१४ जेठ २०८०, आइतवार
(नेपाली समय)
१४ जेठ २०८०, आइतवार
नेपाली समय

पाचन प्रणाली बलियो बनाउने सरल विधी

धेरैजसोले भोग्ने समस्या हो, पेट वा पाचन सम्बन्धी गडबडी । खानपान नमिलेर वा अन्य कारणले पेटमा समस्या निम्त्याउँछ । जब पाचन तन्त्र खराब हुन्छ, समग्र शरीरमै त्यसको असर पर्छ ।

हामीले खाएका जतिपनि खानेकुरा छन्, त्यसलाई पचाएर आवश्यक पोषक तत्व शरीरले ग्रहण गर्छ । यद्यपि पाचन तन्त्र नै खराब छ भने खानेकुराबाट पोषक तत्व शरीरले प्राप्त गर्न सक्दैन । यसले शरीरमा अनेकन रोग निम्त्याउँछ । त्यसैले स्वस्थ शरीरका लागि पाचन यन्त्र चुस्त÷तन्दुरुस्त हुनैपर्छ । यसका लागि केही सामान्य विधी अपनाए पुग्छ ।

आयुर्वेदमा पाचन प्रणालीलाई अग्नी समान मानिन्छ । पाचन प्रणालीलाई शरीरको उर्जा स्रोत मानिन्छ । शरीरमा उत्पादित हरेक शक्तिको सुरुवात पाचन प्रणालीबाट नै हुन्छ ।

ताजा र सुपाच्य खानेकुरा

हामीले जस्तो खानेकुरा खान्छौं, शरीर पनि त्यही अनुसारको हुने हो । दुषित, बासी वा तामासिक खानेकुरा सेवन गर्दा शरीर जीर्ण र रोगी हुन्छ । यदि ताजा, सुपाच्य अर्थात स्वस्थ्यकर र पोषिलो खानेकुरा सेवन गरियो भने शरीर बलियो, निरोगी, उर्जावान् हुन्छ । खासगरी पाचन तन्त्रलाई बलियो बनाउनका लागि ताजा, सहजै पच्ने, मौसम अनुकुलको खानेकुरा सेवन गर्नुपर्छ । सागसब्जी, फलफूल, सलाद र पानीलाई आफ्नो नियमित खानामा समावेश गर्नुपर्छ ।

खाना खाँदा भरपुर आनन्द लिने

जब तपाई खाना खानुहुन्छ, त्यसको भरपुर आनन्द लिनुहोस् । आयुर्वेदका अनुसार शारीरिक स्वस्थ्य कायम राख्नका लागि मनबाटै भोजन गर्नुपर्छ । खाना खाएको बेला आरमसँग बस्नुहोस् । सहि मुद्रामा बस्नुहोस् । यसले तपार्इंको पाचन यन्त्रले ठीक ढंगले काम गर्छ ।

खाने समय तालिका निश्चित गरौं

कहिले काहीँ हामी काम गर्दै यति धेरै खानेकुरा खान्छौं कि, जसलाई पचाउन गाह्रो हुन्छ । चाहे टेलिभिजन हेरिहेको बेला होस् वा कसैसँग भलाकुसारी हामी खाइरहन रुचाउँछौं । यसरी एकै स्थानमा बसेर लामो समयसम्म खानु हानिकारक हुनसक्छ । त्यसैले खाने तालिका अनुसार ठीक–ठीक समयमा मात्र खाने गरौं । जतिपनि बेला खाइरहने बानीले पाचन यन्त्रमा असर गर्छ । खाने समय निर्धारण गरौं ।

नियमित दैनिकी

आयुर्वेदका अनुसार पाचन क्रिया दुरुस्त राख्नका लागि सहि र नियमित दिनचर्या पालना गर्नुपर्छ । विहान नास्ता, मध्यन्ह भोजन र राती भोजन सहि समयमा गर्नुपर्छ । राती भोजन गरिसकेपछि तुरुन्तै सुत्नु हुँदैन । राती हल्का भोजन गर्नुहोस् । बिहान पौष्टिक खानेकुरा लिनुहोस् ।

शारीरिक श्रम एवं व्यायाम

पाचन यन्त्रलाई बलियो बनाउनका लागि शारीरिक श्रम आवश्यक हुन्छ । केही न केही काम गरौं । संभव भएसम्म पसिना निस्कनेगरी काम गरौं । नियमित व्यायाम गरौं । समुचित श्रम र व्यायामले पाचन यन्त्रलाई बलियो बनाउन मद्दत गर्छ ।

निस्क्रिय बस्ने वा कुनैपनि श्रम नगर्ने व्यक्तिको पाचन यन्त्र कमजोर हुन्छ ।

खराब खानपान त्यागौं

अहिले बजारमा मीठोमसिनो र सजिलै उपलब्ध हुने खानेकुरा छन् ।  त्यस्ता खानेकुराले पाचन यन्त्रलाई खराब गर्छ । जस्तो प्रशोधित खानेकुरा, मैदाजन्य खानेकुरा, चाउचाउ, चिप्स जस्ता जंकफुड, कोल्ड डिं«क, मदिरा, तारेको, भुटेको आदि खानेकुरा त्यागौं ।

बिहान उठ्नसाथ मनतातो पानी

पाचन यन्त्रलाई बलियो बनाउने एउटा राम्रो काइदा हो, बिहान उठ्नसात मनतातो पानी पिउने । अन्य खानेकुरा सेवन गर्नुअघि वा व्यायाम गर्नुअघि मनतातो पानी पिउनुपर्छ । यसले पाचन यन्त्रलाई चुस्त राख्छ ।

खानेकुराको गुणस्तर ख्याल गरौं

हामीले जे खान्छौं, त्यसैबाट हाम्रो शरीर निर्माण हुने हो ।  त्यसैले कस्तो खानाले शरीरमा कस्तो प्रभाव पार्छ भन्ने ख्याल राखेर खानेकुराको छनौट गरौं । मौसम अनुकुल खाना कुन हो ? कुन खानेकुरामा कस्तो पोषक तत्व पाइन्छ ? कसरी पकाएर खाएमा पोषक तत्व नष्ट हुँदैन भन्ने कुराको ख्याल राखौं ।

तनाव र चिन्ता नलिने

हामीलाई विभिन्न कारणले तनाव वा चिन्ता हुनसक्छ । तर, तनाव वा चिन्ता लिँदैमा कुनैपनि कुराको हल हुने होइन, समाधान हुने होइन । त्यसैले तनाव लिएर आफ्नै शरीरलाई हानी गर्नुको अर्थ छैन । तनावले पाचन यन्त्रमा समेत नकारात्मक असर पार्छ । त्यसैले तनाव व्यवस्थापन गरौं । योग, प्राणायाम जस्तो विधी अपनाऔं ।

साभार :अनलाइनखबर अनलाइन

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds