गोविन्द गिरी प्रेरणा
साहित्यतर्फको सन् १९५४ को नोवेल पुरस्कार पाउने अमेरिकी साहित्यकार सबैभन्दा वढी ‘द ओल्ड म्यान एण्ड सी’ उपन्यासले बढी चिनिन्छन् । आकारले सानो यो उपन्यास महाकवि देवकोटाको मुनामदन जस्तै हो ।
पत्रकारिता, खेलकूद र लेखन अँगालेका उनी जीवनको उत्तरार्धमा लेखनमा मात्र केन्द्रित भएका थिए । साहित्यमा उनी खासगरी उपन्यास र कथा विधामा केन्द्रित थिए । यद्यपि उनले गैर आख्यानका पुस्तकहरु पनि लेखेका थिए ।
अर्नेष्ट हेमिङ्गवेको जन्म सन् १८९९ को जुलाई २१ का दिन इलिनोय राज्यको शिकागो बाहिर ओक पार्क भन्ने ठाउँमा भएको थियो । उनी चिकित्सक पिता क्लेरेन्स एडमण्ड तथा संगीतकार आमा ग्रेस हल हेमिङ्वेका ६ सन्तानमध्ये माहिला थिए ।
उनले आफ्नो स्कूले शिक्षा ओक पार्क तथा रिभर फरेष्ट हाई स्कूलबाट प्राप्त गरेका थिए । उनले स्कूले जीवनमै पत्रकारिताको आरम्भ गरेका थिए । अमेरिकाका प्रख्यात साहित्यकारहरु मार्क ट्वैन, स्टेफेन क्रेन, थियोडोर ड्रेजर, सिङ्क्लेयर लेविज जस्तै उपन्यासकार बन्नुअघि पत्रकार बने । हाईस्कूल सक्नेवित्तिकै उनले ‘कानसास सिटी स्टार‘ मा क्लव रिपोर्टरको रुपमा काम गरेका थिए ।
प्रथम विश्वयुध्दको वेला सन् १९१८ मा हेमिङ्गवे पेरिस पुगेका थिए न्यूयोर्कवाट पानी जहाजमा । त्यहाँवाट ईटाली पठाईए । उनी जुलाई ८का दिन मोर्टार प्रहारबाट गम्भिर रुपले घाइते भए । घाइते हुँदा पनि उनले आफ्नो सेवा कार्य गरिरहे जसका लागि उनले ‘ईटालियन सिल्भर मेडल अफ ब्रेभरी’ पदक पाए ।
उनले स्वास्थ्यलाभ गर्ने क्रममा रेडक्रसमा काम गर्ने आफूभन्दा सात वर्ष जेठी आग्नेस भान कुरोस्कीको प्रेममा परे । उनीहरुले सन् १९१९ को जनवरीमा अमेरिका गएर विहा गर्ने प्रण गरे । तर त्यो प्रण पूरा भएन । अचानक हेमिङ्गवेले आग्नेशको चिट्ठी पाए, ‘म ईटालियन अफिसरसँग विहा गर्ने टुङ्गोमा पुगें ।’
आग्नेशले उनीहरुको सम्बन्धलाई अस्वीकार गरेकोमा हेमिङ्गवेलाई ठूलो चोट पर्यो । उनी आहत भए । त्यो चोटले गर्दा उनले जीवनभर कुनै स्वास्नीमान्छेलाई त्यस्तो अवसर कहिल्यै दिएनन् । उनले विहे गरेका श्रीमतीहरुलाई पनि उनले त्यो मौका दिएनन् ।
पहिलो विवाह
प्रथम विश्वयुद्धमा भाग लिएर युरोपवाट फर्केपछि हेमिङ्गवे सन् १९२० मा शिकागोको नर्थ स्ट्रिटमा अपार्टमेण्टमा बस्थे । त्यहीँ उनको भेट पियानो वादक, साहित्य, कला तथा संगीत भनेपछि हुरुक्कै हुने एलिजावेथ हाड्ले रिचार्डसनसँग परिचय भयो ।
त्यो परिचय गाढा भयो । एक अर्कालाई दुबैले मन पराए । प्रेममा गाँसिएपछि हाड्ले आफ्नो घर सेण्ट लुईस फर्किन् । उनीहरु दुई महिना छुट्टिनु परेको थियो र यी दुई महिनामा उनीहरुले एक अर्कालाई दिनदिनै चिट्ठी लेख्दथे । उनीहरुको उमेरमा ८ वर्षको अन्तर थियो ।
सन् १८९१ नोभेम्वर ९ मा मिजौरी राज्यको सेण्ट लुइसमा जन्मेकी हाड्ले हेमिङ्गवेभन्दा जेठी थिइन् । उनीहरुको उमेर अन्तर भए पनि प्रेममा अन्तर थिएन । यस विषयमा हाड्लीले कुरा उठाउँदा हेमिङ्गवेले उमेरले क्यै फरक नपर्ने अड्डी लिएका थिए ।
दुई महिनापछि हेमिङ्गवे सेण्ट लुइस पुगे । जुन महिनामा हाड्लेले आफ्ना साथीभाइ र दिदीको विरोध हुँदाहुँदै पनि हेमिङ्गवेसँग विहा गर्ने घोषणा गरिन् । हाड्लेले हेमिङ्गवेको प्रतिभा चिनेकी थिइन् । उनी हेमिङ्गवेका लागि उपयुक्त पात्र भएको उनको मनले ठहर्याएको थियो ।
अन्ततस् सन् १९२१को सेप्टेम्वर ३ का दिन उनीहरुको विवाह भयो । उनीहरुले वालुन लेकमा अवस्थित हेमिङ्गवे परिवार समर कटेजमा हनिमून मनाए । विहापछि हेमिङ्गवे सपत्नी पेरिस उडे । उनले ‘द टोरोण्टो स्टार’ पत्रिकाको युरोप प्रतिनिधिका रुपमा नियुक्ति पाएका थिए ।
पेरिस गएपछि उनीहरु जर्मनीको भ्रमणमा पनि गए । पेरिसमा हेमिङ्गवेले पुस्तक पसल र प्रकाशक शेक्सपियर एण्ड कम्पनी चलाउने सिल्भिया वीचलाई भेटे । यही पुस्तक पसलमा उनले जेम्स ज्वायसलाई भेटे । जेम्सको विश्वविख्यात उपन्यास ‘युलाइसिस’ सिल्भियाले नै प्रकाशित गरेकी थिइन् । पेरिसमा उनको भेट एज्रा पाउण्ड, गेट्रयूड स्ट्रन लगायतका कवि लेखकसँग पनि परिचय भयो ।
सन् १९२२ को डिसेम्वरमा हेमिङ्गवे रिपोर्टिङका लागि जेनेभा गएका थिए । उनलाई भेट्न हार्डली पेरिसवाट जाँदा हेमिङ्गवेको पाण्डुलिपिहरुले भरिएको यौटा सुटकेस हरायो । यो घटनाले हेमिङ्गवे रिसले आगो भए । यो ठूलो नोक्सानी थियो ।
त्यसको केहीपछि हाड्ले गर्भवती भइन् । अनि उनीहरु टोरन्टो फर्किए । १० अक्टोवर १९२३ मा उनीहरुको पहिलो सन्तान जोनको जन्म भयो । उनीहरु पुनः पेरिस फर्किए । पेरिसमा यसपल्ट हेमिङ्गवेले एज्रा पाउण्ड तथा फोर्ड म्याडक्स फोर्डको आधुनिकतावादी पत्रिका ‘ट्रास्लाण्टिक रिभ्यू’ सम्पादनको काम थाले । त्यो वर्षको हिउँदमा उनीहरुले वार्षिक छुट्टी अष्ट्रियामा मनाएका थिए ।
त्यसवर्षको क्रिसमसमा हेमिङ्गवेको परिचय पाउलिन पिफरसँग भयो । त्यो परिचय प्रेममा वदलियो । यो सम्वन्धको वारेमा थाहा पाएपछि हेमिङ्गवे र हाड्लेका वीच तनाव शुरू भयो । अनि उनीहरु पार पाचुके गर्ने निर्णयमा पुगे । हेमिङ्गवेले आफ्नो सम्पत्तिको हिस्सा वाहेक लेख्दै गरेको उपन्यास ‘द सन अल्सो राइजेज’ को रोयल्टी हाड्ललाई दिने वताए र हाड्लेले त्यो सकारिन् ।
१९२७ जनवरीमा उनीहरुको पारपाचुके भयो ।
दोस्रो विवाह
हाड्ले रिचार्डसनसँग पारपाचुके भएकै बर्ष १९२७ को मे १० मा पाउलिन पिफरसँग दोश्रो विवाह गरे । अनि हनिमूनका लागि फ्रान्सकै ले ग्राउ द रो गए ।
पाउलिन होची, छरितो जीउडाल तथा कालो कपाल भएकी आकर्षक थिइन् । पाउलिनका परिवार धनी क्याथोलिक थिए । विवाह अघि नै हेमिङ्गवेले पनि आफूलाई क्याथोलिकमा परिवर्तन गराए । पाउलिन गर्भवती भएपछि उनीहरु अमेरिका फर्कने निधोमा पुगे ।
साहित्यकार जोन डस पासोसले उनीहरुलाई फ्लोरिडाको पुछारको तटीय शहर की वेस्टमा जाने सल्लाह दिए र उनीहरु त्यहीँ गए । पाउलिनबाट हेमिङ्गवेलाई प्याट्रिक र ग्रेगोरी दुई सन्तान प्राप्त भयो ।
सन् १९३३ मा हेमिङ्गवे र पाउलिन पूर्वी अफ्रिकाको सफारीमा गए । यो १० हप्ता लामो यात्रा थियो ।
यो यात्राले हेमिङ्गवेलाई ‘ग्रिन हिल्स अफ अफ्रिका’ का लागि लेखन सामाग्री प्राप्त भयो । त्यस्तै उनका उनका विख्यात कथाहरु ‘ द स्नो अफ किलिमन्जरो, द सर्ट ह्याप्पी लाईफ अफ फ्रान्सिस माकोम्वर‘ जस्ता कथा पनि यही भ्रमणका उपलब्धि हुन् । उनीहरुले केन्याका मोम्वासा, नैरोवी, माचाकोश भ्रमण गरेका थिए । अनि सेरेनगेटीमा शिकार पनि खेलेका थिए ।
सन् १९३७ मा स्पेन भ्रमणका बेला हेमिङ्गवेको मार्था गेलहर्नसँग प्रेमालाप शुरू भयो । त्यसको नतिजा सन् १९४० को नोभेम्वर ४ का दिन पाउलिनसँग पारपाचुके भयो ।
तेस्रो विवाह
पाउलिनसँग पारपाचुके भएको १५ दिनमै २० नोभेम्वरका दिन मार्था गेल्हर्नसँग हेमिङ्गवेले विहा गरे । यो विवाह वेमिङ राज्यको चेयने शहरमा सम्पन्न भएको थियो ।
हेमिङ्गवेलाई उनको प्रख्यात तथा महत्वपूर्ण उपन्यास ‘फर हूम द वेल टोल्स’ लेख्न मार्थाले प्रेरित गरेकी थिइन् । यो उपन्यास हेमिङ्गवेले क्युवा, वेमिङ तथा सन भ्यालीमा लेखेका थिए । यो उपन्यास अक्टोवर १९४० मा प्रकाशित भएको केही महिनामै पाँच लाख प्रति विक्री भएको थियो ।
मार्थाले काम गर्ने कोलियर पत्रिकाले उनलाई सन् १९४१ को जनवरीमा चिनमा खटायो र हेमिङ्गवे पनि उनको साथ लागेर गए र मार्थालाई रिपोर्ट पठाउन सहयोग गरे । मार्था आफ्नो पत्रकारिताको कर्ममा अति ब्यस्त थिइन् । उनले दोस्रो विश्वयुद्धका रिपोर्टहरु फिनल्याण्ड, हङकङ, वर्मा, सिंगापुर, वेलायत आदि ठाउँबाट गरेकी थिइन् । उनले भनेकी थिइन्, ‘मैले युद्धलाई पछ्याएर पुग्न सकिने सबै ठाउँ पुगेर रिपोर्टंङ गरें ।’
उनको व्यस्तताले दाम्पत्य जीवनमा फाटो ल्याउने काम गर्यो । एकपल्ट रिसको झोंकमा हेमिङ्गवेले लेखे, ‘तिमी युद्ध पत्रकार हौ कि मेरो ओछ्यानकी स्वास्नी ?’ तर मार्था आफू काममा बढी प्रतिवद्ध थिइन् र आफूलाई ‘पाँचै महादेशमा सवैभन्दा खराव ‘ओछ्यानको साथी’ मान्दथिन् । उनको स्वाभिमान थियो, ‘हेमिङ्गवेलाई भेट्नु अघिदेखि नै म लेखिका थिएँ ।’
उनीहरु वीच ४ वर्षको दाम्पत्य जीवन निकै उकाली ओरालीकासाथ वित्यो र सन् १९४५ मा उनीहरुले पार पाचुके गरे । उनीहरुको दाम्पत्य जीवनमा कुनै वच्चा भएनन् ।
चौथो विवाह
हेमिङ्गवेको चौथो तथा अन्तिम श्रीमती थिइन्, मेरी वेल्स । यिनले हेमिङ्गवेको जीवनकालभरि साथ थिइन् र विधवा भइन् ।
हेमिङ्गवे र मेरी वेल्सको चिनाजानी सन् १९४४ मा भएको थियो । मेरी ‘टाइम’ पत्रिकाकी सम्वाददाता थिइन् । चिनाजानीपछि उनीहरु घनिष्ठ भए । तर, दुबै विवाहित थिए र आ–आफ्ना पति र पत्नीसँग छुट्टिएका थिएनन् ।
हेमिङ्गवेले मार्थासँग र मेरीले आफ्नो पति निओल मोङ्कसँग पारपाचुके गरे । अनि १९४६ को मार्चमा उनीहरुले विवाह गरे । अगस्तमा मेरीको गर्भपतन भयो । त्यसपछि उनको कहिल्यै गर्भ रहेन ।
विवाहापछि उनीहरु क्युवा गएर बसे ।
सन् १९४८ मा हेमिङ्गवे र मेरीले युरोपको व्यापक भ्रमण गरे र भेनिसमा बढी समय व्यतीत गरे । भेनिसमा छँदा हेमिङ्गवे १९ वर्षकी किशोरी आड्रियाना इभानसिचसँग प्रेममा परे ।
तर, यो प्रेम आदर्शवादी थियो, प्लाटोनिक । यो प्रेमले एउटा उपन्यास लेख्न प्रेरणा प्राप्त भयो र उनले ‘ए क्रस द रिभर एण्ड इन्टु द ट्रिज’ लेखे । तर, यो उपन्यासले समीक्षकहरुबाट स्वागत पाउन सकेन । अनि उनले ८ हप्तामा ‘द ओल्ड म्यान एण्ड द सी’ लेखे । यो सानो कायाको उपन्यास लेखिसकेपछि उनले भने, ‘मैले जीवनमा लेख्न सक्ने सबै खुबी यसमा लगाएको छु ।’
हुन पनि यो उपन्यास महिनाको श्रेष्ठ पुस्तकमा छानियो र उनलाई सेलिब्रेटीको स्थानमा पुर्यायो । यो पुस्तकको पहिलो संस्करण ५० हजार प्रति बिकेको थियो । अनि यसले पुलित्जर पुरस्कार पनि पायो । उनलाई नोवेल पुरस्कार दिने निर्णय गर्दा यो उपन्यासको उल्लेख गरिएको छ ।
नोवेल पुरस्कार
२८ अक्टोवर १९९४ को विहान हेमिङ्गवेकी चौथी श्रीमती मेरी वेल्स हेमिङ्गवे लोग्नेको तातो अँगालोमा ओछ्यानमा लुपुक्क टाँसिएकी थिइन् । हेमिङ्गवेले उनको कानमा सुस्तरी फुस्फुसाए, ‘मैले एउटा कुरा जितें नि !’
‘के कुरा ?’ मेरीले निद्रालु आवाजमा भनिन् ।
‘त्यही स्वीडिस कुरा !’
अर्नेष्ट हेमिङ्गवेलाई सन् १९५४ को साहित्यतर्फको नोवेल पुरस्कार दिइने घोषणा भएको थियो ।
स्वास्थ्यका कारण उनी पुरस्कार समर्पण समारोहमा जान सकेनन् र स्वीडेनका लागि अमेरिकाका राजदूत जोन सि कावोटलाई पुरस्कार स्वीकार गर्दाको आफ्नो लिखित भाषण पढ्न आग्रह गरे ।
सो भाषणमा उनले लेखेका थिए, ‘लेखन ऐकान्तिक जीवनको विशिष्ट प्रस्तुति हो । ….यौटा सच्चा लेखकले हरेक पुस्तकमा नयाँ थालनी गरेको हुन्छ । उसले सधैं पहिला नलेखिएको वा लेख्न कोशिस गरेर असफल भएका काम गर्नुपर्छ । तब कहिलेकाहीँ भाग्यले साथ दिएमा सफल हुन्छ । …एउटा लेखकले उसले भन्न खोजेको कुरा लेख्नुपर्छ तर बोल्नुहुँदैन ।’
हेमिङ्गवेको जीवनको उत्तरार्ध
हेमिङ्गवे जीवनको उत्तरार्धमा पनि सक्रिय थिए । उनी आफ्ना प्रिय स्थानहरु युरोपका पेरिस लगायतका शहरहरु, फ्लोरिडाको की वेष्ट, क्युवाको हवाना लगायतका स्थानहरुको भ्रमण गरिरहे । तर, पछि स्वास्थ्यले साथ दिएन ।
उनले पारपाचुके गरेका श्रीमतीहरुसँग पनि एक दुरीको राम्रै सम्पर्क थियो । विशेष गरी जेठी श्रीमतीसँग उनको राम्रो सम्वन्ध थियो । आफ्ना साहित्यिक मित्रहरु विलियन वटलर यिट्स, फोर्ड म्याडोक्स फोर्ड, एफ स्कट फिटजेराल्ड, शेरउड एण्डरसन, जेम्स ज्वायस, गेर्ट्रयुड स्टेन भकाभक मरेपछि हेमिङ्गवेलाई त्यसले चिन्तित बनायो र डिप्रेसनको शिकार भए ।
सन् १९५५ देखि १९५६ को शुरुवातसम्म उनी एक प्रकारले ओछ्यानै परे । उनलाई डाक्टरले मदिरा पिउन मनाही गरे । उनलाई उच्च रक्तचाप, कलेजोमा खराबी लगायतका रोगले आक्रमण गरेको थियो । उनका हराएका पाण्डुलिपिहरु पाइएका थिए र त्यसैलाई पुनर्लेखन गरेर ‘मुभेवल फिस्ट’ कृति तयार भयो र प्रकाशित भयो ।
सन् १९५९ मा उनी स्पेनको ‘बुलफाइटिङ’ हेर्न गए । यो ‘लाइफ’ पत्रिकाको फिचरका लागि थियो । सम्पादकहरु १० हजार शब्दको आलेख चाहन्थे । तर, उनले त एउटा सग्लो पुस्तक आकारको लेखिदिए । एक लाख तीस हजार शब्दको । त्यसलाई ४० हजार शब्दको आलेख बनाएर छापियो ।
सन् १९६१ तिर हेमिङ्गवे मानसिकरुपले अस्थिर हुन थालेका थिए । एकदिन मेरीले उनलाई शटगन हातमा लिएर बसेको देखेपछि आत्तिएर सहयोग मागिन् र उनलाई सन भ्याली अस्पताल पुर्याइयो । उनलाई त्यहाँ विद्युतीय झड्का दिएर उपचार गराइयो ।
पछि जून महिनामा उनी अस्पतालबाट मुक्त भए । तर, २ जुलाइ १९६१ को बिहान हेमिङ्गवेले आफूले सधैं खेलाइरहने उनको प्रिय सटगनले आफूलाई सदाका लागि समाप्त गरे ।
मृत्युपछि पनि हेमिङ्गवे रुचाइएका लेखकमा पर्छन् । उनका पुस्तकहरुको माग निरन्तर छ । अमेरिकीहरुका ‘पापा हेमिङ्गवे’ उनका कथा उपन्यासहरुमा जीवित छन् ।
–वृन्दावन, भारत ।