१० कार्तिक २०७८, बुधवार
(नेपाली समय)
१० कार्तिक २०७८, बुधवार
नेपाली समय

प्रदेश ५ मा कोरोना परीक्षण सुस्त,जोखिम बढी

बुटवल : पाँच नम्बर प्रदेशमा भारतबाट फर्किएकाको संख्या २ लाख ४ सय ४२ छ । प्रदेश ५ का विभिन्न ३५ नाकाबाट यी नागरिक नेपाल भित्रिएका हुन् । नेपाल भित्रिएका मध्ये ५ प्रतिशत पनि क्वारेन्टाइनमा बसेका छन् । सरकारकै मापदण्ड अनुसार यी सबै जोखिम क्षेत्रवबाट आएकाले कोरोना परीक्षण हुनुपर्छ । तर अहिलेसम्म प्रदेशभर जम्मा साढे २ प्रतिशतमा मात्रै कोरोना परीक्षण भएको छ ।

प्रदेश ५ मा शुक्रबार मात्रै दुई कोरोना संक्रमित व्यक्ति भेटिएका छन् । यी दुईजनाको परीक्षण समेत निकै ढिलो भएको छ । जोखिममा रहेका नागरिककै परीक्षण सुस्त हुँदा भित्रभित्रै कोरोना फैलिन सक्ने जोखिम देखिएको छ । लक्षण बिनाका व्यक्तिमा समेत कोरोना पोजेटिभ देखिएकाले परीक्षणको दायरा बढाउनुपर्ने हुन्छ । जनशक्ति र उपकरण अभाव भन्दै प्रदेश ५ मा परीक्षणको काम सुस्त गतिमा चलाइएको छ ।

प्रदेश ५ मा क्वारेन्टाइनमा बसेका नागरिकको समेत कोरोना परीक्षण गरिएको छैन । प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार क्वारेन्टाइनमा बसेकाको संख्या ११ हजार ८ सय ९५ छ । तीमध्ये शुक्रबारम्म पीसीआर र आरडीटी गरी ५ हजार जनाको मात्रै कोरोना परीक्षण गरिएको छ । अन्य २ सय ४५ जनाको स्वाव संकलन गरिएको छ ।

कोरोना परीक्षणको गति बढाउनका लागि प्रदेशका तीन सहरमा पीसीआर ल्याब सञ्चालनमा छ । तर ती ल्याबको परीक्षण गति निकै सुस्त भएका कारण प्रगति हुन सकेको छैन । निर्देशनालयका अनुसार भैरहवा, दाङ र नेपालगञ्जमा रहेको प्रयोगशालाबाट दैनिक २० वटा नमुना मात्रै परीक्षण हुने गरेको छ । 

जबकी यी प्रयोगशालामा एक घण्टामै धेरै नतिजा निकाल्ने प्रविधि छ ।प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले भिटिएम अभावले परीक्षणमा केही ढिलाई भएको बताए। ‘हामीसँग भीटीएमको अभाव थियो, अहिले एक हजारजति आएको छ, उनले भने, ‘अब पीसीआर परीक्षण रोकिदैन ।’

सामाजिक विकास मन्त्रालयले क्वारेन्टाइनमा बसेका सबै र जोखिम क्षेत्रबाट आउनेलाई परीक्षणको दायरामा राखेको छ । ती भारत र तेस्रो मुलुकबाट आउने मध्येका को हुन भन्ने भने छुटइएको छैन् । यी सबै क्वारेन्टाइनमा बसेका छैनन् । जोखिम क्षेत्रबाट आएकाको परीक्षणका लागि ६५ हजार आरडीटी किट आवश्यक रहेको चौधरीले जनाए । अहिलेसम्म प्रदेशमा ७ हजार किट आएको छ । मुलुकमै नभएका कारण परीक्षणको काम अव रोकिने उनले बताए ।

समयमै कोरोना परीक्षण नभएपछि क्वारेन्टाइनमा बसेकाहरु घर फर्किएका छन् । रोल्पामा मात्रै करिव साढे ८ हजार क्वारेन्टाइनमा छन् । आरडिटी परीक्षणमा प्रदेश ५ मा दुईजनामा मात्रै पोजेटिभ देखिएको थियो । पीसीआरमा भने सबै नेगेटिभ छन् ।

सामाजिक विकास मन्त्री सुदर्शन बराल क्वारेन्टाइनमा बस्नेको संख्या थपिएसँगै कोरोना परीक्षणमा चुनौति थपिएको बताए। उनले थप नजशक्ति र प्रविधि प्रयोग गरेर परीक्षण गरिने बताए ।

प्रदेशका तीन सहरमा रहेका पीसीआर परीक्षणको सुस्त गतिले समेत ढिलाइ भइरहेको छ । सातै प्रदेशमध्ये सबैभन्दा कम परीक्षण समेत प्रदेश ५ मा भएको छ । भैरहवामा चैत २३ गतेदेखि परीक्षण सुरु गरिएको थियो । झण्डै एक महिनामा ३ सय ९ जनाको परीक्षण गरिएको छ । भेरी अस्पतालमा १ सय ३९ र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जम्मा ५ जनाको पीसीआर परीक्षण गरिएको छ । 

प्रयोगशालाको क्षमता अनुरुप परीक्षण गर्न नसक्दा प्रदेश ५ मा संकलन भएको स्वाव काठमाण्डौं पठाउने गरिएको छ । अहिले २ सय ४५ नमुना परीक्षणकै क्रममा रहेका छन् । अहिलेकै गतिमा परीक्षण भए प्रक्रियामै रहेका नमुना परीक्षण सक्न कम्तिमा एक महिना लाग्नेछ ।

स्वास्थ्य निर्देशनालयले जनशक्ति प्रर्याप्त रहेको दाबि गरे पनि त्यसअनुरुपका काम गर्न सकेको छैन् । परीक्षणमै ढिलाई हुदा कोरोनाको प्रभाव लम्बिदै जाने चिन्ता थपिएको छ । मुलुकमा प्रदेश नम्बर २, ५ र सुदुरपश्चिम उच्च जोखिममा रहेका छन् । खुला सीमाबाट लुकिछिपी नेपाल प्रवेश नरोकिएका कारण यी जोखिममा छन् ।

साभार : अन्नपूर्ण पोष्ट अनलाइन