१० असोज २०७९, सोमवार
(नेपाली समय)
१० असोज २०७९, सोमवार
नेपाली समय

गठबन्धनका नाममा जनतालाई धम्क्याउन थालियो : ओली

विराटनगर : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ५ दलीय गठबन्धनका नाममा जनतालाई धम्क्याउने काम भइरहेको बताएका छन् ।  

एमाले मोरङ क्षेत्र नम्बर ३ ले सुन्दरहरैँचा नगरपालिकाको विराट चोकमा शनिबार साँझ आयोजना गरेको स्थानीय तह निर्वाचन लक्षित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले चुनावका बेला मतदातालाई प्रभावमा पार्नका लागि धम्क्याउने र थर्काउने काम गरिनु आपत्तिजनक भएको बताए । ‘जनताले साथ नदिएर गठबन्धन असफल बन्दै गएपछि मतदातालाई धम्क्याउन थालिएको छ,’ उनले भने, ‘मतदाताले आफ्नो स्वेच्छाले भोट हाल्छुभन्न नपाउनु ?’ 

एमालेप्रति जनताको उत्साह र जनलहर देखेपछि आत्तिएकाहरुले मतदातालाई जबरजस्ती आफ्नो पक्षमा पार्न अनेक काम गर्न थालेको उनको भनाइ छ । ‘एमालेमा जनताको विश्वास छ । उत्साह बढेको छ,’ ओलीले भने, ‘पछि पर्ने अवस्था आएपछि गठबन्धनका नेतालाई निद्रा लाग्न छाडिसक्यो । फिल्डमै आएर जनतालाई धम्क्याउन थालेका छन् ।’

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन पुगेर छोरी (रेणु दाहाल)लाई भोट नहाले देश दुर्घटनामा जान्छ भनेर चितवनवासीलाई धम्क्याएको ओलीको भनाइ छ । ‘मैले गठबन्धनलाई १०–१५ वर्ष लैजाने योजना बनाएको छु । रेणुलाई जितायौ भने म खुसी हुन्छु भनेर प्रचण्डले चितवनवासीलाई के भन्ने खोजेको हो ?,’ प्रश्न गर्दै ओलीले भने, ‘यसरी जनतालाई धम्क्याउन पाइन्छ ? मुलुक र जनता कि छोरीका लागि राजनीति गर्ने हो ?’

कांग्रेस नेतृ आरजु राणा देउवाले कांग्रेसका उम्मेदवारलाई भोट हाल्नेलाई फ्रि भिसामा मलेसिया पठाउने र कांग्रेसका उम्मेदवारले नजितेमा बजेट नपठाउने भनेर दिएको अभिव्यक्तिप्रति टिप्पणी गर्दै ओलीले एमालेले रोजगारीको अवसर मुलुकमै सिर्जना गर्ने पनि बताए । ‘हामी ४–५ जनालाई मलेसिया पठाउँदैनौं । पाँचौं लाखलाई मुलुकमै रोजगारीको अवसर सिर्जना गर्छौँ,’ ओलीले भने, ‘एमालेले सरकारको नेतृत्व ग¥यो भने युवाहरुले विदेशिनु पर्दैन । मुलुक युवाहरुलाई विदेश पठाउने कारखाना हैन । यो कुरा सबैले बुझे हुन्छ ।’ 

मुलुकलाई समृद्ध बनाउन निर्वाचनमा एमालेको जित आवश्यक रहेको उनले बताए । ‘हामी चुनाव जित्दै छौँ । एमाले सधैँ जनता र सुशासनको पक्षमा छ,’ उनले भने, ‘अब कोही पनि अलमलमा पर्न आवश्यक छैन । देश बनाउनका लागि सूर्यमा मतदान गर्न सबैमा आग्रह गर्छु ।’

सुन्दरहरैँचाको विकास र समृद्धिका लागि एमालेको विकल्प नभएको ओलीले बताए । भने, ‘महिला सहभागिता र समावेशीतालाई ध्यान दिएर उम्मेदवार छनोट गरिएको छ । त्यही भएकाले एमालेमा जनलहर छ । अब एमाले जनले आफ्नो मतको सुरक्षमा पनि ध्यान दिनुपर्छ ।’ 

पार्टीका स्थायी कमिटी सदस्य एवं संघीय सांसद भानुभक्त ढकालसमेत सम्बोधन गरेको कार्यक्रम एमाले मोरङ क्षेत्र नम्बर ३ का क्षेत्रीय कमिटी सचिव भक्तकिरण राईले सञ्चालन गरेका थिए । कार्यक्रममा एमालेका तर्फबाट सुन्दहरहरैँचा नगरपालिकाका मेयरका उम्मेदवार केदारप्रसाद गुरागाईं, उपमेयर उम्मेदवार अकली चौधरी र पथरीशनिश्चरे नगरपालिकाका मेयर उम्मेदवार मोहान तुम्वाफो एवं उपमेयर उम्मेदवार देवीमाया काफ्ले, बेलबारी नगरपालिकाका मेयर उम्मेदवार दिलप्रसाद राई (डीपी), उपमेयर उम्मेदवार तिला गौतम तथा कानेपोखरी गाउँपालिकाको प्रमुखको उम्मेदवार राजमति इङ्नाम र उपप्रमुख उम्मेदवार भोलाप्रसाद अधिकारी लगायतको उपस्थिति थियो ।

साभार : अन्नपुर्णपोष्ट अनलाइन

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds