७ कार्तिक २०७८, आइतवार
(नेपाली समय)
७ कार्तिक २०७८, आइतवार
नेपाली समय

तिमी फुल्यौ कतै, म फुलेँ कतै

काठमाडौं : गायक तथा संगीत साधक सौगात सायरको जीवन सामान्य तवरमै चलेको थियो त्यो बेला। रक्तिम परिवारमा आबद्ध भएर गीत गाउनु, लुकीलुकी गाउँठाउँमा सांगीतिक कार्यक्रम गर्दै हिँड्नु, जनताका पक्षमा तमाम गीत लेख्नमा सीमित थिए उनी। केही प्रगतिशील गीत रेकर्ड थिए त केही प्रत्यक्ष गाउँदै हिँड्थे। उनलाई चर्चा पनि चाहिएको थिएन, पैसा कमाउनु पनि थिएन, बस गाउन पाए पुग्थ्यो।

सौगात इतिहासका गीत गाउनुमा आनन्द मान्छन्। शोषणमा परेका गरिब दुःखी, अल्पसंख्यकको पक्षमा निरन्तर गीत गाइरहेका छन्। उनी गीतबाटै किसानलाई अगाडि बढ्न आग्रह गर्दैछन्।

उनको गायनको सुरुआत नै गरिब दुःखी किसानका गीतबाट भएको थियो। रक्तिम परिवारमै उनले एक दशकभन्दा बढी समय बिताए। परिवारसँगै कोलकातामा बाल्यकाल बिताएका सौगात २०४६ सालमा नेपाल फर्किएका थिए। जनआन्दोलनको समय थियो। उनी सानै थिए तैपनि काका, बडाबा, दाजुको पछि लागेर सांस्कृतिक आन्दोलनमा लागे। यसपछि करिब एक दशक रक्तिम परिवारमा गीत गाए।

सौगात तिमी फुल्यौ कतै, म फुलेँ कतै’ बोलको चर्चित गीतका गायक हुन्। यसका साथै उनले स्वर दिएको नजलाएँ व्यर्थ छाती, इतिहासको कुनै पानामा, मानिसको जिन्दगानी कर्कलाको पानीलगायतका गीतले पनि उनलाई नेपाली सुगम संगीतमा बेग्लै स्थान दिलायो। यसका साथै उनी लुम्बिनी कला केन्द्र बुटवलका सञ्चालक हुन्। उनी कला केन्द्रमा संगीत सिकाउँछन्। साधना गर्छन्। साधक जन्माउँछन्।

रक्तिम परिवारमा जोडिएर प्रगतिशील गीत गाउँदै आएका सौगात सुगम संगीतका वियोगान्त गीतमा जोडिनु एउटा संयोग ठान्छन्। गीत गाउने रहर सानैदेखिको हो उनको। कोलकातामा बुवाको राम्रो जागिर थियो। परिवार सबै उतै थिए। तर उनी अलि बुझ्ने भएपछि नेपाल फर्किए। रक्तिम परिवारमा भएकै बेला हो उनले एक युवतीलाई अत्यन्तै मन पराए। प्रेम फस्टाउन र फुल्न लामो समय लाग्यो। करिब ६ वर्षसम्मको सम्बन्धले वैधता पाउन भने सकेन।

सम्बन्धमा संवेदनशील रहेका सौगातलाई प्रेममा पाएको धोकाले निकै आघात पुर्‍यायो। उनी उठ्नै नसक्ने गरी थलिए। निकै बिरामी परे। हजारांै गीत लेखे, कविता कोरे, गजल कोरे। कति गीतको धुन बिर्सन्छ कि भनेर क्यासेटमा अडियो रेकर्ड गरे। एक वर्षसम्म त उनले आफूलाई बिर्सिए। एक दिन सहन नसकेर कोठामा सुसाइड गर्न लागेका थिए। एक्कासि उनकी आमाले देखिन्। त्यसपछि आमा छोराको रुवावासी सुरु भो। आमाले रुँदै सम्झाइन्। केही गरेर देखाउन हौसला दिइन्। अनि मात्रै सम्हालिएका हुन् सौगात।

उनले त्यही रात नै लेखेका हुन् तिमी फुल्यौ कतै बोलको गीत। जब यो गीत बजारमा आयो अनि मात्रै सौगातले आफूलाई चिने। निरन्तर यो गीत चार पाँच वर्षसम्म बेस्ट सेलर भएर चल्यो। सुगम संगीत केही पछाडि परेको त्यो समयमा यो गीतले एकाएक नौलो आशा जगायो। प्रेम गर्ने हर व्यक्तिको वास्तविकता बोलिदियो गीतले। हरेक युवा मनलाई छोयो। सौगात जहाँ जान्छन् आज उनले यो गीत नगाई धरै पाउँदैनन्।

परिवर्तनका लागि गीत गाउने सौगात एकाएक लभसङका लागि प्रशंसा कमाए। अहिले पनि उनी निरन्तर गायन कर्ममै छन्। धेरै गीत लेख्छन्। कति उनले स्वर दिएका छन् कतिमा आफ्ना विद्यार्थीले आवाज दिएका छन् उनी यसमै सन्तृष्ट छन्।

लकडाउनको समयमा पनि उनी सक्रिय छन्। घरभित्रै रियाज गरिरहन्छन्। अहिले राष्ट्रिय भावनाले ओतप्रोत भएका गीत लेखिरहेका छन्। केही गीत युट्युबबाट लन्च पनि गरिसके।

साभार: अन्नपूर्णपोष्ट अनलाइन