्ध कायम गरियो भने व्यक्तिको संवेदनाका बारेमा थाहा पाउन सकिन्छ। व्यक्तिको संवेदना थाहा पाएर यसको आधारमा धेरै कुरा पो गर्न सकिन्छ त। व्यापारदेखि राजनीतिक विद्रोहसम्म हुने नागरिकको संवेदनाकै भरमा हैन र ? तसर्थ यस्ता स-साना जानकारीलाई सामान्य रूपमा लिनु हुँदैन। त्यसको प्रयोग वा दुरुपयोग कसरीसम्म हुन सक्छ भन्ने ख्याल गर्नुपर्छ।

एउटा उदाहरण- हाल नेपालमा स्मार्टफोनको व्यापकता दैनिक बढ्दो छ। स्मार्टफोनमा मानिसहरू जथाभावी एप इन्स्टल गर्ने गर्छन् र आफ्नो लोकेशन, फोटो ग्यालरी, एसएमएस, कन्ट्याक्ट लिस्ट आदिको पहुँच जानेर वा नजानेर दिने गर्छन्। यदि तपाईंको शत्रुले तपाईं अहिले कहाँ हुनुहुन्छ? तपाईंको सम्पर्क कोसँग भइरहेको छ? साथै हालै तपाईंले खिचेका फोटा, जो तपाईंको मोबाइलमा छन् आदिको जानकारी पाएमा के होला? तपाईं कत्तिको सुरक्षित रहनु होला? विचार गरौँ त। के यो गम्भीर विषय हैन? यस महामारीका समयमा सरकारले आफ्ना नागरिकलाई कुनै मोबाइल एप तयार गर्‍यो र उसका गतिविधिको जानकारी लिन थाल्यो भने हामी सबै तयार भइहाल्छौँ।

यो महामारीको अन्त्यपछि पनि यस्तै अर्को महामारीको नाउँमा त्यस प्रकारका प्रणालीले निरन्तरता पाउनेछन्। मानौँ ती जानकारीहरूको प्रयोग अन्य व्यापारिक, राजनीतिक वा नागरिकको स्वतन्त्रता नियन्त्रणमा प्रयोग नहोला भन्न सकिँदैन। त्यसैले संकटका वेला संकट टार्ने निहुँमा सुरक्षा जोखिमको चौतर्फी मूल्यांकन नगरी यस्ता विस्तृत जानकारी संकलन गर्ने एप प्रयोग गर्नु वा गर्न दिनुले भोलि झन् ठूलो संकट निम्त्याउन सक्छ। 

हाल देखिएको कोरोना संक्रमण केही समयमा शान्त होला। यो महामारीसँग जुध्न विश्वभर लागू गरिएका नीति, नियम, आफ्ना नागरिकमा प्रयोग भएका एपहरू, तिनका रेकर्डको प्रयोगले कुनै न कुनै रूपमा निरन्तरता पाउने नै छ। त्यसको प्रयोग या दुरुपयोग नहोला भन्न यत्तिकै सकिने अवस्था देखिँदैन। यसको दुरुपयोग नहओस् भनी सजग रहन आवश्यक छ। (लेखक सूचना सुरक्षा विज्ञ हुन्)

Twitter: @AcharyaUncleSam 

साभार : अन्नपूर्ण पोष्ट अनलाइन