२१ असार २०७९, मंगलवार
(नेपाली समय)
२१ असार २०७९, मंगलवार
नेपाली समय

दुईहजार पाँच सय मिटरमा फेला पर्‍यो बाघ

टीका बन्धन 

काठमाडौं : नेपालमा पहिलो पटक २ हजार ५ सय मिटरको उचाईमा बाघ फेला परेको छ। डडेलधुराको महाभारत क्षेत्रमा राखिएको क्यामेरामा वयस्क पाटे बाघ कैद भएको हो।

डडेलधुरा सदरमुकाम भन्दा पश्चिम र महाकाली नदी भन्दा पूर्व तर्फको महाभारत रेन्जको भागेश्वर करिडोरमा बाघको तस्वीर कैद भएको डिभिजन वन कार्यालय डडेलधुराका वन अधिकृत विष्णुप्रसाद आचार्यले बताए । ‘तराई र उष्णप्रदेशीय हावापानीमा मात्र पाइने पाटे बाघ यो उचाईमा पाइएको नेपालको इतिहासमा पहिलो हो, यसले संरक्षणकर्मीलाई अझ उत्साह थपेको छ, उनले भने।

सो बाघ भाले वा पोथी भनेर पहिचान भइनसकेको र क्यामेरा ट्यापिङमा परेका अन्य ३० भन्दा बढी जिवजन्तुबारे विस्तृत विश्लेषण गर्न बाँकी रहेको आचार्यले बताए । विश्व वन्यजन्तु कोष नेपालको आर्थिक एवं प्राबिधिक सहयोग र डिभिजन वन कार्यालय डडेल्धुराको पहलमा गत ६ मार्चदेखि ६ अप्रिलसम्म डडेलधुराको महाभारत वन क्षेत्रमा ३२ जोडी क्यामेरा जडान गरिएको थियो । 

बाघ र अन्य जिवजन्तुको अध्ययन फराकिलो बनाउन सो क्षेत्रमा क्यामेरा जडान गरिएको थियो । डडेलधुरामा फेला परेको बाघ शिकार र जोडी खोज्ने क्रममा कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज वा भारतको उत्तराखण्डको नन्दुर वन्यजन्तु आरक्षबाट आएको हुन सक्ने विज्ञहरुको प्रारम्भिक अनुमान छ ।

डडेलुधराको सो उचाईमा रातो फ्याउरो लगायत अन्य जन्तु पनि क्यामेरा ट्यापिङमामा कैद भएका छन्। सामान्यता सो प्रजातीको फ्याउरो ३ हजार मिटर उचार्ई भन्दा माथिल्लो भेगमा मात्रै अभिलेख भएको छ । नेपाल सहित विभिन्न १३ मुलुकका प्राकृतिक बासस्थानमा बाघ फेला परेका छन्। भुटानमा ३ हजार मिटर भन्दा माथिको उचाईमा पनि यो जन्तु फेला परिसकेको छ। 

दुई वर्षअघिको गणना अनुसार नेपालका प्राकृतिक बासस्थानमा २ सय ३५ वयस्क बाघ फेला परेका थिए । सो गणनामा चितवनमा सबैभन्दा धेरै ९३, बर्दियामा ८७, बाँकेमा २१, पर्सामा १८ र शुक्लाफाँटामा १६ वटा वयस्क बाघ फेला परेका थिए । त्यसअघि सन् २०१३को गणनामा १ सय ९८ बाघ भेटिएका थिए ।

साभार : अन्नपूर्ण पोष्ट अनलाइन