२ जेठ २०७९, सोमवार
(नेपाली समय)
२ जेठ २०७९, सोमवार
नेपाली समय

नेकपामा कसले नुहायो चिसोपानीले ?

चुकेका केपी ओलीलाई अन्तिम मौका

‘चिसोपानीले नुहाउने’ बिम्ब आजभोलि नेपाली राजनीतिमा खुब प्रचलित छ। पार्टीको कुनै नेता वा गुटले सम्पूर्ण शक्ति लगाएर गरेको विपक्षीलाई दपेट्न गरेको प्रयास खेर गएपछि ‘बहादुरीकासाथ पछि हट्नु’लाई चिसोपानीले नुहाएको संज्ञा दिने गरिन्छ ।

हिजो नेपाल कम्युनिस्ट पार्टीको विवाद साम्य भएपछि प्रचण्ड-माधव गुट यही स्थितिमा पुगेको छ। केपी शर्मा ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट बर्खास्त गर्ने गरी थालिएको खेलकुद नेताहरूको सामूहिक आत्मालोचनामा पुगेर टुंगियो ।

ओलीका दुवै पद सुरक्षित रहे भने प्रचण्ड-माधव गुटबाट बामदेव गौतमलाई चोरेर सचिवालयमा आफ्नो बहुमत कायम गर्न पनि सफल भए। कोरोना कहरका बीचमा खेलिएको राजनीतिको फोहोरी खेलले अन्तिममा ओलीलाई व्यक्तिगत फाइदा भयो । तर, जनताको आँखाबाट भने नेकपाका सबै नेताहरू एकैपटक रसातलमा गिरेका छन् ।

एउटा अमूक पार्टी फुटाउने उद्देश्यका साथ प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्बाट अध्यादेश पारित गराएपछि फोहोरी खेलको सुरुवात भएको थियो । पार्टीभित्र र जनस्तरमा तीव्र आलोचनाका कारण उनी अध्यादेश फिर्ता लिन बाध्य भए । प्रधानमन्त्री यसरी ‘बहादुरीपूर्वक’ पछि हटेपछि विवाद साम्य हुनुपर्ने थियो ।

तर, पार्टीभित्रको ओलीविरोधी गुटले यसलाई सरकार ढाल्ने निर्णायक अवसरका रुपमा उपयोग गर्न चाह्यो । फलाम तातेका बेला घन ठोकेझैं सरकार चौतर्फी आलोचित भइरहेको समयमा यसलाई ढाल्न जनसमर्थन पनि मिल्ने आशा उनीहरूलाई थियो ।

नेकपामा स्थायी तीन गुट छन्ः ओली, प्रचण्ड र माधव गुट । यी तीनै गुटसँग स्पष्ट बहुमत छैन । त्यसैले तीनमध्ये जुन दुई गुट आपसमा मिल्छन्, उही बलियो हुने अवस्था छ। माधव नेपालले एमालेमा छँदैदेखि ओलीको पेलाइमा परेको महसुस गर्दै आएका थिए । प्रचण्ड त ओलीका प्रमुख प्रतिस्पर्धी नै भइहाले ।

अर्कोतर्फ पूर्वएमालेबाट आएका वरिष्ठ नेताहरू झलनाथ खनाल र वामदेव गौतमको पनि ओलीप्रति आफ्नै खाले तुषहरू थिए । जब यी चार नेताहरू एकगठ भए, पार्टी र सरकारको सत्ताबाट ओलीको बहिर्गमन अवश्यम्भावी देखियो । पार्टीका सबै कमिटीमा र संसदीय दलमा पनि उनी स्पष्ट अल्पमतमा परे ।

‘मर्ता क्या नही कर्ता’ भन्ने अवस्थामा पुगेका ओलीले एकाएक वामदेव कार्ड फ्याँके । आफू हट्नुपर्ने भए वामदेवलाई प्रधानमन्त्री बनाउन उनले सचिवालयमा प्रस्ताव गरे । हड्बडाहटमा फ्याँकेको यही अलोकप्रिय प्रस्तावले अन्ततः ओलीलाई जीवनदान दिएको छ । पहिल्यैदेखि प्रधानमन्त्री पदका भोका गौतम प्रधानमन्त्रीको प्रस्तावमा सहजै आकर्षित भए । आफू प्रधानमन्त्री बनेमा १० वर्षभित्र नेपाललाई चीनभन्दा माथि पुर्‍याउने दाबी गर्दै आएका उनी तत्काल प्रचण्ड-माधव गुटबाट अलग भएर आफ्नो गृहकार्यमा जुटे। राजनीतिक परामर्श गर्न थाले ।

यहीबीचमा नेपालको उत्तरी छिमेकी चीनका राजदूतको खुला सक्रियता देखियो । उनले एकैदिन प्रधानमन्त्री, प्रचण्ड, माधवसँग उनीहरूको निवासमै पुगेर भेटवार्ता गरिन् । भेटवार्ताका विषयवस्तु बाहिर नआएका भए पनि उनकै सक्रियताले सरकारको खड्को टरेको आकलन कतिपयले गरिरहेका छन् । यसमा आंशिक सत्यता हुन पनि सक्छ । नेपालमा राजनीतिक कोलाहल हुँदा दक्षिणी छिमेकीको दौडधुप देख्दै/भोग्दै आएका नेपालीहरूका लागि यो नौलो दृश्य हुन गएको छ ।

हिजोको सचिवालय बैठक अगाडि नेकपाको विवादले नयाँ मोड लियो । वामदेव एकाएक लचक भए । उनले साथ छोडेपछि सचिवालयमा प्रचण्ड-माधव गुट अल्पमतमा पर्‍यो । त्योसँगै सरकार ढाल्ने प्रयास यत्तिकै तुहियो । बैठकमा ओलीले आफूबाट गल्ती भएको भन्दै आत्मालोचनाको औपचारिकता पूरा गरे । एउटा राजनीतिक प्रहसनको पटाक्षेप त भयो तर यसको प्रभाव नेकपाको आन्तरिक राजनीतिमा लामो समय रहने छ ।

प्रचण्डलाई सेटब्याक

पार्टी एकतायता ओलीसँग प्रचण्डको सम्बन्ध जोगी र भैँसीको जस्तै रह्यो । बाहिर नदेखाए पनि दुवै नेताहरू एक-अर्कासँग चरम सशंकित र त्रसित रहँदै आएका छन् । प्रचण्डले आफू कार्यकारी अधिकार प्रयोग गर्ने शर्तमा ओली सरकारलाई ५ वर्षसम्म चल्न दिने लिखित सहमति गरे पनि सरकार ढाल्ने मौका कुरेर बसिरहेको अहिले पुष्टि भयो ।

त्यसो त अहिलेको खेलकुद यदि सफल भएको भए पनि प्रचण्डलाई प्रत्यक्ष लाभ केही थिएन । उनले प्रधानमन्त्रीका रुपमा माधव नेपाललाई अघि सारेका थिए भने पार्टीमा एकल अध्यक्ष बन्न पनि जोड गरेका थिएनन् । यस अर्थमा सरकार नढल्दा पनि उनलाई सिधा क्षति केही छैन । परन्तु, यो उनको लागि निराशाको अवस्था यसकारण हो कि यस मिसनका प्रमुख सूत्रधार उनी नै थिए ।

प्रचण्डले काँधमा बोकेका माधव नेपाल भुइँमा पछारिए । यसबाट बाहिरी चोट माधव नेपाललाई लाग्यो भने भित्री चोट प्रचण्डलाई लागेको छ । उनी निर्बल सावित भएका छन् । साथै, पार्टी हेडक्वार्टरका रुपमा रहेको सचिवालयमा प्रचण्डले बहुमत गुमाएका छन् ।

माधव नेपालको नियति

कोरोनाको कहरबीच नै सरकार ढालेर नयाँ प्रधानमन्त्रीका रुपमा चर्चामा ल्याइएका थिए । प्रचण्ड स्वयंले उनलाई प्रधानमन्त्रीमा प्रस्तावित गरेको भनिए पनि नेपाल स्वयंले भने मुख खोलेका थिएनन् । तर, प्रधानमन्त्री र अध्यक्षबाट ओलीले राजीनामा दिनुपर्ने उनको अडान थियो ।

१५ वर्षसम्म अनवरत तत्कालीन एमालेको नेतृत्व गरेका नेपाल त्यसयता पार्टी राजनीतिमा कमजोर छन् । ओली अध्यक्ष भएयता आफू एकोहोरो पेलाइमा परेको उनले गुनासो गर्दै आएका थिए । अहिले प्रचण्डसँग मिलेर ओलीलाई ‘पाठ सिकाउने’ मौका नेपालसँग थियो । पार्टी र संसदीय दलमा माधव–प्रचण्ड गुटका पक्षमा बहुमत थियो ।

राजनीति गणितको मात्रै खेल होइन रहेछ । बामदेव ओलीप्रति नरम बन्नासाथ प्रचण्ड-नेपाल पक्ष पछि हट्न बाध्य भयो ।

नेपाललाई अब पार्टीमा ओली र प्रचण्डबीच निकट भएर आफू पुरानै स्थितिमा फर्कने चिन्ता बढेको छ ।

वामदेव ‘निर्णायक’

अब पालो बामदेवको । नेकपा बैठकले उनलाई ‘उपयुक्त समयमा प्रतिनिधिसभाको चुनाव लडाउने’ निर्णय लिएको छ । सम्भवत: यो वामदेवको ‘फेस सेभिङ’का लागि मात्र लिइएको राजनीतिक निर्णय हो । निर्णयमा प्रतिनिधिसभाको चुनाव लडाउने कुरा मात्रै गरिएको छ, प्रधानमन्त्री बनाउने भनिएको छैन । यसलाई वामदेव प्रधानमन्त्री बन्ने अध्याय पनि समाप्त भएको अर्थमा बुझ्न सकिन्छ ।

यसपालि नेकपाको शक्तिसंघर्षमा वामदेव निर्णायक बने । तर, पनि उनी अब आफ्नो कित्तामा आए भनेर ओली पक्षले विश्वास गरिहाल्ने अवस्था चाहिँ देखिँदैन । बामदेव सँधै अवसरको खोजीमा रहने महत्वाकांक्षी स्वभावका नेता हुन् ।

पछिल्लो घटनाक्रममा गौतम कसरी एकाएक ओलीप्रति लचक बने भन्ने चाहिँ अझै स्पष्ट भएको छैन । उनी हिजोको सचिवालय बैठकमा आफूलाई प्रधानमन्त्री बनाउने विषयमा ओलीबाट ठोस प्रस्ताव आउनुपर्ने पक्षमा थिए । तर, बैठक अगाडिका घनिभूत वार्ताकाबीच नै उनको मनस्थिति परिवर्तन भयो ।

गौतमलाई केही भित्री आश्वासन ओलीले दिएको भए बेग्लै कुरा, नत्र भने उनी लगभग हात लाग्यो शून्य नै भएका छन् । अर्थात्, चिसो पानीले नुहाएका छन् । प्रतिनिधिसभाको उम्मेदवार बन्ने, चुनाव जित्ने, अनि संसदीय दलमा बहुमत पुर्‍याएर प्रधानमन्त्री बन्ने सम्भावना उनका लागि सुदूर सम्भावनाका कुरा हुन् । यद्यपि, अब बामदेवले पार्टीको कुन कित्तामा आफूलाई राख्छन् भन्नेकुरा महत्वपूर्ण हुनेछ ।

ओलीलाई अन्तिम मौका

अन्त्यमा, फेरि प्रधानमन्त्री ओलीको चर्चा नगरी यो आलेख पूरा हुन सक्दैन । उनको सत्ताले जीवनदान पाएको छ । यो उनका लागि कार्यशैली सुधार्ने अन्तिम मौका हो । उसले यहीरुपमा सोच्नुपर्छ । यसलाई आफ्नो विजयको रुपमा लिएर विपक्षीलाई कज्याउनेतिर लागे भने त्यो प्रत्युत्पादक सावित हुन सक्छ । हिजोको बैठकमा उनले प्रचण्डको आसन परिवर्तन गरेर उदारताको सन्देश दिएका छन् । यही उदारता उनले पार्टी सञ्चालनमा देखाउनुपर्छ ।

तर, त्योभन्दा महत्वपूर्ण हो देशको जिम्मेवारी । देशलाई कोरोनाको त्रासबाट मुक्त गर्ने तथा चाँडोभन्दा चाँडो जनजीवन सामान्य बनाएर देशको अर्थतन्त्रलाई दुर्घटना हुनबाट जोगाउनु उनको सबैभन्दा ठूलो चुनौती हो । अब राजनीतिक दाउपेच सबै त्यागेर उनले यसैमा आफ्नो अर्जुनदृष्टि लगाउनुपर्छ ।

अहिलेसम्म कोेरोना रोकथाममा सरकारले लिएका रणनीति सफल नै देखिएका छन् । नेपालमा कोरोना अनियन्त्रित भएर फैलिएको छैन । तर, जनतालाई लामो समय लकडाउनमा राख्न सकिने अवस्था पनि छैन ।

अब लकडाउन खुकुलो बनाउँदै कोरोनाविरुद्धको लडाइँ जारी राख्न ओलीले आफ्नो सम्पूर्ण ध्यान खर्च गरून् । यो मिसनमा सफल भए भने ओलीले आफ्नो गुमेको लोकप्रियता पुनर्स्थापित गर्न सक्छन् । असफल भए भने फेरि पनि उनको विकल्पको खोजी त हुने नै छ ।

साभार : अनलाइनखबर अनलाइन