२८ चैत २०८०, बुधवार
(नेपाली समय)
२८ चैत २०८०, बुधवार
नेपाली समय

चौध महिनामा काष्ठमण्डप पुनःनिर्माणको दोस्रो सम्झौता

काठमाडौँ, २९ जेठ (रासस) ः विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार क्षेत्रको काष्ठमण्डप पुनःनिर्माणका लागि १४ महिनाकाबीच दोस्रो पटक सम्झौता भएको छ । 

विसं २०७४ वैशाख २९ गते काष्ठमण्डप पुनःनिर्माणका लागि अभियान नामक संस्थालाई सम्झौता गरेर बनाउने जिम्मेवारी दिइएको थियो । त्यसबेला राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, पुरातत्व विभाग र काठमाडौँ महानगरपालिकाका अधिकारीबीच सहमति भई अभियानलाई पुनःनिर्माणको जिम्मेवारी दिइएको थियो । 

विसं २०७४ जेठ पहिलो साता महानगरपालिकामा जननिर्वाचित प्रतिनिधि आएपछि प्रमुख विद्यासुन्दर शाक्यले आफैँ बनाउन पाउनुपर्ने माग गर्नुभयो । असारमा प्राधिकरण कार्यकारी समितिको बैठकले महानगरपालिकालाई नै पुनःनिर्माणको जिम्मेवारी दिने निर्णय गरेको थियो । 

महानगरपालिकालाई पुनःनिर्माणको जिम्मेवारी दिँदा ठेक्काको प्रक्रियामा जाने र सम्पदा मासिने भन्दै अभियानले विरोध गर्दै आएको थियो । सम्पदा ठेक्कामा नभई जनस्तरबाटै अमानतमा बनाउनुपर्छ भन्ने स्थानीयवासीको मागले महानगरपालिकाले काम गर्न नसकेको प्राधिकरणका सहसचिव राजुमान मानन्धरले राससलाई जानकारी दिनुभयो । १४ महिनापछि आज महानगरपालिकाले काष्ठमण्डप पुनःनिर्माण समितिलाई जिम्मेवारी दिने सम्झौता गर्दै नगद रु ५० लाखको हस्तान्तरण गरेको छ । 

पुनःनिर्माणका लागि रु ५० लाखको चेक हस्तान्तरण गर्दै महानगरपालिकाका प्रमुख शाक्यले दुई वर्षमै काष्ठमण्डप पुनःनिर्माण सम्पन्न गर्ने दाबी गर्नुभयो । पुनःनिर्माणका लागि महानगरपालिकाले दुईपटक ठेक्का गर्न खोजे पनि जनस्तरबाटै सम्पदा पुनःनिर्माण हुनुपर्छ भन्ने आवाज उठेपछि रद्द गरिएको सुनाउनुभयो । जनस्तरबाटै गठन भएको पुनःनिर्माण समितिलाई बनाउने जिम्मेवारी दिइएको प्रमुख शाक्यको भनाई थियो । 

समितिको अध्यक्षमा प्रदेशसभा सदस्य राजेश शाक्य हुनुुहुन्छ । कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले हाम्रो सम्पदा आफैँ बनाउँछौँ भन्ने नाराका साथ काष्ठमण्डप पुनःनिर्माण गर्न लागिएको सुनाउनुभयो । तीन वर्ष अगावै काष्ठमण्डप पुनःनिर्माण सक्ने अध्यक्ष शाक्यको भनाइ थियो । 

कार्यक्रममा महानगरपालिकाका हनुमानढोका संरक्षण कार्यक्रम प्रमुख उदयबहादुर पसखलले पुनःनिर्माणका लागि आवश्यक सहयोग गरिने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशीको पनि उपस्थिति थियो ।

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds