१४ चैत २०८०, बुधवार
(नेपाली समय)
१४ चैत २०८०, बुधवार
नेपाली समय

पहिरोले हाइड्रोपावरको कुलो भत्काउँदा ५४१ घर अन्धकारमा

खोटाङ, ७ असार (रासस) : लगातारको वर्षाका कारण माथिबाट झरेको पहिरोले हाइड्रोपावरको कुलो बगाउँदा खोटाङ पाथेकाका स्थानीय अन्धकारमा बस्न बाध्य भएका छन् । 

नाखामखोला लघु जलविद्युत् आयोजनाको कुलो गत जेठ ३० गते बेलुकी झरेको पहिरोले बगाएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका स्थानीय अन्धकारमा बस्न बाध्य भएका हुन् । 

साविकको पाथेका गाविसस्थित सबै वडामा विस्तार गरिएको ६० किलोवाट क्षमताको विद्युत्का लागि निर्माण गरिएको फोर वे नजिकै पहिरो जाँदा २५ मिटर लम्बाइको कुलो भत्काएको उपभोक्ता समितिले जनाएको छ । 

वैकल्पिक ऊर्जा, स्थानीय तथा तत्कालीन स्थानीय निकायको संयुक्त पहलमा निर्माण सम्पन्न गरी ५४१ घरधुरीले लाभ लिइरहेको हाइड्रोपावरको कुलो भत्कँदा रु १५ लाख बराबरको क्षति भएको छ । 

पहिरोका कारण कुलो भत्केपछि उक्त वडाका सम्पूर्ण विद्यालयमा सञ्चालन गरिएको कम्प्युटर कक्षा, अन्य कार्यालय सञ्चालन, कुटानी पिसानी मिल, सहकारीको कारोबारलगायतको कार्य प्रभावित बनेको निर्माण उपभोक्ता समितिका सचिव शहरमान राईले बताउनुभयो । 

विद्युत् अवरुद्ध भएपछि बेलुकी अन्धकारमा बस्न बाध्य हुनुका साथै स्थानीयबासिन्दा मोबाइल फोन चार्ज गर्न नपाउँदा सूचना तथा सञ्चारबाट वञ्चित बनेका छन् । 

आयोजनालाई पुनःमर्मत गर्न आर्थिक समस्या भएको निर्माण उपभोक्ता समितिको अध्यक्ष अग्निप्रसाद राईले बताउनुभयो । आर्थिक व्यवस्था भए पनि विद्युत् सञ्चालन हुन करीब एक महिना लाग्ने राईले सुनाउनुभयो । 

उक्त हाइड्रोपावरमा विसं २०७२ मा गएको भूकम्पले करीब रु २१ लाख बराबरको क्षति पु¥याएको थियो । जिल्लाको उत्तरी क्षेत्रका अधिकांश गाउँ तथा नगरपालिकामा आफ्नै लगानीमा हाइड्रोपावर सञ्चालन गरिएको छ । 

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds