१९ मंसिर २०८०, मंगलवार
(नेपाली समय)
१९ मंसिर २०८०, मंगलवार
नेपाली समय

कोरोना परीक्षणको दायर बढाउँदै सरकार : धनगढी, पोखरा र नेपालगञ्जमा ठूला मेसिन

काठमाडौं : सरकारले कोरोना भाइरस (कोभिड-१९) परीक्षणको दायर फराकिलो पार्दै उपत्यकाबाहिर ठूला मेसिन जडानको काम सुरु गरेको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार बुधबार धनगढी, पोखरा र नेपालगञ्जमा ठूला मेसिन जडानको काम सुरु भएको हो। 

‘काठमाडौं उपत्यका बाहिरसमेत ठूलो संख्यामा कोरोना भाइरसको प्रयोगशाला परीक्षणका लागि विभिन्न स्थानमा ठूला मेसिन जडान हुँदैछन्’, नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता देवकोटाले भने, ‘सुदूरपश्चिमको धनगढीमा, गण्डकी प्रदेशको पोखरा र प्रदेश नम्बर पाँचको नेपालगञ्जस्थित भेरी अस्पतालमा आज (बुधबार) ठूला मेसिन जडान कार्य हुँदैछ।’ 

प्रवक्ता देवकोटाका अनुसार यी ठूला मेसिनबाट ठूलो संख्यामा संकलन भएका नमुनाको परीक्षण एकसाथ हुनेछ।  ‘प्रोटेबल पीसीआर मेसिनबाहेक ठूलो पीसीआर मेसिनले ठूलो संख्यामा कोरोना परीक्षण गर्न सजिलो हुनेछ’, प्रवक्ता देवकोटाले भने।  

अहिलेसम्म नेपालमा २३ सय ६६ जनामा कोरोना परीक्षण भएको छ। जसमध्ये ९ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये एकजना निको भएर डिस्चार्ज भएका छन्। अन्य आठजना टेकु, धनगढी र बागलुङमा उपचारत छन्। 

प्रवक्ता देवकोटाका अनुसार राष्ट्रिय प्रयोगशाला, टेकुमा मात्र १९ सय ६२ जनामा कोरोना टेष्ट भएको छ भने बाहिर चार सय एक जनाको परीक्षण भएको छ।  
बुधबार मात्र १८० जनामा कोरोना परीक्षण भएको प्रवक्ता देवकोटाले जानकारी दिए। 

कैलाली र कञ्चनपुरबाट र्यापिड किटबाट १९८ नमुना संकलन भइसकेको छ। अछाम र जुम्ला र सुर्खेतबाट आठ सय २ नमुना केन्द्रीय प्रयोगशालामा ल्याइएको छ। सरकारले दिपायलमासमेत बुधबारबाट नमुना संकलन कार्य सुरु गरेको छ। 

अहिलेसम्म कोरोना आशंकामा उपत्यकामा १४ र बाहिर १२२ गरी एक सय ३४ जनाको आइसोलेसनमा उपचार भइरहेको छ। विभिन्न देशबाट फर्किएका आठ हजार पाँच सय ८० जना क्वारेन्टाइनमा रहेको प्रवक्ता देवकोटाले बताए।  

साभार : अन्नपूर्ण पोष्ट अनलाइन

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds