१६ असोज २०८०, मंगलवार
(नेपाली समय)
१६ असोज २०८०, मंगलवार
नेपाली समय

चीनमा कोरोना महामारीको दोस्रो लहरको चिन्ता, बेइजिङमा लगातार दोस्रो दिन भेटिए ३६ संक्रमित

सोमबार चीनमा कोरोना भाइरस (कोभिड–१९) का ४९ नयाँ संक्रमित फेला परेका छन् । चीनको नेशनल हेल्थ कमिसनका अनुसार पछिल्लो २४ घण्टामा देखिएकामध्ये ३६ संक्रमित राजधानी सहर बेइजिङका हुन् । यसअघि आइतबार पनि बेइजिङमा ३६ नयाँ संक्रमित फेला परेका थिए । यसअघि ५० दिनभन्दा लामो समयसम्म यो सहरमा कुनै पनि संक्रमित फेला परेका थिएनन् ।

बेइजिङमा पछिल्लो समय देखिएका अधिकांश संक्रमित सहरको सबैभन्दा ठूलो होलसेल बजारसँग सम्बन्धित रहेको बताइएको छ । सिन्फाडी मार्केटबाट मात्र अहिलेसम्म ७९ संक्रमित फेला परेको ग्लोबल टाइम्सले बताएको छ । त्यस्तै लियाओनिङ, हपेई र सिचुवान प्रान्तमा पनि बेइजिङबाट फर्किएका मानिसहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

चिनियाँ उपप्रधानमन्त्री सुन चुनलाङले मुलुकमा कोरोना भाइरस नियन्त्रणको लागि निर्णायक कदम चालिने बताएकी छिन् । साथै उनले आगामी दिनमा चीनमा कोरोना भाइरसको संक्रमण बढ्न सक्ने चेतावनी पनि दिएकी छिन् ।

यसअघि बिहीबार बेइजिङमा एक संक्रमित फेला परेका थिए भने त्यसको भोलिपल्ट ६ संक्रमित फेला परेका थिए । नयाँ संक्रमित भेटिएसँगै सिज्फाडी मार्केट र त्यसको आसपासका ११ क्षेत्रमा लकडाउन घोषणा गरिएको थियो । सोमबार थप १० क्षेत्रमा लकडाउनको घोषणा गरिएको स्थानीय सञ्चारमाध्यमहरुले बताएका छन् । साथै यो बजारका १० हजार कर्मचारीमा कोरोना भाइरसको परीक्षण गरिने भएको छ । पछिल्लो समय चीनको अन्य भागको जनजीवन सामान्य बन्दै गइरहेको अवस्थामा बेइजिङमा नयाँ संक्रमित भेटिन शुरु गरेका हुन् । स्रोत : बीबीसी

साभार :अनलाइनखबर अनलाइन

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds