२ असोज २०८०, मंगलवार
(नेपाली समय)
२ असोज २०८०, मंगलवार
नेपाली समय

पार्टीको आन्तरिक एकता सुदृढ र अन्तिम निष्कर्षमा पुग्‍छ : प्रधानमन्‍त्री ओली

लेनिन जयन्ती तथा पार्टी स्थापना दिवस

काठमाडौं : प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले आन्तरिक एकतालाई थप सुदृढ बनाइ एकता प्रक्रियालाई अन्तिम निष्कर्षमा पुर्‍याउने बताएका छन्। लेनिन जयन्ती तथा पार्टी स्थापना दिवसको अवसरमा प्रेस वक्तव्य जारी गर्दै उनले कम्युनिष्ट पार्टीले लोकप्रिय मतमार्फत दुई तिहाईभन्दा बढी स्थानमा विजय हासिल गरी मुलुकको प्रमुख र निर्णायक शक्तिका हैसियतमा शासन संचालनको नेतृत्व गर्ने भूमिका पाउनु असाधारण उपलब्धि भएको टिप्पणी गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘सात दशकको अवधिमा लेनिनले स्थापना गर्नुभएको सोभियत संघ विघटन भयो। तर लेनिनवादी सिद्धान्तको आलोकमा हुर्किएको हाम्रो नेकपा, स्थापनाको सात दशक भित्रै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरी शासनको सर्वोच्च स्थानमा नेपाली जनताको अधिकार स्थापित र संस्थागत गर्ने ऐतिहासिक दायित्वको नेतृत्व गर्ने तहमा पुग्यो।’

अप्रिल २२ (वैशाख १० गते), ७१ वर्ष पहिले आजकै दिन नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो। आजकै दिन विश्वमा दूरगामी महत्वको परिवर्तनको नेतृत्व गर्ने ऐतिहासिक व्यक्तित्व भ्लादिमिर इल्यिच लेनिनको जन्म भएको थियो।

‘यस विशेष दिनको अवसरमा म विश्व क्रान्तिका नायक, भ्ला.ई.लेनिनप्रति भावपूर्ण श्रद्धासुमन र सम्मान व्यक्त गर्दछु।’ जारी विज्ञप्तिमा भनिएको छ, ‘पार्टी स्थापना भएको आजको विशेष दिनमा म संस्थापक महासचिव कमरेड पुष्पलालको नेतृत्व र पहलकदमीको स्मरण गर्दै भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दछु।’ 

नेपालमा २००६ साल वैशाख १० गते पुष्पलाल श्रेष्ठको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो भने अहिलेको सत्ताारुढ दल नेकपाको गत २०७५ जेठ ३ गते एकता भएको हो।

अध्यक्ष ओलीले नेकपाले निरन्तर रुपमा जनतालाई जागृत र संगठित बनाउँदै अनेकन् आरोहअवरोह र हण्डर–ठक्करको सामना गर्दै संघर्षको नेतृत्व गरिरहेको स्मरण गरेका छन्। ‘पार्टीमा हुर्किएको गुटबन्दी, विभाजन र अराजकतामाथि विराम लगाउँदै एकता, पुनर्गठन र सुदृढ एकताको महान अभियानलाइ अघि बढायो।’ उनले भनेका छन्,  ‘सिद्धान्तको अन्धानुकरण र यान्त्रिक प्रयोगको सट्टा सिर्जनात्मक प्रयोग मार्फत मौलिक एवम् सही विचारको विकास र अवलम्बन गर्दै सामन्ती, प्रतिगामी, निरङ्कुश र जनविरोधी शक्तिसँग जुधेर नै नेपाली कम्युनिष्ट आन्दोलनले आजको उचाइ हासिल गरेको हो।’

पार्टी स्थापनाको अवसरमा ओलीले संस्थापक सदस्य र अग्रणी विचारकप्रति उच्च सम्मान व्यक्त गर्दै सात दशक लामो आन्दोलनका क्रममा आफ्नो जीवन उत्सर्ग गर्ने आदरणीय सहिदहरु, निष्ठापूर्वक निरन्तर समर्पित कमरेडहरु र हसिंया हथौडाअंकित झण्डामुनि गोलबन्द भई संगठित रुपमा योगदान गर्ने न्यायप्रेमी जनसमुदायहरुको उच्च सम्मान व्यक्त गरेका छन्।

पार्टी स्थापना दिवसको अवसरमा  प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष  केपी शर्मा ओलीले जारी गरेको वक्तव्यको पूर्ण पाठ: 

प्रेस वक्तव्य

आज अप्रिल २२ (वैशाख १० गते), ७१ बर्ष पहिले आजकै दिन नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । आज अप्रिल २२, आजकै दिन विश्वमा दूरगामी महत्वको परिवर्तनको नेतृत्व गर्ने ऐतिहासिक व्यक्तित्व भ्लादिमिर इल्यिच लेनिनको जन्म भएको थियो ।

यस विशेष दिनको अवसरमा म विश्व क्रान्तिका नायक, भ्ला.ई.लेनिनप्रति भावपूर्ण श्रद्धासुमन र सम्मान व्यक्त गर्दछु । पार्टी स्थापना भएको आजको विशेष दिनमा म संस्थापक महासचिव कमरेड पुष्पलालको नेतृत्व र पहलकदमीको स्मरण गर्दै भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दछु ।

सात दशकको अवधिमा लेनिनले स्थापना गर्नुभएको सोभियत संघ विघटन भयो । तर लेनिनवादी सिद्धान्तको आलोकमा हुर्किएको हाम्रो नेकपा, स्थापनाको सात दशक भित्रै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरी शासनको सर्वोच्च स्थानमा नेपाली जनताको अधिकार स्थापित र संस्थागत गर्ने ऐतिहासिक दायित्वको नेतृत्व गर्ने तहमा पुग्यो । 

वितेका यी बर्षहरुमा नेकपाले निरन्तर रुपमा जनतालाई जागृत र संगठित गर्दै आयो । अनेकन् आरोहअवरोह र हण्डर–ठक्करको सामना गर्दै संघर्षको नेतृत्व गरिरह्यो । पार्टीमा हुर्किएको गुटबन्दी, विभाजन र अराजकतामाथि विराम लगाउँदै एकता, पुनर्गठन र सुदृढ एकताको महान अभियानलाइ अघि बढायो । सिद्धान्तको अन्धानुकरण र यान्त्रिक प्रयोगको सट्टा सिर्जनात्मक प्रयोग मार्फत मौलिक एवम् सही विचारको विकास र अवलम्बन गर्दै सामन्ती, प्रतिगामी, निरङ्कुश र जनविरोधी शक्तिसँग जुधेर नै नेपाली कम्युनिष्ट आन्दोलनले आजको उचाइ हासिल गरेको हो । कम्युनिष्ट पार्टीले लोकप्रिय मतमार्फत दुई तिहाईभन्दा बढी स्थानमा विजय हासिल गरी मुलुकको प्रमुख र निर्णायक शक्तिका हैसियतमा शासन संचालनको नेतृत्व गर्ने भूमिका पाउनु असाधारण उपलब्धि हो । 

पार्टी स्थापनाको यस अवसरमा संस्थापक सदस्यहरुका साथै अग्रणी विचारकप्रति उच्च सम्मान व्यक्त गर्दछु । सात दशक लामो आन्दोलनका क्रममा आफ्नो जीवन उत्सर्ग गर्ने आदरणीय सहिदहरु, निष्ठापूर्वक निरन्तर समर्पित कमरेडहरु र हसिंया हथौडाअंकित झण्डामुनि गोलबन्द भई संगठित रुपमा योगदान गर्ने न्यायप्रेमी जनसमुदायहरुको उच्च सम्मान गर्दछु । 

लेनिन जयन्ती तथा पार्टी स्थापाना दिवसले पार्टीको आन्तरिक एकतालाई थप सुदृढ तुल्याउन र विगत दुई बर्षदेखि जारी एकता प्रक्रियालाई अन्तिम निष्कर्षमा पुर्‍याउन प्रेरणा दिनेछ भन्ने मैले विश्वास लिएको छु । 

नेकपामाथि भरोसा गर्दै विश्वास तथा साथ–सहयोग गर्नुहुने सम्पूर्ण नेपाली जनताप्रति म हार्दिक कृतज्ञता समेत जाहेर गर्दछु । 

केपी शर्मा ओली
अध्यक्ष
१० वैशाख २०७७

साभार : अन्नपूर्ण पोष्ट अनलाइन

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds