काठमाडौं : बुधबार थप तीन जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा भएको स्वाब परीक्षणका क्रममा उनीहरुको रिपोर्ट पोजिटिभ आएको हो।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार कुल संक्रमितको संख्या ५७ पुगेको छ। बुधबार पर्साका ४६ वर्षीय पुरुष र बाराका ४३ र ३१ वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको हो। प्रवक्ता देवकोटाका अनुसार उनीहरु तिनैजना वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत कोरोना संक्रमितसँगै दिल्लीबाट फर्किएका थिए।
संक्रमितमध्ये १६ जना भने निको भएर घर फर्किसकेका छन्। अन्य ४१ जनाको विभिन्न अस्पतालमा उपचार भइराखेको छ। जसमध्ये सबैभन्दा धेरै विराटनगरको कोशी अस्पतालमा ३१ जनाको उपचार भइराखेको छ।
प्रवक्ता देवकोटाका अनुसार कोशी अस्पतालमा ३१, वीरगन्जमा ८, धनगढी र भरतपुरमा एकएक गरेर ४१ जनाको उपचार भइराखेको छ।
पछिल्लो २४ घण्टामा दुई हजार ३ सय ६७ नमुना परीक्षण भइरहेको छ। मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट ११ हजार पाँच सय २४ रआरडीटी ४५ हजार ६ सय ४५ नमुना परीक्षण भएका छन्।
देशभर आइसोलेसनमा ८७ जनाको उपचार भइरहेको छ। जसमध्ये उपत्यकामा चार र बाहिर ८३ बिरामी रहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हालसम्म क्वारेन्टाइनमा २२ हजार ९ सय १ जना रहेका छन् ।
साभार : अन्नपूर्ण पोष्ट अनलाइन