२ जेठ २०७९, सोमवार
(नेपाली समय)
२ जेठ २०७९, सोमवार
नेपाली समय

क्षतिपूर्तिसहितको न्याय कार्यान्वयन गर्न न्यायपालिका प्रयासरत छ : कायम मुकायम प्रधानन्यायाधीश

स्वचालित पेसी व्यवस्थापन पद्दति लागू गर्नको लागि आवश्यक पर्ने सफ्टवेयर निर्माणको तयारी

काठमाडौं : सर्वोच्च अदालतका कायम मुकायम प्रधान न्यायाधीश दीपक कुमार कार्कीले क्षतिपूर्तिसहितको न्यायको संवैधानिक सुनिश्चितताको विषयलाई कार्यान्वयन गर्न प्रयासरत रहेको बताएका छन् । सोमबार कानून दिवसको अवसरमा  शुभकामना दिँदै उनले क्षतिपूर्तिसहितको न्याय व्यवहारमा कार्यान्वयन गर्न‍ न्यायपालिका हर तरहले प्रयासरत रहेको बताएका हुन् ।

उनले न्यायपालिकामा गरिने सुधारको विषय एकाङ्की विषय नभई सामूहिक प्रतिबद्धताको साझा उपलब्धि भएको विश्वास व्यक्त गरे। ‘पीडित राहत कोषको प्रभावकारी परिचालनमा सरोकारवाला सबैको सकारात्मक पहल आवश्यक देखिएको छ। ’शुभकामना सन्देशमा भनिएको छ,‘न्यायपालिकामा गरिने सुधारको विषय न्यायपालिकाको एकाङ्की विषय होइन। यस प्रणालीमा आबद्ध सबैको सामूहिक प्रतिबद्धताको साझा उपलब्धि हो भन्ने कुरामा म विश्वस्त छु। न्यायपालिकाले रणनीतिक योजनामार्फत चालेका सुधारका कार्यमा न्यायाधीश, सरकारी वकिल तथा कानून व्यवसायी, न्यायपालिकामा कार्यरत अधिकृत एवम् कर्मचारीहरूलगायत सरोकारवाला निकाय एवम् संस्थाहरूको सकारात्मक सहयोग प्राप्त हन सकेमा मात्र आशातीत सफलता प्राप्त हुनसक्ने देखिन्छ।’

न्यायिक मूल्य मान्यतामा भएको क्षयीकरणलाई निस्तेज गर्दै स्वतन्त्र न्यायपालिका सम्बन्धी मान्यता, संवैधानिक सर्वोच्चता, नागरिकको हकअधिकारको संरक्षण लगायत विधिको शासनको पालनामा न्यायपालिका प्रतिबद्ध भएर अगाडि बढिरहेको उनको भनाई छ। न्यायपालिकामा हुनसक्ने विकृती विसंगती पहिचान गरी नियन्त्रणका उपाय सुझाउन गठीत समितिले पेश गरेको प्रतिवेदनले औल्याएका सुझावहरु कार्यान्वयन गर्दै न्यायपालिका प्रतिको जनताको आस्था र विश्वास अभिवृद्धि गर्नको लागि छिटो छरितो, विश्वसनीय एवम् गुणस्तरीय न्याय सम्पादन गर्ने कार्यमा सबैले आ-आफ्नो क्षेत्रबाट थप क्रियाशिलता देखाउन आवश्यक भएको कार्कीको शुभकामना सन्देशमा उल्लेख छ। 

‘न्याय गरेर मात्र हुँदैन गरेको जस्तो पनि देखिनुपर्दछ भन्ने मान्यतालाई आत्मसात गर्दै न्यायिक काम कारवाही एवम् प्रकृयामा कुनैपनि कोणबाट शंका एवम् अविश्वास पैदा हुन नसकोस भन्ने उद्देश्ले स्वचालित पेसी व्यवस्थापन पद्धति लागू गर्ने सम्बन्धमा प्राप्त अध्ययन प्रतिवेदनले सुझाए अनुसार स्वचालित पेसी व्यवस्थापन पद्दति लागू गर्नको लागि आवश्यक पर्ने सफ्टवेयर निर्माण लगायत प्राविधिक पक्षको तयारी र सो का लागि आवश्यक पर्ने बजेट निकासाका लागि प्रकृया अगाडि बढाइएको छ। ’शुभकामना सन्देशमा भनिएको छ,‘स्वचालित पेसी व्यवस्थापन पद्धति लागू नहुदासम्मको लागि अल्पकालीन उपायको रुपमा गोला प्रकृयाद्वारा पेसी व्यवस्थापन गरी न्यायिक प्रकृयामा पारदर्शीता एवम् स्वच्छताको पूर्ण प्रत्याभूती गरिएको छ। ’

कायम मुकायम प्रधान न्यायाधीश कार्कीले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण सेवा प्रवाहमा ल्याउनुपरेको संकुचनले शीघ्र न्याय सम्पादनको कार्यमा केहि अवरोध सिर्जना भएर अदालतहरुमा पुराना मुद्दाहरुको चाप बढेको बताए। उनले पुराना मुद्दाहरुको शीघ्र फछ्यौट गर्नको लागि हरसम्भव प्रयास गरिएको दाबी गरे। सेवाग्राहीहरुले न्याय प्राप्तीको वास्तविक अनुभूती अदालतबाट भएका फैसला कार्यान्वयनमार्फत मात्र गर्न सक्ने भएकाले फैसला कार्यान्वयनको विषयलाई प्राथमिकतामा राखिएको उनको भनाई छ।

साभार : अन्नपुर्णपोष्ट अनलाइन