२ जेठ २०७९, सोमवार
(नेपाली समय)
२ जेठ २०७९, सोमवार
नेपाली समय

पाइलटको तलब घटाउने निर्णय

काठमाडौं : हेलिकप्टर कम्पनीअन्तर्गतका पाइलट, इन्जिनियर, मुख्य पद धारक र कर्मचारीको तलबमा कटौती गर्ने निर्णय गरिएको छ। हेलिकप्टर सञ्चालक संघको बुधबारको बैठकले ५ बुँदे निर्णय गर्दैे सदस्य हेलिकप्टर कम्पनीहरूको हकमा लागु हुने गरी कर्मचारीको तलब कटौती गर्ने निर्णय गरेको छ। जसअनुसार पाइलटको तलब ७५ हजारदेखि १ लाख २५ हजारसम्म, इन्जिनियरको तलब ३५ देखि ७५ हजारसम्म, कि पोस्ट होल्डरको २५ देखि ५० हजारसम्म र जुनियर स्टाफको सरकारले तोकेको न्यूनतम तलब १३ हजार ४५० त्यो भन्दा नघट्ने गरी कायम गरिने निर्णय भएको संघका प्रवक्ता योगराज कँडेल शर्माले जानकारी दिए।

यसअघि हेलिकप्टर पाइलटको तलब ४ लाखदेखि ५ लाखसम्म, इन्जिनियरहरूको डेढ लाखदेखि ३ लाखसम्म, मुख्य पद धारण गर्नेको १ लाख २५ हजारसम्म र जुनियर स्टाफको १५ हजारदेखि ४० हजारसम्म तलब निर्धारण गरिएको थियो। तलब घटाउने सम्बन्धमा सम्बन्धित कर कार्यालय, श्रम कार्यालयलगायत सम्बन्धित संस्थामा पत्राचार गरी कार्यान्वयन गरिने निर्णय गरिएको छ। यहाँ कि पोष्ट होल्डर भनेर प्रबन्धक, निर्देशकजस्ता माथिल्लो तहका कर्मचारी भएको बताइएको छ।

यस्तै संघले ग्राउन्ड हेलिकप्टर कम्पनीलाई ग्राउन्ड इन्स्योरेन्स कभर गर्न आग्रह गर्ने निर्णय गरेको छ। यसका लागि बिमा समिति र नेपाल उड्डयन प्राधिकरणलाई बोधार्थ गरी पत्राचार गर्ने र उक्त बिमा कार्यान्वयनका लागि पहल गर्र्ने निर्णय संघको छ।

संघले २५ लाख रुपैयाँ कोरोना रोकथाम कोषलाई दिने पनि निर्णय गरिएको छ। यस्तै, विगतदेखि बजारबाट उठ्न बाँकि रकम उठाउने पहल गर्ने निर्णय संघको छ। हवाई कम्पनीले बजारबाट उठाउन बाँकि रहेको २७ करोड रुपैयाँ १ महिनाभित्र उठाउने गरी सम्बन्धित कम्पनीलाई पत्राचार गर्ने शर्माले जानकारी दिए।

साभार : अन्नपूर्ण पोष्ट अनलाइन