२ जेठ २०७९, सोमवार
(नेपाली समय)
२ जेठ २०७९, सोमवार
नेपाली समय

टेकु अस्पतालका चिकित्सकको अनुभव : कोरोनासँग डर लाग्न छाड्यो

सागर बुढाथोकी

२५ चैत, काठमाडौं । सोमबार दिउँसो टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सुनसान थियो । मानिसहरुको चहल-पहल र एम्बुलेन्सको आउजाउ बाक्लो थिएन । अस्पताल प्राङ्गणमा रहेका चिकित्सकहरु फुर्सदिला देखिन्थे । पहिलेझै उनीहरुको मुहारमा डर र तनाव देखिएको थिएन । एक साताअघिको वातावरण र अहिलेको वातावरण बिल्कुल फरक थियो।

अस्पताल परिसरमा कडा किसिमको किटनाशक औषधि छर्किएका कारण त्यसको गन्ध हावाले नाकसम्म ल्याएको थियो । फार्मेसी अगाडि सामाजिक दुरी कायम गर्ने व्यवस्था गरिएको थियो भने फिभर क्लिनक अगाडि सेतो रङले गोलाकार बनाएर मानिस उभिने ठाउँ छुट्याइएको थियो ।

तर, फिभर क्लिनिकका चिकित्सकहरु बिरामी नपुगेका कारण फुर्सदिला देखिन्थे ।

आकस्मिक कक्ष अगाडि एक चिकित्सक आपतकालीन सेवाका लागि तैनाथ थिए । एक हप्ताअघिसम्म कर्मचारीविहीन रहेको सोधपुछ कक्षमा एक स्वास्थ्यकर्मी बसिरहेकी थिइन् । आकस्मिक कक्ष अगाडि रहेकी तिनै चिकित्सकले सुनाइन्, ‘एक साता अगाडि भन्दा धेरै राम्रो व्यवस्थापन हुँदैछ, हामी मनोवैज्ञानिक रुपमा कोरोनासँग लड्न तयार हुदैछौँ ।’

ती चिकित्सकका अनुसार अहिले अस्पतालले घर जान अफ्ठ्यारो पर्ने चिकित्सकहरुलाई त्यहीँ बस्ने व्यवस्था गरेको छ । जुन व्यवस्था एक साता अगाडिसम्म थिएन । टेकु अस्पतालमा काम गर्ने चिकित्सक भएको थाहा पाएर सामाजका मानिसहरुले अफ्ठ्यारो मानेपछि अस्पतालले यस्तो व्यवस्था गरेको हो ।

तर, अस्पतालले त्यहाँ खटिने चिकित्सकहरुलाई अनिवार्य बस्न भनेको भने होइन । ती चिकित्सक सुनाउँछन्, ‘काम गर्ने केही साथीहरुलाई घर आउजाउ गर्न गाह्रो छ । गाह्रो हुनेहरु बसुन् भनेर अस्पतालले व्यवस्थापन गरेको हो। इच्छा हुनेहरु यहाँ बसेका छन्। नहुनेहरु घर नै गएका छन् । सबैले आफ्नो सजिलो हेरेका छन् ।’

ती चिकित्सकका अनुसार कोरोनाको सम्भावित जोखिम भएर उनीहरुलाई अस्पतालमा राखिएको होइन । चिकित्सकहरुको मनोबल बढाउन अस्पतालले यस्तो व्यवस्था गरेको हो । अहिलेको अवस्थामा त्यहाँ कार्यरत चिकित्सकलाई जोखिम नभएको सुनाउँदै उनी भन्छन्, ‘कोरोनाको सम्भावित जोखिम भएकाहरुलाई मात्रै हो, अनिवार्य क्वारेण्टाइनमा राख्ने । गलत म्यासेज नजाओस् हामीलाई अनिवार्य क्वारेण्टाइनमा राखेको हैन ।’

आकस्मिक कक्षबाट हामी नजिकैको फिभर क्लिनिक पुग्यौं । त्यहाँ रहेका चिकित्सकले भने, ‘हेर्दाहेर्दै पहिला भन्दा अहिले हाम्रो परिवार छिमेकीहरुको धारणा बदलिइसक्यो, हामीलाई लिएर पहिलाजस्तो त्रास देख्दिनँ उहाँहरुमा ।’

आकस्मिक कक्षको बाटो हुँदै हामी अस्पतालको प्रशासनिक भवनमा पुग्यौं । प्रशासनिक भवनको एक कोठामा अस्पताल आएका कोरोना (कोभिढ १९) का आशंकित र संक्रमितलाई फ्रन्टलाइनमा बसेर उपचार गराइरहेका डाक्टर विमल चालीसे थिए ।

डा. चालीसेले हामीलाई अहिले टेकु अस्पतालमा भइरहेको गतिविधिको बारेमा जानकारी दिए । कोरोनाबारे विश्वमा भएका तत्कालीन गतिविधीका बारेमा सुनाए ।

नेपालको वर्तमान अवस्था र अब के गर्नुपर्छ भन्ने विषयमा चालीसेसँग गरिएको कुराकानी :

अस्पतालमा कोरोना संक्रमित छिर्नुअघि र अहिलेको तपाईंको दैनिकीमा कस्तो फेरबदल आएको छ ?

(प्रश्न सुनेपछि उनी लामो हाँसे । केही क्षण रोकिएर भने) त्यस्तो ड्रामाटिक चेञ्ज केही भएको छैन । किनभने, सबै काम रुटिनमै चलिरहेको छ । नयाँ काम भनेको कोरोना हो । यसमा पनि पहिलेजस्तै टिमसँग बसेर काम गर्ने हो । छलफल गर्ने हो । दिनदिनै सिक्ने हो, पढ्ने हो । कोरोना आएपछि सिकाइ र पढाइ बढेको छ ।

अहिले कामको चाप कम, तर पढाइको चाप बढी छ । पहिलाभन्दा जिज्ञासा पनि बढेको छ । कोरोनाकै विषयमा बढी काम, कुरा र पढाइ भइरहेको छ । बिहान उठेर अस्पताल आउने । दिनभर छलफल गर्दै काम गर्ने र साँझ घर जाने । यसरी नै काम भइरहेको छ ।

नेपालमा पहिलो संक्रमण पुष्टि हुदाँ अहिलेजस्तो कोरोना महामारी विश्वभर फैलिएको थिएन । यहीँ भर्ना भएका बिरामीलाई संक्रमण पुष्टि भएको रिपोर्ट सार्वजानिक भएपछि यहाँको माहोल कस्तो बनेको थियो ?

त्यतिखेर अहिलेजस्तो महामारी फैलिएको थिएन । हजारौं मानिस मरेका थिएनन् । उहाँ संक्रमण फैलिएको ठाउँबाट आउनुभएकै कारण हामीले उहाँलाई शंका गर्‍यौं । अस्पतालमै राख्यौ । उपचार गर्‍यौं । शंका नगरिकन सामान्य रुघाखोकी भनेर छाडिदिएको भए उहाँ घर गएर निको पनि हुनुहुन्थ्यो होला।

त्यतिबेला मानिस धेरै नमरेको र संसारभर नफैलिएकाले हामीलाई डर लागेको थिएन । तर, सजग भने थियौं । नयाँ रोग भनेर चासो र जिज्ञासा धेरै थियो । के गर्ने र कसो गर्ने भन्ने पनि थियो । यो महामारी नफैलिएकाले हामी डराएका भने थिएनौं ।

बिरामी गएपछि उनको उपचारमा संग्लग्न चिकित्सकहरुलाई सर्छ कि भनेर सोधपुछ गरियो । सावधानी अपनाइयो । तर, हामीलाई मात्र होइन, उनका परिवारका अन्य सदस्यलाई पनि संक्रमण देखिएन।

त्यो केस भेटिएको २ महिनापछि दोस्रो केस भेटियो । पहिलो केस भेटिएको भन्दा दोस्रो केस भेटिँदाको माहोल फरक थियो । पहिलो केसले हामीलाई धेरै कुरा सिकायो । हाम्रो आत्मविश्वास बढायो । तयारी गर्ने समय दियो । अहिले हामी महामारी फैलियो भने कसरी काम गर्ने भन्ने बारेमा सिकिरहेका छौं ।

दोस्रो र तेस्रो केसको यहीँ उपचार भइरहेको छ । दुवैको अवस्था ठीक छ । अहिलेसम्म देशभर ९ जना संक्रमित भएका छन् । सबैको अवस्था जटिल भइसकेको छैन।

अहिले यहाँ संक्रमित र आशंकित दुबै किसिमका बिरामीहरुले उपचार गराइरहेका छन् । फ्रन्टलाइनमा बसेर उपचारमा खटिँदा कस्तो अनुभव भइरहेको छ ?

कस्तो हुँदोरहेछ भने बिरामी आएपछि हामीले उपचार गर्नैपर्ने हुन्छ । बिरामीलाई पनि अस्पताल आएपछि चाँडो निको भएर घर जाउँ, राम्रो उपचार पाउँ भन्ने चाहना हुँदोरहेछ । हाम्रो चाहना पनि बिरामीलाई सकेसम्म चाँडो ठीक गराएर उपचार गराउ भन्ने हुँदोरहेछ । त्यो चाहनाबिना हामीले केही गर्न सक्दैनौं । बिरामीलाई सञ्चो बनाएर घर पठाउँदाजस्तो खुशी चिकित्सकलाई अरु कुनै बेला हुन्न ।

अहिले हामी बिरामीलाई दिनदिनैजसो हेर्छौं । उसको अवस्था पत्ता लगाएर छलफल गर्छौं । औषधि चलाउँछौं । उसलाई काउन्सिलिङ पनि गर्छौं ।

अहिले त कतिपय बिरामीहरु अत्तालिएर अस्पताल आउँछन्। छाती दुख्दैमा कोरोना भन्दै तर्सिनेहरु पनि छन् । कोही बेलुका निद्रा लागेन र थकान बढ्यो भने कोरोना भयो कि भन्दै सोध्न आउँछन् । तर, अहिले त्यस्तो समस्या लिएर आउने कम हुँदैछन् । एक साताअघिसम्म त रुघाको ज्वरो आएका सबै बिरामीहरुलाई अरु अस्पतालले यहीँ पठाउँथे। अहिले यस्तो कम भएको छ ।

अहिले पहिलाभन्दा पब्लिक सचेत छन् । हामी चिकित्सक सचेत छौं । डर कम हुँदै गएको छ । किनभने हतास भएर कही पुगिँदैन । तर, सतर्कता अपनाउनुपर्छ । सतर्कत अपनाइएन भने सरुवा रोग हो, सर्न सक्छ ।

अहिले हामीलाई उपचार गर्न प्रविधिले पनि सहयोग गरेको छ । बिरामीसँग भाइरबरमा भिडियो कल गर्दै उपचार गर्न सक्छौं । सबै बिरामीलाई औषधि चलाउनुपर्छ भन्ने हुँदैन । कतिपय बिरामीलाई काउन्सिलिङ गर्दा पनि ठीक भएका छन् ।

हाम्रो शरीर त्यति कमजोर छैन । धेरै रोगहरुलाई त हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमताले गालेर लान्छ ।

अहिलेको अनुभव भनेको त सिक्ने र सिकाउने हो । पढ्ने र पढाउने हो । धेरैभन्दा धेरै छलफल भइरहेको छ । कामको लोड पनि धेरै छैन । किनकि, सिरियस बिरामी छैनन । कोरोनाका बिरामी मात्रै भएकाले हामी कोरोनामै केन्द्रित भएका छौं  । भोलिको दिनमा बिरामी बढे भने कसरी काम गर्ने भनेर तयारी गर्दैछौ।

यहाँ भर्ना भएका संक्रमित र आशंकित बिरामीको मनोविज्ञान कस्तो पाउनुभएको छ ?

धेरै बिरामीहरु सुरुमा आउँदा एकदम डराउनु हुन्छ । तर, पछि कुरा गर्दै गएपछि उहाँको डर हट्छ । सुरुमा उहाँहरुको सोच ‘अब संसार नै सक्कियो, अब बाँचिन्नँ’ जस्तो हुन्छ । तर, यहाँ भर्ना भएर अस्पतालको उपचार प्रणाली, अरु बिरामी देखेपछि उहाँहरु नर्मल हुनुहुन्छ ।

अझ जाँच भएर रिपोर्ट नेगेटिभ आएपछि त उहाँहरुको मुहार नै बदलिन्छ ।

मानिसहरु सधैं बिरामी भइरहेका छन् । अहिले केही हुदाँ मलाई कोरोना भएको छ कि भनेर शंका गर्ने प्रवृत्तिचाहिँ डरलाग्दो छ । यहाँ आउनेहरु छिनमै डराउने र छिनमै खुशी हुनेहरु छन् । एकदम अत्तालिएकाहरु रिपोर्ट नेगेटिभ आएपछि ‘म ठीक छु डाक्टरसा’ब, औषधि लेख्नु पर्दैन’ भन्छन् ।

अहिले यहाँ उपचार गराइरहेका २ जना संक्रमित पनि खुशी नै हुनुहुन्छ ।

उहाँहरुको दोस्रो टेस्ट पनि पोजेटिभ आएपछि उहाँहरुलाई यहीँ राखिएको हो । तर, कतिपय अवस्थामा टेस्ट पोजेटिभ आए पनि शरीरमा भाइरस मरिसकेको हुन्छ । त्यसको क्षमतामा ह्रास आएको हुन्छ । अहिले उहाँहरु ठीक भए पनि रिपोर्ट पोजेटिभ आएको छ ।

यहाँ आएका बिरामीहरुको मनोविज्ञान मिश्रति छ । कोही एकदम धेरै खुशी हुन्छन्। कोही एकदम दुःखी । छिनछिनमा स्वाभावमा परिवर्तन आइरहेको देख्छु । लामो समयदेखि यहीँ बसिराख्नुपरेकाले घर जान मन पनि लाग्दो हो । तर, सामाजिक सञ्जाल चलाउने र आफन्तसँग कुरा गर्ने भएकाले पनि उहाँहरुलाई समय कटाउन गाह्रो हुन्न।

बिरामीहरुसँग कस्तो कुराकानी हुन्छ ?

(हाँस्दै) त्यस्तो कुरा केही हुन्न । उहाँहरुले केही स्वास्थ्यसम्बन्धी जिज्ञासा राख्नुहुन्छ । हामी बताइदिन्छौं । दुवै जना (संक्रमितहरु) शिक्षित र युवा उमेरकै भएकाले पनि हामीलाई बुझाउन सजिलो भएको छ । उहाँहरु आफै‌ं पनि अन्तर्राष्ट्रिय मिडियामा आएका आर्टिकल पढ्ने भएकाले हामीले धेरै कुरा भन्नुपर्दैन । उहाँहरुमा खासै डर देख्दिनँ ।

सायद हामी भाग्यमानी छौँ, उहाँहरुलाई कुनै समस्या देखिएको छैन ।

यो त बिरामीको मनोविज्ञानको कुरा भयो, यहाँ संक्रमितको उपचार खटिएका नर्सिङ स्टाफ, सफाइ कर्मचारी र तपाई‌ं आफूहरुको मनोविज्ञान चाहिँ कस्तो छ ?

सुरुमा हामी सबैलाई यो, के हो कस्तो हो भन्ने जिज्ञासा थियो । अहिले त २ महिना भयो, यही परिस्थितिमा काम गरेको । पहिला आइसोलेसन वार्ड थिएन । पछि बनायौं । बिरामी भर्ना गर्‍यौं, उपचार गर्‍यौं । योवीचमा धेरै बिरामी आइसोलेसनमा बसेर डिस्चार्च भए । अहिले यो त दैनिकीजस्तो भएको छ ।

यो २ महिनामा हामीले सिकेको सबैभन्दा राम्रो काम भनेको बिरामी देखेर आत्तिदैनौं । अहिले हाम्रो टिम नै बिरामी देखेर आत्तिँदैन । योवीचमा एक किसिमको डर हराएको छ । यो सकरात्मक पक्ष हो।

अहिले घरबाटै अस्पताल आउजाउ गरिरहनुभएको छ, आफ्नो परिवारको मनोविज्ञान चाही कस्तो पाउनुभएको छ ?

घरबाट निस्किँदा जोगिएर काम गर्नु भन्नुहुन्छ । पहिलेदेखि नै घरबाट बाहिर निस्कँदा राम्रोसँग काम गर्नु भन्ने त हामी नेपालीको चलन हो । अहिलेको अवस्थामा जोगिएर काम गर्नु भन्नुलाई पनि म स्वाभाविक नै लिन्छु । प्रायः सबै चिकित्सकको घरका परिवारले यस्तो भन्दा होलान् ।

घरका मानिसहरुलाई यसका बारेमा धेरै थाहा छैन । समाचार सुनेर सचेत गराउनुहुन्छ । खुशी लाग्छ ।

एउटा संक्रमित अस्पताल आइसकेपछि घर नजाँदासम्म के कस्तो उपचारको प्रकिया हुन्छ ?

महामारीका बेला उपचार प्रकिया र दायरा एउटै हुन्न । आज एउटा दायरा हुन्छ भने अर्को दायरा । तर, अहिलेको अवस्थामा बिरामी भर्ना भइसकेपछि हामी नियमित निगरानी गर्छौं । औषधि चलाउँछौ । दोस्रो टेस्ट गर्दा नेगेटिभ आयो भने मात्र डिस्चार्ज गर्छौं । अस्पताल भर्ना भएका अन्य बिरामीको उपचार प्रकिया जस्तै त हो । धेरै सङ्ख्यामा बिरामी भर्ना नहुञ्जेलको प्रकिया यही हो । बिरामीको पहिचान र आइसोलेसन नै उपचारको महत्वपूर्ण प्रकिया हो ।

तपाईंहरुले संक्रमितको उपचार गराउँदा के कस्तो सुरक्षा सतर्कता अपनाउनुभएको छ ?

सुरक्षा सामाग्री कुन बेला, कहाँ र कसरी प्रयोग गर्ने भन्ने कुरा महत्वपूर्ण हुन्छ । हामीले लगाएको सामान्य सर्जिकल मास्क पनि सुरक्षा सामाग्री हो । ग्लोब्स, जुत्ता पनि सुरक्षा सामाग्री हो । तर, ल्याबमा बस्दा कुन सामग्री लगाउने, आइसियूमा कुन सुरक्षा सामाग्री अपनाउने र ओपिडीमा कुन सुरक्षा सामाग्री अपनाउने भन्ने महत्वपूर्ण हुन्छ ।

तर, अहिले सामाजिक सञ्जाल हेर्‍यो भने त पिपिई नलगाउने मान्छे नै नभएको जस्तो हुन्छ । मानिसहरुले पिपिई लगाएर ‘स्टण्ट’ गरिरहेका छन् । त्यसले गर्दा पछि ‘सर्टेज’ होला कि भन्ने चिन्ता छ ।

हामीले विश्व स्वास्थ्य संगठनले बनाएको गाइडलाइन अनुसार सुरक्षा सामाग्री लगाएका छौं ।

केही ठाउँमा कोरोना विशेष अस्पतालमा काम गर्ने चिकित्सकहरुलाई दुर्व्यहार भएका समाचारहरु आइरहेका छन्, तपाईंहरुले त्यस्तो दुर्व्वहार महसुश गर्नुभएको छ कि छैन ?

मैले व्याक्तिगत रुपमा त्यस्तो भोगेको छैन। कहिलेकाहीँ साथीहरुले जोक गर्दै ‘तेरो एरियातिर आउदिनँ’ भन्छन् । माया गरेर व्यक्तिगत जोक गर्न त पाइयो । तर, मैले व्यक्तिगत रुपमा भोगेको छैन भन्दैमा अरुले नि त्यस्तो भोगेनन् भन्न सक्दिनँ । पत्रपत्रिकामा पढेको कुरा सत्य हो भने म उनीहरुले ठीक गरे या बेठिक गरे भनेर भन्दिनँ । त्यो त उनीहरुले ख्याल गर्नुपर्ने कुरा हो ।

कोही मानिस डराउनु राम्रो हो । तर्सिनु राम्रो हो । तर, स्वास्थ्यकर्मीहरुलाई यो हदसम्मको भयो भनेर उहाँहरुलाई के गाली गर्नु ? थाहा नभएर पनि त्यसो गरेका हुन सक्छन् । उहाँहरुमा ज्ञान र चेतना नहुनमा उहाँहरुको दोष हो कि हाम्रो समाजको दोष हो ? मेरो ध्यान चाहिँ यतातिर जान्छ ।

हामीले उहाँहरुलाई चेतना दिन नसकेको हो कि ? हामीले नै राम्रोसँग बुझाउन नसकेको हो कि ? हाम्रै दोष हो कि ? हाम्रो समाजको शिक्षाको स्तर नै कमजोर छ भने उहाँहरुलाई के दोष दिनु ? समाजमा शिक्षाको स्तर राम्रो नहुनु भनेको त हाम्रो सिस्टम नराम्रो हुनु पनि हो नि । हाम्रो सिस्टम नराम्रो हुनुमा तिनीहरुको के दोष ?

अरु देशमा कोरोनाका बिरामीको उपचार गरेका चिकित्सकहरु राति निद्रामा बर्बराइरहेका छन् भन्ने समाचार आइरहेको छन् । यहाँका चिकित्सहरुलाई त त्यो किसिमको त्रास छैन नि ?

हरेक मानिसको क्षमता हुन्छ । कामको सीमा हुन्छ । काम गर्न मानिस कत्तिको तयार छ भन्ने कुरामा पनि भर पर्छ । यो रोग यतिछिटै यसरी आउँछ भन्ने कसैलाई थाहा थिएन । यो रोगविरुद्ध कसरी लड्ने, ज्ञान थिएन । उपचार गर्दै सिक्दै जाने हो ।

एकैपटक कहिले सोच्दै नसोचेको काम गर्नु परेपछि मानिसलाई मानसिक दबाव पर्छ । कहिल्यै भोग्न नपरेको परिस्थिति भोग्नु परेपछि मानसिक समस्या आउनु स्वाभाविक पनि हो ।

जसरी विदेशमा संक्रमित छन्, त्यति नेपालमा छैनन् । उनीहरुले भन्दा हामीले पूर्व तयारी गर्ने मौका पाएका छौं। कसरी काम गर्ने अपडेट भएका छौं । हामीलाई डर छैन भन्दा पनि हामीलाई तयारी गर्ने समय छ । हामी त्यो अवस्था नआउन दिन पनि सक्छौं ।

दक्षिण कोरिया र इटालीमा एकैपटक कोरोना संक्रमण फैलिएको थियो । तर, दक्षिण कोरियाले इटालीमा जस्तो फैलिन दिएन । त्यसमा देशका नागरिकको मुख्य भुमिका थियो । हामी नेपालीले पनि सामाजिक दुरी कायम राख्ने हो भने यो भन्दा बढी फैलन सक्दैन ।

एउटा चिकित्सकको नाताले भन्नुपर्दा हामीलाई कोरोनाको खतरा कति छ र पूर्वतयारीको कुन अवस्थामा छौं ?

विश्व स्वासथ्य संगठनले पहिले नै नेपाललाई उच्च जोखिममा राखेको कारणले गर्दा हामी कोरोनाको कति खतरामा छौं भनेर मैले भनिरहनु पर्दैन । अब तयारीको यो अवस्था, त्यो अवस्थामा छौं भनेर भन्ने कुनै आधार पनि छैन । केलाई आधार मानेर भन्ने ?

अहिले हामीसँग भएका अस्पताल र चिकित्सकहरु तयारी अवस्थामा छन् । महामारी फैलियो भने त यो अस्पताल जाने, त्यो नजाने भन्ने हुँदैन । जुन अस्पताल नजिक पर्छ, त्यो जानुपर्छ । अहिलेको अवस्थामा भने सरकारले तोकेको अस्पताल नै जाने हो ।

हामी मानसिक र भौतिक रुपमा तयार हुनुपर्छ । अस्पतालको बेड संङ्ख्या बढाउने, आइसीयू बढाउने र भेण्टिलेटरको संख्या बढाउनुपर्छ । सबै ठाउँमा मेडिकल इक्युप्मेन्ट अभाव भएकाले नेपालमा गाह्रो होला । यो सरकारको सामर्थ्यको कुरा हो । गर्नै सक्दैनौं भनेर पनि त कहीँ पुग्दैनौं । परस्थितिको सामना गर्न मानसिक रुपमा तयार हुनुपर्छ ।

परिस्थितिको सामना भनेको हेल्थ सेक्टरले मात्र गर्ने होइन, सबैले गर्ने हो । हामीले अहिले गर्ने भनेको महामारी नफैलियोस् भनेर सावधानी अपनाउने हो । सरकारले गरेको आग्रह मान्नेहरु भने धेरै हदसम्म हामी खतरामुक्त हुन्छौं ।

किनकि, यो रोग मान्छे खोज्दै बाहिर हिँड्ने होइन, मान्छे धेरै चहल-पहल भयो भने मान्छेले नै भेट्ने हो । त्यही भएर सबैभन्दा बढी सचेत हुनुपर्ने भनेको हामी नागरिक नै हो । देशमा महामारी फैलिने र नफैलिने भन्ने कुरा हामी जनतामा भर पर्छ । जनता जति बढी सचेत भयो, त्यति नै अरु सेक्टर सचेत र बलिया हुन्छन् ।

किनिक यो अवस्थामा अस्पताल, स्वास्थ्यकर्मी, आइसियू बेड र भेण्टिलेर बढ्दैन्। त्यसैले हामी सचेत हुनुको विकल्प छैन । महामारी फैलिएर अस्पतालमा बिरामी भरिभराउ भएको अवस्थामा हामी सचेत भएर केही हुँदैन । त्यसैले हामी सचेत हुने उपयुक्त बेला नै यही हो ।

हामी यतिबेला तयारीको कुन चरणमा छौं भनेर त भन्न सकिएला नि ?

तयारी भन्ने कुरा एकपक्षीय हुन्न । मैले अघि नै भनें नि, महामारी फैलियो भने त हामी धान्न सक्दैनौं । हाम्रो अस्पताल, स्वास्थ्यकर्मी र उपकरणको क्षमता हामी सबैले बुझेका छौं । अब रातारात कति गर्न सकिन्थ्यो, कति गरियो, अहिले त्यतातिर नजाउँ । महामारीको तयारीलाई प्रतिशतमा डिभाइड नगरौँ ।

महामारीको अवस्थामा नजानका लागि हामी जनता आफै सचेत हुनुको विकल्प नै छैन । आगामी हप्तासम्म घरमै बसौं । सतर्कता अपनाउँ । यति गर्दा गर्दै महामारी आइहाल्यो भने भागेर जाने ठाउँ छैन । हामीले आफ्नो क्षमताले भ्याएसम्म उपचार गर्छौं । बिरामीलाई सकेसम्म जोगाउने कोसिस गर्छौ‌ं  ।

कन्ट्याक ट्रेसिङको महत्व सरकार र समबन्धित पक्षले नबुझेको जस्तो लाग्दैन ?

कन्ट्याक ट्रेसिङ कुनै एक निकायले गरेर मात्र सम्भव हुन्न । यो एउटा घर, समाज र टोलबाट नै सुरु गर्नुपर्छ । यो समयमा अरुको मुख ताकेर बसियो भने हामी आफैं जोखिममा पर्छौ । आफ्नो टोलमा कोही नयाँ मानिस आए भने खबर गर्ने हो भने मात्रै पनि सरकारलाई सम्भावित संक्रमित खोज्न सजिलो हुन्छ ।

विदेशबाट आएका धेरै मानिस लुकेका समाचारहरु आइरहेका छन् । लुक्नु राम्रो हो, तर, कहिलेकाही लुक्दालुक्दै त्यही बिरामीले घर परिवारकालाई नै सारिसकेपछि थाहा हुन्छ । त्यो परिवारले फेरि अरुलाई सार्न सक्छ । त्यही भएर थाहा नदिएर होइन, यस्तोबेला थाहा दिएर नै लुक्नुपर्छ । महामारी नियन्त्रणमा कन्ट्याक ट्रेसिङजस्तो महत्वपूर्ण उपाय अरु हुन्न ।अझै पनि समय छ, तपाईंहरु विदेशबाट आएर लुकिरहनुभएको छ भने नजिकको स्वास्थ्य संथामा जानुस् । आवश्यकता भन्दा बढी बाहिर नहिँड्नुस्

अरु अस्पतालमा कोरोना उपचारमा खटिन तयार भएका चिकित्सकहरुलाई तपाईं के सुझाव दिन चाहनुहुन्छ ?

अहिलेको अवस्थामा अरुभन्दा हामी अनुभवी हो । तर, प्रविधिको कारणले हामीले थाहा पाएका कुरा उहाँहरुले पनि थाहा पाउन सक्नुहुन्छ । सूचना थाहा पाउनु र अनुभव फरक कुरा हुन । हाम्रो अनुभव सुनेपछि उहाँहरु अलि ढुक्क हुनुहुन्छ । हामीसँग प्रायः सबै जिल्लाका चिकित्सकहरु सम्पर्कमा हुनुहुन्छ । उहाँहरुलाई हामीले बिरामी भर्ना भएदेखि डिस्चार्ज गर्दासम्म कसरी उपचार गर्ने, काउन्सिलिङको कुरा र आफ्नो सुरक्षाका बारेमा बताउँछौं  । के कमजोरी नगर्ने भनेर सुनाउँछौं । के गर्दा राम्रो रिजल्ट आउँछ भनेर सिकाउँछौं ।

पहिलो केस बाग्लुङमा आउँदा धेरै गाह्रो भएको थियो । तर, दोस्रो केस उहाँहरुलाई सजिलो भयो । विस्तारै अन्य ठाउँका चिकित्सकहरु पनि बानी पर्दै जान्छन् । सिक्दै जाने हो । सिकाइले तयारीमा सहयोग पुर्‍याउँछ ।

काठमाडौं बाहिरका चिकित्सकहरुसँग पनि सम्पर्कमा छु भन्नुभयो, पर्याप्त तयारी र उपकरणको अभाव भोगिरहेका ती चिकित्सकहरुको मनोविज्ञान कस्तो पाउनुभएको छ ?

विस्तारै सबै तयार हुनुहुन्छ । पहिला यो काठमाण्डौ टेकु अस्पतालको मात्रै काम हो भन्ने बुझाइ थियो। तर, अहिले त्यो भावना हराउदै गएको छ। अहिले हामीले पनि गर्नुपर्छ, सक्छौं भन्ने फिल भएको छ उहाँहरुलाई ।

हो, उहाँहरुलाई पूर्वाधार, पिपिई चाहिन्छ । सुरक्षित हुन र मनोबल बढाउन उहाँहरुलाई सरकारले पिपिई उपलब्ध गराउनैपर्छ । ‘कोरोनाबाट संक्रमित बिरामी हेर्न जा, पिपिई भए लगा, नभए नलगाई जा’ भन्न सरकारले पाउँदैन ।

सरकारले आफ्नो जिम्मेवारी पूरा गर्‍यो भने चिकित्सकले आफ्नो जिम्मेवारी पूरा गर्छन्। पीपीई भयो भने कुनै पनि स्वास्थ्य संस्थाबाट कोरोनाका बिरामी रिफर गर्नु पर्दैन । सबैले आफ्नो जिम्मेवारी पूरा गर्नैपर्छ । हामी हाम्रो जिम्मेवारी पूरा गर्छौं  ।

कतिपय चिकित्सकले त महामारी फैलियो भने चिकित्सकको भागाभाग हुन्छ भनिरहेका छन् नि ?

यो स्वाभाविक हो । यो भन्दा पहिले स्वाइन फ्लु आउँदा यस्तै भएको थियो । एचआइभीका बेला पनि यस्तै कुरा उठेको थियो । त्यस्तो नहोस् भनेरै त हो नि हामीले पीपीईको कुरा उठाएको । इटालीको जस्तो अवस्था आयो र सुरक्षा सामाग्री भएन भने कसले आफ्नो जीवन जोखिम मोल्छ ? सुरक्षा सामाग्री नदिइकन सरकारले पनि जबर्जस्ती बिरामी हेर्नैपर्छ भन्छजस्तो लाग्दैन ।

अन्तिममा, केही भन्नैपर्ने कुराहरु छन् कि ?

म यत्ति भन्छु, अझै पनि समय छ, तपाईंहरु विदेशबाट आएर लुकिरहनुभएको छ भने नजिकको स्वास्थ्य संथामा जानुस् । आवश्यकता भन्दा बढी बाहिर नहिँड्नुस् । हात धुनुस् । सामाजिक दुरी कायम गर्नुस् । सरकारले गरेको आग्रहलाई मान्नुस् ।

किनकि, हामीले यही अवस्थामा रोक्न सक्यौ‌ं भने बाँच्न सक्छौं । तर, हामीले लापरबाही गर्‍यौं भने पछि के हुन्छ, भन्न सकिन्न ।

साभार : अनलाइनखबर अनलाइन