१९ मंसिर २०७८, आइतवार
(नेपाली समय)
१९ मंसिर २०७८, आइतवार
नेपाली समय

डीडीसीले नकिनेपछि गेटमै पोखियो दूध

नेपालगन्ज : डीडीसीले दूध नकिनेपछि बाँकेका एकजना किसानले गेटमै दूध पोखाइ दिएका छन् । नियमितरुपमा दूध खरिद गर्ने डीडीसीले किन छिटो ल्याएको भन्दै दूध खरिद नगरेपछि कोहलपुर ८ पिपरीको प्रकृति गाईपालन केन्द्रका किसान विष्णु पोखरेलले मंगलबार साँझ डीडीसीको गेटमै ४० लिटर दूध पोखेका हुन् ।

‘मलाई ७ बजेतिर आउन भनिएको थियो । म ६ बजे नै दूध लिएर गएँ । एक्‍कासी दूध खरिद गर्न मिल्दैन भनेर गेटभित्र पस्न दिएनन् । मेरो घरमा दूध चिस्यान गर्ने व्यवस्था नहुँदा विरोधमा दूध पोखेको हुँ,’ पोखरेलले दुःखेसो पोखे, ‘अरुको दूध लिएर मेरो दूध मात्र लिएनन् । नियमित दिने ठाउँमा किन यस्तो व्यवहार भयो ? निकै दुःख लागेको छ ।’

पोखरेलले डीडीसीलाई प्रति लिटर ३८ देखि ४० रुपैयाँमा दूध बिक्री गर्थे । डीडीसीको नेपालगन्ज दुग्ध वितरण आयोजनाका प्रमुख योगेन्द्र साहले पनि ढिलो ल्याएमा पोखरेलको दूध खरिद गर्ने बताएको स्वीकारे । उनले भने, ‘उहाँको फार्मको दूध हो भनेर मैले बन्दको बेलामा पनि लिने गरेको थिए । अरुले नदेख्ने गरी ल्याउनुस् । लिन्छु भनेकै छु तर अरुको दूध नलिएर उज्यालोमै उहाँको दूध मात्र लिँदा मलाई अरु मान्छेले घेर्दैन ?’
 
प्रमुख साहले दूध पोखिएको बारे संवाददातासँग समाचार नलेख्न आग्रह गर्दै अरुको दूध नलिएर भए पनि पोखरेलको दूध किनिदिने आश्वासन दिएका थिए । ‘भोलिदेखि तपाईको दूध मैले मिलाइदिन्छु, हाकिम साबले भन्नुभएको छ, भनिदिनुस् । कुन टाइममा लाँदा सजिलो हुन्छ । उहाँले पनि बचेर काम गर्नुपर्छ, उनले भनें, ‘मिलाएर भनिदिनु न । तर समाचार भने नबनाइदिनु होला । मेरो अनुरोध त्यही हो ।’

उनले मंगलबार र बुधबारको दूध संकलन नगरेको पनि दाबी गरे । डीडीसीले बाँके, बर्दिया, दाङ र सुर्खेतमा गरी दैनिक १२ हजार लिटर दूध संकलन गर्ने गरेको थियो । लकडाउनका बेलामा भने ६ हजार लिटर मात्र संकलन गरिरहेको जनाएको छ । 

साभार : अन्नपूर्ण पोष्ट अनलाइन