१० मंसिर २०८०, आइतवार
(नेपाली समय)
१० मंसिर २०८०, आइतवार
नेपाली समय

गृहपालिकामै शीर्ष नेतालाई चुनौती

मतदाता रिझाउन देश दौडाहा

प्रमुख दलका शीर्ष नेता नै हुन् देशको बागडोर सम्हाल्ने। उनीहरू मतदाता रिझाउन यति बेला देश दौडाहामा छन्। तर, स्थानीय तहमा आफ्ना उम्मेदवार जिताउन गृहनगरमै चुनौतीपूर्ण देखिन्छ। शेरबहादुर देउवा, केपी शर्मा ओली, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, रामचन्द्र पौडेल, राजेन्द्र लिङदेनलगायत नेतालाई गृहनगरमै सकस छ।

गन्यापधुरामा कांग्रेसलाई कठिन

प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाको गृहपालिका गन्यापधुरा (डडेलधुरा)मा कांग्रेसलाई सकस छ। सत्ता साझेदार दल डडेलधुरामा छुट्टाछुट्टै रूपमा चुनावमा गएका छन्। पहिला देउवाकै प्रियपात्र मानिएका कर्णबहादुर मल्लले अहिले सातै पालिकामा बीपी कांग्रेसबाट उम्मेदवार उठाएर कांग्रेसलाई चुनौती दिएका छन्।

२०७४ को निर्वाचनमा गन्यापधुरा कांग्रेसले जितेको थियो। कांग्रेसका नवलबहादुर मल्ल अध्यक्ष निर्वाचित भएका थिए। उपाध्यक्षमा पनि कांग्रेसकै कमलादेवी ठगुन्नाले जितेकी थिइन्। कांग्रेस विभाजन भएर बीपी कांग्रेस भएको छ। एमाले पनि विभाजन भएर एकीकृत समाजवादी भएको छ। माओवादी र एकीकृत समाजवादीबीच तालमेल भएको छ। एमाले र बीपी कांग्रेसबीच गठबन्धन छ। अध्यक्षमा सुरेन्द्र माली र उपाध्यक्षमा इन्द्रा महराले उम्मेदवारी दिएका छन्। कांग्रेसले इन्द्र कार्कीलाई अध्यक्ष र ज्ञानु सेठी देउवालाई उपाध्यक्षमा उतारेको छ। माओवादी–एकीकृत समाजवादी गठबन्धनाट अध्यक्षमा नरबहादुर विष्ट र उपाध्यक्षमा इन्द्रबहादुर रावल चुनावी मैदानमा छन्। 

एकीकृत समाजवादी केन्द्रीय सदस्य डा. तारादत्त जोशी आफ्नो गठबन्धन जित्ने दाबी गर्छन्। ‘माओवादीको ५–६ सय मत गत चुनावमा पनि आएको हो। एमाले विभाजन भएपछि बहुसंख्यक साथीहरू हामीसँग छन्’, डा. जोशी भन्छन्। 

एमालेका इन्द्र महरा गन्यापधुरा बीपी कांग्रेसको गढ भएको दाबी गर्छन्। ‘कर्ण मल्ल गन्यापधुरा–२ कै बासिन्दा हुन्। एमालेका बहुसंख्यक मतदाता हामीसँग छन्’, महरा भन्छन्, ‘बीपी कांग्रेसका पनि हामीसँग छन्।’ महरा एमालेबाट उम्मेदवारसमेत हुन्।

कांग्रेस नेता भने बीपी कांग्रेसले तालमेल गरे पनि आफूहरू पूरै पालिका जित्ने दाबी गर्छन्। ‘गत निर्वाचनमा पनि हामीसँग ३३ सय बढी मत हो। बीपी कांग्रेसले केही घटाउँछ। तर, यो पाली बढेका मतदाता हामीसँग बढी छन्। प्रतिस्पर्धामा एमाले हो, अहिले ऊ पनि फुटेको छ। 

एमालेभन्दा बढी मतदाता समाजवादीमा भएकाले पनि हामी ढुक्क छौं’, निवर्तमान गाउँपालिका अध्यक्ष नवलसिंह मल्ल भन्छन्।

ओलीको गृहनगरमा एमालेलाई चुनौती

ओलीको गृहनगर दमक (झापा)मा एमालेविरुद्ध राप्रपा उम्मेदवारलाई सत्तारुढ गठबन्धनले साथ दिएको छ। झापामा राप्रपाको प्रभाव देखेर एमाले हराउने रणनीतिअनुरूप अरू दल अघि बढेका हुन्।  यहाँ एमालेबाट गीता अधिकारी मेयर उम्मेदवार छिन्। अधिकारी यसअघि उपप्रमुख थिइन्। गठबन्धनबाट राप्रपाका पुराना नेता राम थापा मेयर उम्मेदवार छन्। सत्तारुढ दलको प्रस्ताव स्वीकार गर्दै राप्रपाले पूर्वमेयर थापालाई अघि सारेको हो। 

गठबन्धन हुँदैमा मतदाता त्यसको लहैलहैमा लाग्छन् नै भन्ने नरहेको अधिकारी बताउँछिन्। ‘दमकका मतदाता विवेकी छन्। गठबन्धनको लहैलहैमा लागेर भोट हाल्दैनन्’, अधिकारी भन्छिन्। अर्का उम्मेदवार थापा गठबन्धनको साख र विश्वास जोगाउँदै निर्वाचन जित्ने दाबी गर्छन्। 

भरतपुरमा बागी उम्मेदवारी गठबन्धनलाई चुनौती 

यति बेला देशकै ध्यान खिचेको छ भरतपुर महानगरपालिकाले। सत्तारुढ गठबन्धनबाट रेणु दाहाल फेरि मेयर उम्मेदवार बनेकी छन्। राप्रपासँगको तालमेलबाट एमालेका विजय सुवेदी रेणुका मुख्य प्रतिस्पर्धी देखिएका छन्। 

कांग्रेसबाट जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दिएपछि गठबन्धनलाई चुनौती थपिएको छ। रेणुले यसअघि कांग्रेससँग गठबन्धन गरी निर्वाचन जितेकी थिइन्। एमाले यसपटक पौडेलले केही भोट काटे जित्न सक्ने दाउमा छ। यहाँ एमाले र राप्रपाबीचको तालमेल पनि गठबन्धनलाई अर्को चुनौती बनेको छ। 

विराटनगरमा गठबन्धनलाई सकस 

विराटनगर महानगरपालिका जसपा अध्यक्ष उपेन्द्र यादवको गृहनगर हो। उनका छोरा अमरेन्द्र यादव उपमेयर उम्मेदवार छन्। सत्तारुढ गठबन्धनबाट मेयरमा कांग्रेसका नागेश कोइरालाको उम्मेदवारी परेको छ। यहाँ मुख्य पदमा मात्रै तालमेल भएको छ। १९ वडाका वडाध्यक्षमा भने गठबन्धन भएको छैन। 

अमिल्दो चुनावी गठबन्धनभित्र पनि चरम असन्तुष्टि छ। पार्टीभित्र लामो समयदेखि योगदान दिएकालाई पाखा लगाउँदै छोरालाई उम्मेदवार बनाएकोमा धेरै असन्तुष्ट देखिएका छन्। गठबन्धनको प्रतिस्पर्धी मानिएको एमालेबाट सागर थापा मेयर र शिल्पा निराला कार्की उपमेयर उम्मेदवार छन्। 

कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवालगायत नेतालाई झिकाएर हालै चुनावी सभा गरेको थियो। उनीहरूले मेयर र उपमेयरमा गठबन्धनका उम्मेदवारलाई जसरी पनि जिताउन जोड दिए। तर, वडाको विषयमा बोलेनन्। उक्त सभामा माओवादी, एकीकृत समाजवादी नेता उपस्थित थिएनन्। जसपाबाट उपमेयरका उम्मेदवार अमरेन्द्र मात्रै उपस्थित थिए। 

मेयरकै टिकटका विषयमा कांग्रेसभित्रको वातावरण सहज बनेको छैन। मेयरमा अमृत अर्याल, डिला संग्रौला, भीम पराजुलीलगायत आकांक्षी थिए। पराजुलीलगायत नेताले चुनावी अभियानमा सक्रियता देखाएका छैनन्। जसपाकै नेता उमेश यादवले मेयर र माओवादी नेतृ नमिता न्यौपानेले उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएका छन्। यसअघि कांग्रेसका भीम पराजुली मेयर र इन्दिरा कार्की उपमेयरमा विजयी बनेका थिए। सत्ता साझेदारलाई विद्रोही उम्मेदवारले चुनौती दिएका छन्। 

आन्तरिक समस्याका कारण गठबन्धनलाई चुनाव जित्न गाह्रो पर्न सक्ने राजनीतिक विश्लेषक शान्तिराम भण्डारी बताउँछन्। जसपा मोरङ अध्यक्ष राजकुमार यादव भने विराटनगरमा गठबन्धनको विकल्पै नरहेको बताउँछन्। कांग्रेस विराटनगरका सभापति दीपक चापागाईं गठबन्धनभित्र एकमत रहेकाले चुनाव जित्नेमा शंका गर्न आवश्यक नरहेको बताउँछन्। माओवादी विराटनगरका सहइन्चार्ज भोगेन्द्र यादव गठबन्धन गरिए पनि आफ्नो पार्टीलाई न्याय नभएको बताउँछन्। केन्द्रीय ढाँचाअनुसार एकीकृत समाजवादीसँग कतै पनि तालमेल नभएको पोलिटब्युरो सदस्य महेश रेग्मीको भनाइ छ। 

गौरमा एकीकृत समाजवादीको चर्को प्रतिस्पर्धा

एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालको गृहजिल्ला रौतहटमा १८ पालिका छन्। यो पार्टीले १६ पालिकामा प्रमुख पदमा उम्मेदवारी दिएको छ। गढीमाई र दुर्गाभगवतीमा तालमेल गरी प्रमुख पदको उम्मेदवारी अन्य दललाई दिइएको जिल्ला सचिव मदन सापकोटा बताउँछन्। गौर, चन्द्रपुर, राजदेवी, बौधीमाई, बृन्दावन, गरुडा, फतुवाबिजयपुर, गुजरा गरी ८ तहमा आफ्नो पार्टीको बलियो पकड रहेको दाबी गर्छन् सापकोटा। भन्छन्, ‘अन्य पालकिामा हाम्रो कडा प्रतिस्पर्धा हुन्छ।’ 

नेपालको गृहनगर गौरमा एकीकृत समाजवादीबाट शम्भु साह उम्मेदवार छन्। उनी २०७४ को चुनावमा एमालेबाट उठेका थिए। उनी थोरै मतले पराजित भएका थिए। यसपटक कांग्रेस उम्मेदवार मोहन यादव, लोसपा उम्मेदवार निवर्तमान मेयर अजय गुप्तासँग साहको कडा प्रतिस्पर्धा हुने देखिन्छ। निवर्तमान उपमेयर किरण ठाकुर पनि मेयरमा उठेकी छन्। गौरका व्यापारिक पृष्ठभूमिका साह नेता नेपालका विश्वासपात्र हुन्। 

नेपालले गरुडा, चन्द्रपुरमा घरदैलो गरेका छन्।  सोमबार अध्यक्ष नेपाल रौतहटको मौलापुर र चन्द्रपुरमा आउने कार्यक्रम रहेको एकीकृत समाजवादी रौतहटले जनाएको छ। यद्यपि, जिल्लाका केही जनप्रतिनिधि एमाले प्रवेश गरेकाले नेपाललाई अर्को चुनौती छ। कांग्रेस र समाजवादीसँग रौतहटको कुनै पनि पालिकामा तामेल नभएको माओवादी रौतहट इन्चार्ज युवराज भट्टराई बताउँछन्।

ब्यासमा पौडेललाई कडा चुनौती 

तनहुँको ब्यास नगरपालिका कांग्रेस नेता रामचन्द्र पौडेलको गृहनगर हो। नेता पौडेल र पूर्वसहमहामन्त्री गोविन्दराज जोशीबीच विवाद रहँदै आएको थियो। यी दुई नेताले फरक–फरक ढंगबाट मेयरका उम्मेदवार चुनावी मैदानमा उतारेका छन्। कांग्रेसबाट मेयरमा पौडेलनिकट वैकुण्ठ न्यौपाने र उपमेयरमा इन्दिरा दरै उम्मेदवार छन्। न्यौपाने अघिल्लो निर्वाचनमा विजयी भई पाँच वर्ष व्यास नगरपालिकाको नेतृत्व गरेका व्यक्ति हुन्।

पार्टीबाट कारबाहीमा परेका पूर्वसहमहामन्त्री जोशी समूह र एमालेबीच गठबन्धन भएको छ। जोशी समूह र एमाले गठबन्धनबाट जोशीका छोरा दीपकराज जोशी मेयर उम्मेदवार छन्। उपमेयर उम्मेदवारमा एमालेकी बसुन्धरा घर्ती छिन्।

उम्मेदवार जोशी आफ्नो पक्षमा जनलहर छाएको बताउँछन्। कांग्रेस जिल्ला सभापति जितप्रकाश आले चुनावी जितहारको कुरा अहिल्यै पूर्वानुमान लगाउन नसकिने बताउँछन्। तर, एमाले र जोशी समूहको गठबन्धनविरुद्ध मुकाबिला गर्न कांग्रेस सक्षम रहेको सभापति आलेको भनाइ छ। 

पालुङटारमा डा. भट्टराईलाई सकस

जसपा संघीयपरिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई गृहनगर पालुङटारमा यसपटक पनि कडा चुनौती छ। आफ्नो पार्टीका मेयर उम्मेदवार प्रेम गुरुङलाई जिताउन साताव्यापी कार्यक्रम लिएर डा. भट्टराई यतै आएका छन्। 

तत्कालीन नयाँशक्ति पार्टीले गोरखाका ११ मध्ये कुनै पनि पालिका जित्न सकेको थिएन। पालुङटारका तीन वडा, धार्चेको एक र सिरानचोकको एउटा वडा मात्र जितेको थियो। पार्टीको साख जोगाउन डा. भट्टराई गृहनगरमा तल्लीन छन्। दुई दिनमा उनले आठ वडामा घरदैलो गरेका छन्। बाँकी वडा नं. ३ र १० मा पनि घरदैलो कार्यक्रम रहेको उनका स्वकीय सचिव रोशन पोखरेल बताउँछन्। ‘डाक्टर साव सहभागी कार्यक्रममा जनलहर देख्दा जित निश्चितजस्तो देखिन्छ। तैपनि चुनाव हो, के भन्न सकिन्छ र ?’, पोखरेल भन्छन्। 

यो नगरपालिका यसअघि कांग्रेसले जितेको थियो। जसपा तेस्रो स्थानमा पुगेको थियो। ‘अहिले बाबुराम भट्टराई खट्न त दिनरात नभनी निक्कै खटेका छन्। तर, जित्न सजिलो छैन’, स्थानीय हरि देवकोटा भन्छन्, ‘मेयरमा उठ्ने भनेर प्रेम गुरुङ दुई वर्षदेखि जागिर राजीनामा गरेर माहोल बनाउँदै बसे पनि ठिटाहरू मात्र परिचालन गरेर कसरी भोट जितिन्छ ?’ 

कांग्रेस र माओवादी उम्मेदवारसँग कडा प्रतिस्पर्धा हुने स्थानीयवासीको विश्लेषण छ। मेयरको उम्मेदवार छान्ने बेला जसपाभित्र दन्केको आन्तरिक विद्रोहका कारण पनि जित्ने मत पाउन कठिन भएको उनीहरूको भनाइ छ।

हल्दीबारीमा राप्रपालाई चुनौती

झापाको हल्दीवारी गाउँपालिकामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनका भाइ रवीन्द्र लिङ्देन अध्यक्ष पदका उम्मेदवार छन्। राप्रपाले दोस्रो कार्यकालका लागि रवीन्द्रलाई अघि सारेको हो। २०७४ को निर्वाचनमा रवीन्द्र एमाले उम्मेदवार मञ्जुदेवी सिटौलालाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका थिए। 

हल्दीबारीमा अघिल्लो पटककै बर्चस्व कायम गर्ने राप्रपाको प्रयास छ। सहज भने देखिँदैन। रवीन्द्रसँग एमालेका डम्बर गिरी, कांग्रेसका तुलसी ओली र माओवादीका भवानीप्रसाद दंगाल भिड्दै छन्। गिरी यसअघि गाउँपालिका उपाध्यक्ष थिए। 

उपाध्यक्षमा पनि चार दलका अलग–अलग उम्मेदवार छन्। कांग्रेसले आधिकारिक उम्मेदवार चन्द्रकला राईलाई फिर्ता बोलाएर स्वतन्त्र उम्मेदवारी दिएका लखन हेमरमलाई समर्थन गरेको छ। २३ हजार मतदाता रहेको हल्दीबारीमा जितका लागि ५ हजार हाराहारी मत ल्याउनुपर्ने माओवादी उम्मेदवार दंगाल बताउँछन्। 

शिवराज भट्ट/धनगढी, सुब्रत न्यौपाने/झापा, अनिल ढकाल/चितवन, किशोर बुढाथोकी/विराटनगर, फणि महत/रौतहट , राजकुमार आले/तनहुँ, शिव उप्रेती/गोरखा

साभार : अन्नपुर्णपोष्ट अनलाइन

 

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds