७ कार्तिक २०७८, आइतवार
(नेपाली समय)
७ कार्तिक २०७८, आइतवार
नेपाली समय

गर्मीयाममा लाग्न सक्छ यस्ता रोग

गर्मीयाम सुरु भएसँगै मानव शरीरमा विभिन्न किसिमका स्वास्थ्य समस्याहरू देखिने गर्छ । खासगरी यो समयमा विभिन्न किसिमका संक्रमणको डर हुन्छ। खानेकुरा चाँडै सड्ने र त्यसैमाथि झिङ्गा, लामखुट्टे, साङ्ला पनि धेरै पाइने भएकोले पनि यो समयमा संक्रमणको  जोखिम धेरै हुन्छ।

यसबेला ज्वरो आउने, रुघाखोकी लाग्ने, डाइरिया हुने जस्ता समस्या देखापर्न सक्छ। पाचनयन्त्र कमजोर हुने र खानेकुरा सजिलै नपच्ने भएकोले पनि अरू बेलाभन्दा यो समयमा धेरै समस्या हुन्छ। गर्मीयाममा शरीरमा रोग प्रतिरोधात्मक क्षमता पनि कमजोर हुन्छ । त्यसैले वर्षामा संक्रमित रोगको भय हुन्छ ।

यस मौसममा चिसो लाग्ने, ज्वरो आउने जस्ता समस्याहरू धेरै हुने गर्छ । बर्खायाममा के कारणले यस्तो समस्या देखापर्छ त ? सबैभन्दा पहिलो त्यसबारे केही कुरा उल्लेख गरौँ।

रोग फैलाउने कारण

– ठाउँ-ठाउँमा पानी जम्मा हुन्छ, त्यसमा लामखुट्टे फैलन्छ । जसकारण डेङ्गु, मलेरिया फैलाउन यहि नै एउटा कारण हुन सक्छ ।

– बिषालु जीवजन्तु, किरा, झिङ्गा आदिले पानी र खानेकुराको माध्यमबाट पनि संक्रमण बढ्न सक्छ ।

-हावामा फोहोरको संक्रमण फैलनु ।

-पित्त दुषित हुनु । (किनभने पित्तबाट हुने रोग ज्वरो आउनमा सबैभन्दा ठूलो कारण बन्छ।)

-तातो शरीर तुरुन्तै चिसो लाग्नु ।

-तेज घाममा हिँडडुल गर्नु ।

– पानीमा भिज्नु ।

कसरी अपनाउने सावधानी

-ज्वरो आयो भने खुला हावा आउजाउ गर्ने कोठामा बस्नुपर्छ । जति सकिन्छ, आराम गर्नुपर्छ ।

-हल्का र सुपाच्य खानेकुरा खानुपर्छ ।

-दूध, चिया, जुस पिउनुपर्छ । तर, भुटेको, तारेको, मसलेदार खानेकुरा खानु हुन्न ।

-धेरै शारीरिक श्रम गर्नु हुन्न ।

डिहाइड्रेसन

गर्मीमा धेरै पसिना आउनाले अथवा शारीरिक क्रियाकलाप बढी हुनाले  डिहाइड्रेसनको समस्या हुन्छ । टाउको दुखाइ, थकान, घाँटी अथवा ओठ सुक्नु, पिसाबको रङ्ग परिवर्तन हुनु, हात खुट्टाको दुखाइ, रिङ्गटा लाग्नु आदि डिहाइड्रेसनका लक्षणहरू हुन् ।

डिहाइड्रेसनबाट बच्नका लागि प्रशस्त मात्रामा पानी पिउनुपर्छ । काममा व्यस्त हुनुहुन्छ भने पनि कामको बीचबीचमा पानी पिउनुपर्छ । व्यायाम गरिरहनु भएको छ भने पनि प्रत्येक बीस मिनेटपछि पानी पिउनुपर्छ । हरेक दिन कम्तीमा ४-५ ग्लास कागती पानी पिउनुपर्छ ।

फुड प्वाइजन

गर्मीमा फुड प्वाइजन हुने सम्भावना पनि उत्तिकै हुन्छ। गर्मी मौसममा थुप्रै खानेकुराहरूमा ब्याक्टेरियाहरू चाँडै फैलिने भएकाले धेरैजनालाई गर्मीमा प्वाइजन हुन सक्छ। बान्ता आउने, रिङ्गटा लाग्ने, ज्वरो, डायरिया, टाउको दुखाइ, शरीर दुखेको छ भने फुड प्वाइजन भएको हुनुपर्छ । फुड प्वाइजनबाट तत्काल राहत पाउनका लागि एक ग्लास मन तातो पानीमा कागती, नुन र सख्खर मिसाएर पिउनुपर्छ । दूध अथवा डेरी प्रोडक्सनका साथै मांशाहारी खानाबाट बच्नुपर्छ ।

केही घरेलु उपायहरू अपनाएर पनि फुड प्वाइजनिङबाट बच्न सकिन्छ । त्यसका लागि पेटको जलन र दुखाइलाई कम गर्नका लागि एउटा चिया चम्चा महमा केही थोपा अदुवाको जुस मिसाएर सेवन गर्नु राम्रो हुन्छ । वाकवाकी र दुखाइको अवस्थामा तुरुन्त राहत प्राप्त गर्नका लागि एउटा चिया चम्चा दूधमा एक चम्चा मेथीदाना मिलाएर खाने गर्नुपर्छ ।

आँखाको समस्या

गर्मी मौसममा एलर्जी तथा संक्रमण सम्भावना बढी हुन्छ । त्यसले आँखामा कन्जक्टिभाइटिस हुन्छ। आँखा रातो हुनु, सुन्निनु, चिलाउनु तथा चिपचिपाहट हुनु यसको लक्षण हो । यो समस्याबाट जोगिनका लागि घामबाट जोगिनुपर्छ ।

घाममा जानै परेमा सनग्लासको प्रयोग गर्नुपर्छ । हातलाई प्रायः सफा राख्नुपर्छ, त्यसका लागि एन्टिसेप्टिक साबुनले हात धुनुपर्छ । राम्ररी निद्रा पुर्‍याउनुपर्छ । निद्रा पूरा नभएमा रोग प्रतिरोध क्षमता कमजोर हुन जान्छ, जसका कारण शरीरमा इन्फेक्सनसँग लड्ने क्षमता कम हुन्छ ।

आँखामा समस्या उत्पन्न भएमा बालबालिकालाई आमाको दूधको २-३ थोपा उसको दुवै आँखामा प्रयोग गर्नु लाभदायक हुन्छ । बाख्रा अथवा गाईको काँचो दूधको केही थोपा आँखामा प्रयोग गर्नाले पनि यो इन्फेक्सन चाँडै निको हुने गर्छ । काँचो आलुलाई काटेर आँखामा प्रयोग गरेमा आँखा सुन्निएको निको हुन्छ।

साभार : अनलाइनखबर अनलाइन