६ असोज २०८०, शनिवार
(नेपाली समय)
६ असोज २०८०, शनिवार
नेपाली समय

देशभर ९ हजार क्वारेन्टाइनमा : १७ सय ९६ को कोरोना परीक्षण

काठमाडौं : विभिन्न देशबाट नेपाल प्रवेश गरेका र कोरोना आशंकामा ९ हजार बढी क्वारेन्टाइनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) आशंकामा अहिलेसम्म देशभर ९ हजार २ सय २८ जना क्वारेन्टाइनमा राखिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए। 

देवकोटाका अनुसार अहिले काठमाडौं उपत्यकामा १६ जना र बाहिर ८४ जना गरेर एक सय जना आइसोलेसनमा छन्। अहिलेसम्म नेपालमा ९ जनामा कोरोना संक्रमण देखिएको छ। जसमध्ये एकजना निको भएका छन्। 

अहिले काठमाडौं बाहिरका ९ ठाउँमा कोरोना परीक्षण सुरु भएको छ। सरकारले कोरोना संक्रमण बढी देखिएको कञ्चनपुर र कैलालीमा परीक्षणको दायरसमेत बढाएको छ। 

‘कोरोना परीक्षणको दायर बढाउने क्रममा कञ्चनपुर र कैलालीमा र्यापिड किट र स्वाबको नमुना संकलनको काम भइरहेको छ’, प्रवक्ता देवकोटाले भने, ‘अहिलेसम्म आज कञ्चनपुरमा २१ र कैलालीमा १८ जनाको नमुना संकलन भएको छ। ’ 

त्यसैगरी जुम्ला र अछाममा पनि स्वाबको नमुना संकलन सुरु भएको छ। प्रवक्ता देवकोटाले ४ सय ५० बढी नमुना संकलनको लक्ष्य लिएको जानकारी दिए। अहिले हरेक जिल्लाका चारचार ठाउँबाट नमुना संकलन भइरहेका छन्। 

कोरोना परीक्षणमा दुई रणनीति 
स्वास्थ्य मन्त्रालयले कोरोना नियन्त्रणका लागि दुई रणनीतिसहित काम सुरु गरेको प्रवक्ता देवकोटाले जानकारी दिए। सरकारले पहिलो रणनीतिको रुपमा परीक्षण बढाउने काम सुरु गरेको छ। 

अर्को रणनीति भने क्वारेन्टाइनमा निरन्तर राख्ने रहेको प्रवक्ता देवकोटाले बताए। ‘पहिलो रणनीति भनेको परीक्षणको संख्या बढाउने हो। त्यसका लागि हामी नमुना संकलन गरिराखेका छौँ’, डा. देवकोटाले भने, ‘अर्को रणनीति भनेको क्वारेन्टाइनमा बस्नु कति अनिवार्य छ भन्ने कुरा बुझ्नु हो। सबैले नियम पालना गरेर क्वारेन्टाइनमा बस्नुहुनेछ भन्ने हाम्रो विश्वास छ।’  

साभार : अन्नपूर्ण पोष्ट अनलाइन

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds