१२ चैत २०८०, सोमवार
(नेपाली समय)
१२ चैत २०८०, सोमवार
नेपाली समय

पेनाल्टीमा चुके रोनाल्डो

फाइनलमा पुग्यो युभेन्ट्स

रोम : युभेन्ट्स इटालियन कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। सेमिफाइनलमा बलियो प्रतिद्वन्द्वी एसी मिलानलाई पाखा लगाउँदै युभेन्ट्स फाइनलमा पुगेको हो। युभेन्ट्सले फाइनलमा नापोली वा इन्टर मिलानसँग उपाधिका लागि भिडन्त गर्नेछ। फाइनल खेल जुन १७ तारिखमा खेलिनेछ।

शुक्रबार राति घरेलु मैदानमा खेलिएको सेमिफाइनलको दोस्रो लेग खेलमा एसी मिलानलाई गोलरहित बराबरीमा रोक्दै युभेन्ट्स फाइनलमा पुगेको हो। त्यसअघि गत फेब्रुअरी १३ तारिखमा खेलिएको सेमिफाइनलको पहिलो लेग खेलमा पनि युभेन्ट्सले एसी मिलानलाई उसैको मैदानमा १—१ गोलको बराबरीमा रोकेको थियो।

दुवै लेगको नतिजा १—१ भएपछि युभेन्ट्स ‘अवे गोल’ का आधारमा फाइनलमा पुगेको हो। दोस्रो लेग खेलको सुरुमै युभेन्ट्सका अनुभवी पोर्चुगिज खेलाडी क्रिस्टियानो रोनाल्डो पेनाल्टी प्रहारमा गोल गर्नबाट चुकेका थिए। खेलको १६औं मिनेटमा उनले पेनाल्टी प्रहारको अवसर पाएका थिए। खेलको १७औं मिनेटमै एसी मिलान १० खेलाडीमा समेटिएको थियो। एसी मिलानका एन्टी रेबिक सीधै रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए।

युभेन्ट्सले हालसम्म सर्वाधिक १३ पटक इटालियन कपको उपाधि जितिसकेको छ। युभेन्ट्सले पछिल्लो पटक सन् २०१८ मा उपाधि हात पारेको थियो। सर्वाधिक उपाधि जित्ने सूचीमा दोस्रो स्थानमा रहेको एएस रोमाले नौ पटक सफलता हात पारेको छ।

जारी सिजनको इटालियन सिरिए तालिकामा पनि युभेन्ट्स पहिलो स्थानमा आसिन छ। विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण लिग स्थगित हुनुअघि युभेन्ट्सले २६ खेल खेल्दै ६३ अंक बटुलेको छ। तालिकाको दोस्रो स्थानमा आसीन लाजियोले समान खेलबाट ६२ अंक जोडेको छ।

साभार: अन्नपूर्णपोष्ट अनलाइन

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds