१० कार्तिक २०७८, बुधवार
(नेपाली समय)
१० कार्तिक २०७८, बुधवार
नेपाली समय

कोरोना प्रभाव : पूजापाठमा भेला नहुन कमाण्ड पोष्टको आग्रह

ओखलढुंगा : जिल्लामा हुने विभिन्न चाडपर्वमा भेला हुन रोक लगाइएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित जिल्ला कमाण्ड पोष्टले विभिन्न समुदायको कुलपूजा, बुद्धजयन्ती तथा गोठधूपमा भेला हुन रोक लगाएको हो ।
 
कूलपूजा तथा गोठधुपमा हजारौंको संख्यामा भेला हुने, बली दिने तथा सामूहिक पूजाआजा गर्ने तयारी विभिन्न समुदायमा सुरु भएपछि सामूहिक कार्य गर्न रोक लगाइएको हो ।

कमाण्ड पोष्टका संयोजक प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जिल्ला संकट व्यवस्थापन केन्द्र तथा जिल्ला कमाण्ड पोष्टको बैठकले महोत्सव, जात्रा तथा पर्वहरुमा भेला हुन नपाइने निर्णय गरेको  जनाकारी दिए । उनले पूजा नगरी नहुने भएमा पूजारी वा एक दुईजनाले गरेर प्रसादी टिका दिन सक्ने भएकाले सामूहिक भेला हुने, काटमार, बली दिन भेला हुने जस्ता कार्यमा रोक लगाइएको बताए । 

कुनै जातीय समुदायको संस्कृतिभन्दा मानव जीवनको रक्षा महत्वपूर्ण भएकाले त्यस्ता पूजा अर्को साल पनि गर्न सक्ने भएकाले सामूहिक भेला हुने कुनै कार्य गरेमा कानुनी कारवाही गरिने आचार्यको भनाइ छ । 

ओखलढुंगामा बुद्ध जयन्तीको अवसरमा बौद्धमार्गीले भेला गर्ने, हिन्दुहरुको शक्ति पीठमा बली दिने र मेला महोत्सव गर्ने चलन छ ।  यस्तो तयारी सुरु भएको जानकारी आएपछि स्थानीय तहलाई यसबारे सहजीकरण गर्न अन्यथा कारवाही गर्ने कमाण्ड पोष्टले निर्णय गरेको हो ।

यसबारे जिल्ला प्रशासन कार्यालयले जिल्लाका सबै स्थानीय तह तथा सुरक्षा निकायलाई पत्राचार गरेको जनाएको छ । 

साभार : अन्नपूर्ण पोष्ट अनलाइन