२ असोज २०८०, मंगलवार
(नेपाली समय)
२ असोज २०८०, मंगलवार
नेपाली समय

टिकट नपाउँदैमा पार्टी नछाडौं, निर्णय मान्नुपर्छ : ओली

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मनमोहन अधिकारीले छिन्नभिन्न भएको कम्युनिष्ट आन्दोलनलाई जोगाएको बताएका छन्। 

मनमोहन अधिकारीको २३औं स्मृति दिवसका अवसरमा मनमोहन स्मृति प्रतिष्ठानले मंगलबार आयोजन गरेको कार्यक्रममा उनले मनमोहन अधिकारीले अनेक दुःखकष्ट सहेर भए पनि नेपालको कम्युनिष्ट आन्दोलनलाई जोगाएको बताएका हुन्। 

‘दोस्रो महाधिवेशनपछि कम्युनिष्ट आन्दोलन छिन्नभिन्न भयो। २०२२ सालपछि त पार्टी टुक्राटुक्रा भयो’, उनले भने, ‘छिन्नभिन्न र टुक्राटुक्रा भएको कम्युनिष्ट अन्दोलनलाई एकताबद्ध बनाउने काम मनमोहन अधिकारीले गर्नुभयो।’ अध्यक्ष ओलीले मनमोहनले जोडेको कम्युनिष्ट आन्दोलनलाई भत्काउन खोजिए पनि त्यसलाई पुनः एकताबद्ध बनाएकाले ठूलो विजयको तयारीमा आफूहरु रहेको बताए। उनले भने, ‘कम्युनिष्ट आन्दोलनको वैचारिक र व्याहारिक पक्षमा सबैभन्दा मजबुद शक्ति नेकपा (एमाले) रहेको छ।’

अध्यक्ष ओलीले मनमोहनमा हतारोसँग काम नगरी सुविस्तारसँग काम गर्ने बानी रहेको बताए। ‘उहाँको राजनीतिक यात्रा रिले रेस जस्तो थिएन। उहाँ राजनीतिकको म्याराथुन धावक हो’,  अध्यक्ष ओलीले भने, ‘म्याराथुन धावक भएको हुनाले उहाँ ७१ वर्ष उमेरमा सांसद र प्रधानमन्त्री हुनुभयो।’ उनले प्रजातन्त्र र लोकतन्त्र बचाउनका लागि स्वच्छ प्रतिस्पर्धा आवश्यक रहेको उल्लेख गर्दै एमाले पार्टी उत्साहका साथ निर्वाचनमा होमिएकाले आवेश र उत्तेजनामा नआउन नेता तथा कार्यकर्तालाई निर्देशन दिए। 

अध्यक्ष ओलीले मनमोहन अधिकारीजस्तै धैर्यता र संयम अपनाउन नेता तथा कार्यकर्तालाई आग्रह गरे। ‘मनमोहन अधिकारीले धैर्यता नराखेको भए बहुदलीय व्यवस्था ल्याएर प्रधानमन्त्री कसरी हुनुहुन्थ्यो ? संयम र धैर्यता एमालेको चरित्र हो। त्यो मूलमन्त्र लिएर एमालेलाई अगाडि बढाउनुपर्दछ’, उनले भने, ‘हामी सबैले आचारण, व्यवहार र चिन्तनमा सुधार ल्याउन जरुरी छ।’ उनले वडामा टिकट पाइएन भने पार्टी छाड्छु नभनी पार्टीले गरेको निर्णय मान्नुपर्ने बताए। हाम्रो पार्टीमा नातावाद र कृपावाद नरहेको स्पष्ट पार्दै उनले सबै नेता तथा कार्यकर्तालाई यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा केन्द्रित हुन र एमालेका उम्मेदवारलाई जिताउन आग्रह गरे। 

प्रतिष्ठानका अध्यक्ष तथा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले देश बनाउने अभियानको एजेन्डा बोकर एमाले अगाडि बढेको बताए। मनमोहनको विचारसँग निर्देशित हुँदै र आदर्शलाई पछ्याउँदै एमाले अगाडि बढ्नपर्नेमा उनले जोड दिए। रासस

साभार : अन्नपुर्णपोष्ट अनलाइन

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds