१७ असार २०७९, शुक्रवार
(नेपाली समय)
१७ असार २०७९, शुक्रवार
नेपाली समय

निर्वाचनको मुखमा भारततिर

महेन्द्रनगर : निधारमा रातो टीका, पिठ्युमा झोला र साथमा तीन नाबालक छोरा÷/छोरीसहित बुधबार वेदकोट नगरपालिका–३ का बलदेन विक गड्डाचौकी नाकामा भेटिए। उनी आठ वर्षदेखि भारतको राजधानी दिल्लीस्थित कम्पनीमा मजदुरका रूपमा कार्यरत छन्।

विकले यसपटक भने दुई नाबालिका छोरी र एक छोरालाई पनि आफूसितै राख्ने र सके पढाइ गराउने योजनाका साथ दिल्ली हिँडेको सुनाए। ‘श्रीमती भारतमै छिन्, म यहाँ छोराछोरी लिएर उतै मजदुरी गरेर जीविका चलाउने योजनाले दिल्ली जान हिँडेको हुँ’, विकले भने, ‘आफू जन्मिएको माटो छोडेर अरूकोमा काम गर्न जानु बाध्यता हो।’ स्थानीय तहको निर्वाचनले मुलुक चुनावी माहोलमा तातेका बेला बढ्दो गर्मीलाई बेवास्ता गर्न बाध्य छन्। उक्त पीडामा बलदेन जस्तै दैनिक सयौं नागरिक यतिबेला गड्डाचौकी नाकाबाट रोजगारीका लागि भारत पस्दै छन्।

‘चुनावी माहोल गाउँघरमा ताते पनि यहाँ पसेर पेट कसरी पाल्नु ?’, भावुक हुँदै विकले भने, ‘निर्वाचनमा घरमा बुढाआमा÷बुवा छन्। उहाँहरू भोट हाल्नुहुन्छ।’ कञ्चनपुरको गड्डाचौकी नाकाबाट सुदूरपश्चिम प्रदेशका मात्रै नभई अन्यत्र क्षेत्रका नागरिक पनि रोजगारीका लागि भारतका विभिन्न ठाउँमा दिनहुँ गइरहेका छन्। गड्डाचौकीबाट भारतको सिमला गइरहेका रोल्पा कुवाखोलाका ७० वर्षीय सितलाल पुन स्याउबारीमा काम गर्न आफू भारत जान लागेको बताए।

‘चुनाव भए पनि आफ्नो अवस्था र नियतिले जीवनभर मजदुरी गरेरै यतिका वर्ष बिताएँ’, पुनले भने, ‘मुलुकमा जस्तोसुकै परिर्वतन आए पनि गरिबका दिनमा सुख कहिल्यै आएन।’ उनले आफू चार दशकदेखि भारत रोजगारीका लागि जान थालेको बताए। उनले भने, ‘विपन्न समुदायलाई अझै भोट माग्ने बेला मात्रै आश्वासन दिने त होलान् नि।’ गत वर्ष कोरोना कहरमा भारतमा रोजगारी छाडेर घर फर्किएका रोल्पाका २६ वर्षीय धमेन्द्र पुनले पनि निर्वाचनबारे थाहा पाए। तर पनि बाध्यताले छाडेर जानु परेको उनले बताए।

‘चुनावसम्म बसौं उता जागिर नै गुम्ने खतरा भयो’, उनले भने, ‘गाउँमा युवाको भावना बुझ्ने र रोजगारी सिर्जना गर्नसक्ने उम्मेदवारले जितुन्। हामी परदेशीको यही कामना छ।’ त्यसैगरी कञ्चनपुरको बेल्डाडीका २८ वर्षीय दीपेन्द्र थापा पनि रोजगारीको सिलििलामा बुधबार दक्षिण भारतको यात्रामा निस्कँदा गड्डाचौकीमै भेटिए। ‘दक्षिण भारतको तामिलाडु नोकरी गर्न थालेको ६ वर्ष भयो’, उनले भने, ‘दुई महिनाअघि बिदामा आएको थिएँ, फेरि जान लागें।’ उनले घर बिदामा बस्दा स्थानीय पालिकामा जनप्रतिनिधिले गाउँमा देखिने गरी विकास गरेको नपाएको बताउनुभयो।

‘चुनावका बेला मात्रै घरदैलोमा गफ दिने नेताको कामै छैन’, थापाले भने, ‘द्वन्द्वकालमा डरले बाहिरियौं। अहिले बाध्यताले घर छाड्नुपरेको छ।’ गड्डाचौकी नाकाबाट दक्षिण भारत, दिल्ली, सिमला, मुम्बै, देहरादुन लगायत क्षेत्रमा रोजगारीका लागि जाने बढी संख्यामा ओहोरदोहोर गरिरहेका हुन्छन्। पछिल्ला वर्षमा भारतको दिल्लीसम्म महेन्द्रनगरबाट नेपाली  बस पनि सञ्चालनमा आएपछि यात्रुलाई सहज भएको छ। 

यसैगरी, यहाँको बेदकोट नगरपालिका–६ मुसेपानीका २८ वर्षीय मिलनसिंह घटाल पनि निधारमा सेतो अक्षताले घरबाट भारतका लागि हिँड्दै गर्दा सिमानामा भेटिए। ‘देहरादुनमा काम गर्न थालेको १० वर्ष भयो। पछिल्ला वर्षमा स्काभेटर चालकका रूपमा कार्यरत छु’, घटालले भने, ‘हामी विदेशिनेलाई चुनावको रौनकतामा रमाउनुको अर्थ नै छैन।’

इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी नायब निरीक्षक बहादुर सिंह धामीले दैनिक दुई सयदेखि तीन सयसम्म नेपाली यहाँबाट रोजगारीका लागि भारत गइरहेको जानकारी दिए। – रासस

साभार :अन्नपुर्णपोष्ट अनलाइन