१४ जेठ २०८०, आइतवार
(नेपाली समय)
१४ जेठ २०८०, आइतवार
नेपाली समय

नेपाललाई विश्व बैंकको साढे तीन अर्ब आपत्कालीन सहयोग

काठमाडौं : विश्व बैंकले नेपाललाई २ करोड ९० लाख अमेरिकी डलर अर्थात् करिब साढे तीन अर्ब रुपैयाँ आपत्कालीन सहयोग प्रदान गरेको छ। विश्व बैंकले यो सहुलियत ऋण सहयोग अन्तर्गत उपलब्ध गराएको हो।

कोभिड–१९ आपत्कालीन सम्बोधन तथा स्वास्थ्य प्रणाली परियोजनालागि प्रदान गरिएको उक्त सहयोग नेपालमा कोरोना भाइरस रोकथाम, पहिचान तथा निदानका लागि स्वास्थ्यसामग्री तथा प्रयोगशाला स्तरोन्नति लगायतमा खर्च गरिनेछ।

सहयोग सम्बन्धि सम्झौतामा अर्थ सचिव शिशिर कुमार ढुंगाना र विश्व बैंकका राष्ट्रिय व्यवस्थापक फारिस एच. हदाद जर्भोसले हस्ताक्षर गरेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको नियम तथा विश्व स्वास्थ्य संगठनको कार्यविधिमा आधारित रहेर संक्रमितहरुको पहिचान र सम्पर्क पहिल्याउन आपत्कालीन सहायता प्रदान गर्ने विश्व बैंकले उल्लेख गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यान्वयन गर्ने यो परियोजना कोरोनाको महाव्याधिसँग जुझ्न आवश्यक पूर्वतयरी अन्तर्गत सघन उपचार कक्ष, शय्याहरु विस्तार, अलग्गिएर बस्ने सुविधा देशभर विस्तार गरिनेछ ।

सचिव ढुंगानाले कोरोना भाइरसको महामारी शुरु भएलगत्तै नेपालले कोरोना भाइरसको सम्भावित संकट नियन्त्रणका लागि विभिन्न सुरक्षात्मक उपायहरु अपनाएकोले सामाजिक आर्थिक गतिविधि प्रभावित भएको उल्लेख गर्दै अर्थतन्त्रको पुनःस्थापनाका लागि थप सहयोगको अपेक्षा गरेको बताए ।

जनस्वास्थ्य संकटको अवस्थालाई सम्बोधन गर्न तयार रहने गरी परियोजना अन्तर्गत व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), सफाइ सामग्री, उपचार र हानिकारक संक्रामक रोगहरुको उपचारका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको क्षमता विस्तारमा सहयोग पुग्नेछ ।

विश्व बैंकका राष्ट्रिय व्यवस्थापक जर्भोसले सम्झौतामा उल्लेखित ‘रेट्रोएक्टिभ फाइनान्सिङ’ सम्बन्धि व्यवस्थाका कारण यो परियोजना शुरु हुनुअघि यसको उद्देश्य अन्तर्गत भएका खर्चलाई परियोजना अन्तर्गत राख्न सकिने बताए।विद्यमान संकटको समयमा सरकारको पहलले मुलुकभर नागरिकको जीवन रक्षा गर्न सक्ने भन्दै जर्भोसले विश्व बैंक समूहका विकास साझेदारहरु कोरोना भाइरसको महाव्याधि फैलन नदिन आवश्यक स्वास्थ्यसम्बन्धि पूर्वाधार र स्रोतको व्यवस्थापनमा सहयोग गर्न तत्पर रहेको उल्लेख गरेका छन् ।

विश्व बैंक अन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघको द्रुत सहायता सुविधा प्याकेज अन्तर्गत यो सहयोग प्राप्त गरेको हो।विश्व बैंक र अन्तर्राष्ट्रिय वित्त निगमले जनस्वास्थ्य सेवा अभिवृद्धि, मानवीय सुरक्षा, अर्थतन्त्र तथा रोजगारी बचाउन क्रमशः ६ अर्ब र ८ अर्ब अमेरिकी डलर गरी १४ अर्ब डलरको प्याकेज सार्वजनिक गरेका छन् ।

अर्थमन्त्रीले बहुपक्षीय दातृ निकायसँग छलफल गर्ने

अर्थमन्त्री डा. युवराज खतिवडाले थप राहत तथा अर्थतन्त्र पुनःस्थापना प्याकेजको गृहकार्यका लागि सुझाव लिन तथा थप सहायकताका लागि आह्वान गर्न शुक्रबार बहुपक्षीय दातृ निकायका दक्षिण एसिया उपाध्यक्षहरुसँग छलफल गर्ने भएका छन्। अर्थमन्त्री र नेपाल राष्ट्र बैंकका गभर्नरको उपस्थितिमा उनीहरुसँग भिडियो कन्फ्रेसिङ हुन लागेको हो।

कोरोना भाइरसको महामारीको क्षति यकिन गरी अर्थतन्त्र पुनःस्थापनाका लागि प्रोत्साहन प्याकेज ल्याउन नेपालले दातृ सहयोगका लागि पहल गर्दै आइरहेको छ।  

साभार : अन्नपूर्ण पोष्ट अनलाइन

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds