१२ मंसिर २०८०, मंगलवार
(नेपाली समय)
१२ मंसिर २०८०, मंगलवार
नेपाली समय

जीटूजीबाट मेडिकल सामग्री किन्न पाँच देशलाई पत्राचार

२६ चैत, काठमाडौं । सरकारले जिटुजीमार्फत कोरोना संक्रमणविरुद्धका मेडिकल सामग्री किन्नका लागि चीन र भारत सहित पाँच देशलाई पत्राचार गरेको छ । नेपाली सेनाले ल्याउने ती सामग्रीको सूचीसहित परराष्ट्र मन्त्रालयले सम्बन्धित देशका दूतावासमार्फत पत्राचार गरेको हो ।

स्रोतका अनुसार परराष्ट्र मन्त्रालयले नेपाल सरकारले जिटुजीमार्फत मेडिकल सामग्री खरिद गर्नुपर्ने भएकाले दूतावासमार्फत पहल गरेको हो । नेपाली सेनाले पनि ती देशमा रहेका राजदूतावासका सैनिक सहचारीमार्फत सामाग्रीहरु खरिदबारे पहल थालेको छ ।

सरकारले चीन सहित भारत, सिंगापुर, दक्षिण कोरिया र जापानसँग अत्यावश्यक पीपीई सहितका मेडिकल सामग्री खरिद गर्न खोजेको छ । सबै दूतावासमार्फत नेपाललाई आवश्यक पर्ने सामग्रीहरुको सूची पठाइएको स्रोतले जनाएको छ ।

सम्बन्धित देशबाट कुन सामग्री कतिमा दिने भन्ने जानकारी आएपछि खरिद प्रक्रिया अघि बढ्नेछ । यसबीचमा देशभित्र पर्याप्त सामग्री रहेको र स्वास्थ्य सेवा विभागले पनि टेण्डर आह्वान गरिसकेको एक मन्त्रीले बताए । जिटुजी प्रक्रिया झन्झटिलो रहेको उनको भनाइ छ ।

सरकारले सिधै सम्बन्धित देशको सरकारसँग सामान खरिद गर्न खोजेको छ र बीचमा कुनै एजेन्ट नहुने भनिएको छ । तर, ती देशका सरकार आफैँले सामग्री उत्पादन नगर्ने भएकाले निजी कम्पनीबाट सम्बन्धित सरकारले किनेर नेपाललाई बेच्नुपर्दा झण्झटिलो हुन्छ।

निजी कम्पनीमार्फत खरिद गर्न खोज्दा विवाद भएपछि सरकारले अत्यावश्यक सामग्री जिटुजीमार्फत खरिद गर्न लागेको हो । त्यसको जिम्मा सेनालाई दिइएको छ । नेपाली सेनाले विद्यमान ऐन नियम अनुसारनै खरिद हुने जनाएको छ ।

साभार : अनलाइनखबर अनलाइन

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds