१९ मंसिर २०७८, आइतवार
(नेपाली समय)
१९ मंसिर २०७८, आइतवार
नेपाली समय

कोरोना महामारी : असर पनि, अवसर पनि

पूर्णचन्द्र भट्टराई

कोभिड–१९ को महामारीका कारण विश्व अर्थतन्त्रमा प्रभाव गहिर्‍याउँदै जाने क्रमसँगै विश्व श्रम बजारमा यसको असर देखिएको छ। यसबाट वैदेशिक रोजगार क्षेत्रलाई समेत प्रभावित भएको छ। वार्षिक तीन लाखभन्दा बढी वैदेशिक रोजगारमा जाने नेपालजस्तो मुलुकमा यसले बहुपक्षीय प्रभाव पारेको छ। कोरोनाका कारण गर्नु परेको लकडाउनले श्रम स्वीकृति लिएर उड्न तयार भएका श्रमिक नेपालमै अड्किएका छन्। उनीहरूको रोजगारमा अनिश्चितता देखिएको छ। विदेशमा काम गरेका कतिपयले रोजगारी गुमाउन पुगेका छन्। कतिपयको कार्य समय घटेको छ। कति बेतलबी बिदामा बस्न बाध्य भएका छन्।

 श्रम बजार र वैदेशिक रोजगार

नेपाल श्रम सर्वेक्षणका अनुसार हाम्रो देशमा बेरोजगारको दर ११.४ प्रतिशत छ। श्रमको अल्पउपयोग दर ३९.३ प्रतिशत छ। ६१.५ प्रतिशत जनसंख्या औपचारिक रोजगारी क्षेत्रभन्दा बाहिर छन्। प्रतिवर्ष पाँच लाख थप श्रमशक्ति श्रम बजारमा प्रवेश गर्छन्। यस दृष्टिले नेपालमा रोजगारी सिर्जना निकै ठूलो चुनौतीको विषय बनेकोे छ। यो चुनौतीलाई वैदेशिक रोजगारीले केही हदसम्म थेग्न मद्दत पुर्‍याएको थियो।

कोभिड–१९ का कारण मुख्यतः सेवा क्षेत्र, उत्पादन र निर्माण क्षेत्रमा कार्यरत श्रमिकहरू बढी प्रभावित भएका छन्। नेपालको वैदेशिक रोजगारीको करिब ८८ प्रतिशत हिस्सा खाडीका मुलुक र मलेसियामा केन्द्रित रहेकाले यस क्षेत्रमा पर्ने असरले नेपालको वैदेशिक रोजगारमा तत्कालै ठूलो प्रभाव पार्ने हुन्छ।

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को प्रारम्भिक प्रतिवेदनले मात्रै नेपालीको बाहुल्य भएको खाडी क्षेत्रमा मात्रै ५० लाख श्रमिकको रोजगारी गुम्ने आकलन गरेको छ। सेवा क्षेत्रमा नेपाली कामदारहरू विश्वका विभिन्न मुलुकमा छरिएका छन्। विशेषगरी उत्पादन र निर्माण क्षेत्रतर्फ खाडी र मलेसिया नै नेपाली श्रमिकका प्रमुख गन्तव्य रहिआएका छन्। त्यसमाथि पनि रोजगार कटौतीको अवस्थामा सामान्य श्रमिकहरू नै बढी प्रभावित हुने गर्छन्।

सन् २०१८ र २०१९ मा जारी गरिएको श्रम स्वीकृतिको तथ्यांक केलाउँदा औसत ५४ प्रतिशत अदक्ष कामदारका रूपमा गएको देखिन्छ। उच्च दक्ष र व्यावसायिक काममा जानेको संख्या ०.५ प्रतिशतभन्दा कम छ। यस अवस्थामा नेपाली श्रमिकहरूमा रोजगार कटौतीको मारमा पर्ने जोखिम बढी हुन्छ। यसबाहेक भारतमा ३० देखि ४० लाखसम्म नेपाली कार्यरत रहेको अनुमान छ। त्यसको ठूलो हिस्सा अहिलेको संकटका कारण जोखिममा छ। करिब ६÷७ लाख त स्वदेश फर्किसकेको अनुमान छ।

नेपालको वैदेशिक रोजगारमा मुख्यतया तीन किसिमको परिदृश्य देखा परेको छ। पहिलो, वैदेशिक रोजगारीका क्रममा विदेशमा रहेका नेपाली श्रमिकहरू जसको रोजगारी कोभिड—१९ महामारीका कारणले गुम्ने देखिँदैन र यस महामारीपश्चात् पनि आफ्नो रोजगारीमा सक्रिय नै रहनेछन्। दोस्रोमा कोभिड—१९ महामारीका कारणले रोजगारी गुम्न पुगेको र बिचल्लीमा परेर स्वदेश फर्किन चाहने वा फर्किसकेका पर्छन्। तेस्रो, श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा जाने अन्तिम तयारीमा रहेका र बिदामा घर आउँदा लकडाउन भई काममा फर्कन नपाएर देशमै रोकिएका।

स्वदेश फर्काउने पहल

कोभिड–१९ का कारण वैदेशिक रोजगारीमा पार्ने प्रभाव र उद्धार गर्नुपर्ने श्रमिकको प्रारम्भिक आकार करिब एक लाख ३० हजार रहेको वैदेशिक रोजगार बोर्डको आकलन छ। विदेशमा अलपत्रमध्ये पहिलो चरणमा २५ हजारलाई उद्धार आरम्भ भएको छ। कोभिडका कारण खाडी मुलुक र मलेसियामा गरी करिब चार लाखले रोजगारी गुमाउन सक्ने बोर्डकोे अनुमान छ।

सरकारले विदेशमा अलपत्र परेका कामदारलाई मापदण्डका आधारमा प्राथमिकता तोकी चरणबद्ध रूपमा स्वदेश फिर्ता ल्याउने जनाएको छ। भारतबाट फर्कने कामदारका लागि २० नाका तोकिएको छ। विदेशबाट फर्कनेहरूमा आममाफी पाएका, डिटेन्सन सेन्टरमा रहेका, बहिर्गमन भिसामा रहेका, आफन्तको काजकिरिया गर्न नेपाल आउनुपर्ने, श्रम करार अवधि समाप्त भएका वा रोजगारी गुमाएकालाई प्राथमिकतामा राखिएको छ।

यही अवस्थामा उद्धारमा विलम्ब, सुस्तपना र उडानको अनिश्चितता, हवाई शुल्क चर्काे र कमजोर सूचना प्रवाह आदिमा सरकारले चर्काे आलोचनाको सामना गर्नु परिरहेको छ। सर्वाेच्च अदालतले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गई करारको अवधि नपुगी फर्कनुपर्ने अवस्थामा रहेका तथा अलपत्र परेका श्रमिकलाई उनीहरूले योगदान गरेको वैदेशिक रोजगार कल्याणकारी कोषबाट स्वदेश ल्याई गन्तव्यसम्म पुर्‍याउन आदेश जारी गरेको छ। यसैगरी सरकारले विदेशबाट फर्कनेहरूका लागि विमानस्थलमा विशेष व्यवस्था, स्वास्थ्य परीक्षण र होल्डिङ सेन्टरमा राखी सम्बन्धित प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्ने व्यवस्था गरेको छ।

यसरी अवसर

वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको कुल संख्याको एक तिहाइ १८ देखि २४ वर्ष समूहका युवाको छ। यो सर्वाधिक उत्पादक उमेर समूह हो। यो परिस्थितिमा सरकारले स्वदेशमै रोजगारी सिर्जना र विदेशबाट फर्केकालाई समेत स्वदेशमै अवसर प्रदान गर्ने नीति बनाएको छ। २०७७÷७८ को बजेटमा सात लाख ८८ हजार तीन सय ४० जनालाई नयाँ रोजगारी सिर्जना गर्ने उल्लेख छ। यसैगरी उद्योग तथा व्यवसायको पुनरुत्थान गर्न सुविधाका साथै नयाँ व्यवसाय आरम्भ गर्न नवप्रवर्तन सुरुआती पुँजी, ऋणमा पहुँच र व्यवसाय विस्तारका लागि स्टार्टअप फन्डसम्मको कुरा ल्याएको छ।

कोरोनाका कारण प्रभावित वैदेशिक रोजगारमा परेको प्रभावलाई अवसरमा रूपान्तरण गर्ने गरी स्वदेशमै उद्यम व्यवसाय र रोजगारीका अवसरमा परिणत गर्न निम्न कुरामा ध्यान दिनु आवश्यक छ :

(क) अभिलेख : विदेशबाट फर्किएका श्रमिकहरूले बाहिर के कस्तो कामको अनुभव हासिल गरेका छन्, के कस्तो सीप विकास गर्न सकेका छन् र नेपालमा के कस्तो पेसा, व्यवसाय गर्न चाहन्छन् त्यसबारे आवागमन स्थलबाटै तथ्यांक संकलन गरी योजना बनाउनुपर्ने हुन्छ। यस्तो डाटाबेसले नेपालमैै आवश्यक कतिपय सीपयुक्त जनशक्तिको पहिचान गर्न सहयोग पुग्छ। फर्केर आएका श्रमिकहरूका लागि योजना बनाउनसमेत सरकारलाई सजिलो हुन्छ।

(ख) स्किम विकास : वैदेशिक रोजगारीबाट फर्किने अधिकांश कामदारले धेरथोर विप्रेषणका साथसाथै ज्ञान, सीप, दक्षता, उद्यमशीलता पनि साथै ल्याएका हुन्छन्। यिनीहरूलाई सम्भाव्य परियोजना विकास, फर्म दर्तालगायत प्रक्रियागत जानकारी र व्यवसायको सहजीकरण गर्न विशेष कार्यक्रम आवश्यक हुन्छ। यस्तो सेवाटेवा जिल्ला तहसम्म सहज रूपमा उपलब्ध हुन आवश्यक हुन्छ।

(ग) दक्षता विकास : विदेशमा गरेको र नेपालमा गर्नुपर्ने काम फरक हुन्छन्। यस सम्बन्धमा सीप वा दक्षता चाहिने भएमा त्यस्तो तालिम वा दक्षता प्रवाह गर्ने संस्थासम्म सरकारले सम्बन्ध गराइदिनुपर्छ। विदेशबाट सिकेको सीपको परीक्षण गरी प्रमाणपत्र प्रदान हुन सकेमा स्वदेशमा त्यससम्बन्धी काम गर्न सहज हुनुका साथै यसैलाई आधार मानेर उद्यम व्यवसाय गर्नसमेत सहजता पुग्छ। विदेशमा गरेको काम र नेपालको अवस्था फरक हुँदा खासगरी सीप रूपान्तरण र व्यावसायिक ज्ञानमा उद्यम व्यवसाय गर्न चाहनेहरूलाई सहयोग महत्वपूर्ण हुन्छ। यसका लागि प्रत्येक प्रदेशमा गुणस्तरीय व्यावसायिक तथा सीप प्रशिक्षण केन्द्र स्थापना गरी सीप तथा दक्षता विकास र उद्यमशीलतासम्बन्धी प्रशिक्षण प्रदान गर्ने व्यवस्था मिलाउनुपर्ने भएको छ।

(घ) वित्तीय पहुँच : आफ्नै उद्यम व्यवसाय सञ्चालन गर्न चाहनेलाई आवश्यक वित्तीय सहयोगमा सहजीकरण आवश्यक पर्छ। विदेशबाट फर्किएर स्वदेशमा केही गर्न चाहनेको सबैभन्दा ठूलो समस्या भनेको सुरुआती पुँजीको जोहो गर्नु हो। प्रारम्भिक चरणमा खासगरी सहुलियतपूर्ण ऋण, अनुदानसम्बन्धी सुविधामा पहँुच, बजार आदिबारे जानकारी दिनुपर्ने हुन्छ।

(ङ) विदेशी कामदारले खाली गरेको काममा आबद्ध गर्ने : नेपालमा मझौला स्तरको प्राविधिक कामदेखि ठेलागाडा व्यापारसम्म छिमेकी मुलुकका कामदारको ठूलो उपस्थिति थियो। कोरोनाका कारण धेरैजसो स्वदेश फर्किएका छन्। विदेशमा श्रमको महत्व बुझेका र पसिनाको मूल्य थाहा भएका नेपाली स्वदेश फर्किएका छन्। तिनलाई उक्त काममा संलग्न गराउन सकिन्छ। कतिपयले त यस्ता कामबारे राम्रो जानकारीसमेत हासिल गरेका छन्। यसका लागि विशेष उद्यम विकास कार्यक्रम आवश्यक हुन्छ। यसमा स्थानीय तहका सरकारहरूको सिर्जनात्मक पहल र भूमिका अपेक्षित हुन्छ। यसले स्वदेशमा रोजगारीको अवसर मात्र होइन, विदेश जाने विप्रेषणसम्मको बचत गर्छ।

(च) व्यवसाय सहजीकरण : स्थानीय आर्थिक विकासमा स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहन्छ। स्थानीय सरकारले स्थानीयस्तरमा निजी क्षेत्रलाई आकर्षण गरी उद्यम व्यवसायको विस्तार, रोजगारी र स्वरोजगारी अभिवृद्धिमा सहजीकरण गर्नु आवश्यक छ। यसमा स्थानीय तहमा उद्यम विकास शाखाको स्थापना वा हाल रहेका रोजगार सूचना केन्द्रलाई रोजगार विनिमय तथा सूचना केन्द्रका रूपमा विकास गरी व्यावसायिक दक्षता तथा सीपसम्बन्धी प्रशिक्षणमा प्रदेशसँग समन्वय गर्ने सम्पर्क बिन्दुका रूपमा विकास गर्न सकिन्छ।

वैदेशिक रोजगारको लाभलाई स्वदेशमै उपयोग गर्ने यो ठूलो अवसर हो। नेपालीले वैदेशिक रोजगारमा रहँदा आर्जन गरेको विप्रेषण रकमका अलावा उनीहरूले केही सीप, ज्ञान सिकेर आएका हुन्छन्। उक्त सीपको देशभित्र कहाँ, कसरी उपयोग गर्ने भन्ने सन्दर्भमा राज्यको भूमिका पनि महत्वपूर्ण हुन आउँछ। धेरैजसो फर्किने कामदारले आफ्नै व्यवसाय सुरु गर्ने चाहना राखे तापनि चाहिँदो आर्थिक स्रोतको अभाव, सम्बन्धित कामको तालिम एवं सीपको उपलब्धता र नेटवर्किङ तथा साह्रोगाह्रो पर्दा सहयोग गर्ने भरपर्दो सहयोगमा सरकारसँग अपेक्षा राख्ने गरेको पाइएको छ। यी विषयहरूमा समयमै सहजीकरण हुन सकेमा आफ्नै मुलुकमा बसी केही गर्न चाहनेहरूको अनुभव, चाहना, विदेशमा सिकेको सीप र दक्षताअनुसार नेपालमा उद्यम व्यवसाय वा रोजगारी स्वरोजगारीका अवसर विस्तार गरी कोरोना कहरले पारेको असरलाई स्वदेशमै रही आर्थिक उपार्जनका नयाँ अवसरमा परिणत गर्न सकिन्छ। यसले स्वावलम्बी अर्थतन्त्रको विकासका साथसाथै मुलुकको आर्थिक क्रियाकलापमा विस्तार हुन गई रोजगारीका अवसर बढ्ने र वैदेशिक रोजगारप्रतिको निर्भरता कम गर्न ठूलो सहयोग पुग्छ।

– भट्टराई पूर्वसचिव तथा श्रमविज्ञ हुन्

साभार: अन्नपूर्णपोष्ट अनलाइन