आकाश राजभण्डारी
सोमवार, २१
नागरिकता विधेयक समबन्धि सर्वोच्च अदालतले अल्पकालीन आदेश जारी गरेको विरोधमा सोमबार वीरगञ्जमा प्रदर्शन गरेका छन् । सर्वोच्चको अल्पकालीन आदेशले जन्मसिद्ध नागरिकका सन्तानहरु थप पिडामा परेको भन्दै उनिहरुले प्रदर्शन गरेका हुन् । नागरिकता विहिन सङ्घर्ष समितिको अगुवाइमा उनिहरुले प्रदर्शन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको फोटोसमेत जलाएका छन् । घण्टाघर चोकमा जम्मा भइ नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर केही बेर धर्ना दिएका उनिहरुले पुनः घण्टाघरमा पुगेरे सडकमै बसेर धर्नासमेत दिएका थिए ।
राष्ट्रपतिबाट प्रमाणीकरण भई राजपत्रमा प्रकाशन भईसकको नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले दिएको आदेश पूर्वाग्राही भएको प्रदर्शनको नेतृत्व गरेका नागरिकता विहिन संघर्ष समितिका अध्यक्ष विवेक रौनियारले बताए । उनले सर्वोच्चको कदमलाई समर्थन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मधेश विरोधी भएको आरोपपनि लगाए ।
प्रदर्शनमा सहभागी सङ्घर्ष समितिका उपाध्यक्ष धिरज साहले रास्वपाका अध्यक्ष रवि लामिछाने र एमाले अध्यक्ष केपी ओेली मधेस विरोधी रहेको आरोप लगाए । सर्वोच्चले आफ्नो पूर्वाग्राही फैसला तत्काल नसच्याए नागरिकता विहिन लाखौं युवायुवतीहरु अब आत्मदाहको स्थितिमा पुग्न बाध्य हुने चेतावनीसमेत उनले दिए । सर्वोच्च अदालतले नागरिकता विधेयक कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेकाले नयाँ नागरिकता ऐन अनुसार सोमबारदेखि हुने भनिएको नागरिकता वितरण कार्य जिल्ला प्रशासन कार्यालय पर्साले रोकेको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साले आइतबार एक सूचना जारी गर्दै नयाँ नागरिकता ऐनअनुसार सोमबारदेखि नागरिकता वितरण सुरु हुने जनाएको थियो । तर, आइतबार नै सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले कारण देखाउ आदेश जारी गर्दै नागरिकता ऐन कार्यन्वयन नगर्न आदेश दिएकोले जिल्ला प्रशासन कार्यालय पर्साबाट सोमबारदेखि हुने भनिएको नयाँ नागरिकता ऐनअनुसार नागरिकता वितरण कार्य रोकिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिए ।
उनले नयाँ नागरिकता ऐन तत्कालका लागि कार्यान्वयन नगर्न सर्वोच्च अदालतबाट अन्तरिम आदेश आएको भन्दै अर्को सुचना जारी नभएसम्मका लागि नयाँ नागरिकतादऐन अनुसार नागरिकता वितरण कार्य रोकिएको बताए ।