१७ असार २०७९, शुक्रवार
(नेपाली समय)
१७ असार २०७९, शुक्रवार
नेपाली समय

घट्न थाल्यो नाकाको भीड

महेन्द्रनगर : कञ्चनपुरको सीमानाका गड्डाचौकी भएर स्वदेश फर्किने नागरिकको संख्या घट्न थालेको छ । नाकामा करिब डेढ सातासम्म दैनिक एक हजारदेखि दुई हजारसम्म स्वदेश फर्किने नेपालीको भीड केहिदिन यता कम हुँदै गएको छ ।  

जेठ ११ गते यता २५ हजार बढी नेपाली स्वदेश भित्रिएका छन् । पछिल्लो केही दिनमा स्वदेश फर्किनेको संख्या घट्दै गएको कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले बताए । ‘केही दिनयता चार सयदेखि पाँच सयको संख्यामा नेपाली स्वदेश फर्किरहेका छन्’, उनले भने, ‘नाका खुल्ला गरेको सुरुवाती समयमा दैनिक दुई हजारदेखि तीन हजारको संख्यामा स्वदेश फर्किएको तथ्याङ्क छ ।’ 

उनका अनुसार भारतमा लकडाउन खुकुलो भइसकेकाले पनि स्वदेश फर्किने क्रम घटेको हो । ‘थुप्रै नेपाली हामीसँग सम्पर्क गरिराखेका हुन्छन् । नाका कहिलेसम्म खुल्छ भने’, उपाध्यायले भने, ‘यता संक्रमणको जोखिम बढेकाले पनि स्वदेश फर्किनेको संख्या घटेको हुनसक्छ ।’ 

गड्डाचौकी नाकाबाट सोमबार ५ सय ७३ जना स्वदेश फर्किएका छन् भने मङ्गलबार ४ सय २० जना फर्किएका छन् । भारतबाट लुकीछिपी नेपाल आउने क्रम बढेपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले भारतमा अलपत्र परेका नेपालीका लागि गत ११ गतेदेखि गड्डाचौकी नाका खोलेको थियो ।  

साभार: अन्नपूर्णपोष्ट अनलाइन