भक्तपुर : भक्तपुर प्रहरीले ड्रोनमार्फत कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा व्यवस्थापन गर्न सरकारले घोषणा गरेको लकडाउनको निगरानी सुरु गरेको छ। प्रहरीले दुइटा ड्रोनमार्फत भक्तपुरमा लकडाउन उल्लंघन भए नभएको निगरानी सुरु गरेको हो।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सविन प्रधानले एकै ठाउँबाट सर्वसाधारणले लकडाउन उल्लंघन गरे नगरेको थाहा पाउन ड्रोनको प्रयोग गरिएको बताए। ड्रोनले सर्वसाधारणको चहलपहल बढेको देखिएपछि उक्त ठाउँमा प्रहरी परिचालन हुने उनको भनाइ थियो। ‘अहिले सबै ठाउँमा प्रहरी पुग्न सकिँदैन’, प्रहरी उपरीक्षक प्रधानले भने, ‘त्यसैले प्रहरीको उपस्थिति नभएको ठाउँमा ड्रोनको माध्यमबाट निगरानी गर्छौं।’ ड्रोनमार्फत निगरानी बढाइएपछि लकडाउन पालना प्रभावकारी हुन थालेको उनको भनाइ थियो। उनले लकडाउन अवधिभर आवश्यकताअनुसार ड्रोनमार्फत निगरानी भइरहेको जानकारी दिए।
भक्तपुरमा लकडाउनको पूर्ण पालना नभएको जनगुनासो बढेको छ। विशेषतः बिहान र बेलुकाको समयमा भक्तपुरका मुख्यमुख्य सडक, चोक र बजारमा सर्वसाधारणको बाक्लो उपस्थिति हुँदै आएको छ। त्यसमाथि खाद्यान्न तथा तरकारीलगायत किन्ने समयमा सार्वजनिक ठाउँमा सर्वसाधारणको बढी भीड लाग्ने गरेको छ। प्रहरी तथा स्थानीय तहले सामाजिक दूरीलाई ख्याल गर्न भने पनि त्यसको पालना कमैमात्रै भएको छ।
त्यस्तै विशेषतः भक्तपुर तथा मध्यपुर थिमि नगरका गल्ली गल्ली तथा भित्री चोकहरुमा सर्वसाधारण घरभित्र नबसी बाहिरै बसेका पाइएपछि त्यसलाई नियन्त्रण गर्न ड्रोनको प्रयोग गरिएको प्रहरी उपरीक्षक प्रधान बताउँछन्।
नियन्त्रणमा लिएकालाई अभिमुखीकरण
‘लकडाउनको समयमा अनावश्यक रुपमा घरबाहिर बसेको ड्रोनबाट देखिएपछि उक्त ठाउँमा प्रहरी गएर उनीहरुलाई नियन्त्रणमा लिन्छ’, प्रधान थप्छन्, ‘यसरी नियन्त्रणमा लिएकालाई कोरोना भाइरस र लकडाउनसम्बन्धी जनचेतनामूलक अभिमुखीकरण कक्षा लिन्छौं।’
भक्तपुर प्रहरीले ड्रोनबाट निगरानीसँगै लकडाउन तोड्नेलाई नियन्त्रणमा लिन ‘मेन क्याचर’ उपकरण प्रयोगसमेत सुरु गरेको छ। अहिलेलाई भक्तपुर नगर क्षेत्रमा उक्त उपकरण प्रयोगमा ल्याइएको हो।
सोमबारसम्म सातसय ३१ जनालाई लकडाउन उल्लंघन गरिएको भन्दै नियन्त्रणमा लिएर कारबाही गरिएको छ। जिल्ला प्रशासन कार्यालय भक्तपुरका अनुसार लकडाउन पालना नगर्ने एकसय ३५ वटा सवारीसाधनसमेत नियन्त्रणमा लिएर आवश्यक कारबाही गरिएको छ।
साभार : अन्नपूर्ण पोष्ट अनलाइन