१४ चैत २०८०, बुधवार
(नेपाली समय)
१४ चैत २०८०, बुधवार
नेपाली समय

प्रधानन्यायाधीशमा जोशीको नाम सिफारिश

काठमाडौँ, २९ जेठ (रासस) ः संवैधानिक परिषद्को बैठकले भावी प्रधानन्यायाधीश पदमा कामु प्रधानन्यायाधीश दीपकराज जोशीको नाम सिफारिश गरेको छ । 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको बैठकले भावी प्रधानन्यायाधीशमा जोशीको नाम सिफारिश गरेको बैठकपछि कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले जानकारी दिनुभयो 

गत चैतमा तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीले राजीनामा दिएपछि सो पद रिक्त रहेको छ । कामु प्रधानन्यायाधीशको रुपमा वरिष्ठतम् न्यायाधीशको हैसियतले जोशीले काम गर्दै आउनुभएको छ । 

न्यायपरिषद्ले प्रधानन्यायाधीशका लागि सर्वोच्च अदालतमा तीन वर्ष स्थायी न्यायाधीश भई काम गरेका न्यायाधीशमध्ये वरिष्ठतम् न्यायाधीश जोशी, ओमप्रकाश मिश्र र चोलेन्द्रशम्शेर राणाको संवैधानिक परिषद्मा पठाएको थियो । न्यायालयमा वरिष्ठतम् न्यायाधीश नै प्रधानन्यायाधीश हुने व्यवस्था छ । 

मन्त्री तामाङले उच्च नैतिक चरित्र, इमान्दारिता र कार्यदक्षता समेतलाई दृष्टिगत गरी प्रधानन्यायाधीशमा सिफारिश गरिएको जानकारी दिँदै उहाँको नाम संघीय संसद्मा पठाउने बताउनुभयो । 

न्यायपरिषद्ले पठाएको कागजातका आधारमा संवैधानिक परिषद्ले प्रधानन्याायधीशको नाम सिफारिश गरेपछि संसदीय सुनुवाइ भएपछि राष्ट्रपतिबाट नियुक्ति हुने संवैधानिक व्यवस्था छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, विपक्षी दलका नेता तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, कामु प्रधानन्यायाधीश जोशी, सभामुख कृष्णबहादुर महरा, कानूनमन्त्री तामाङ सहभागी हुनुहुन्थ्यो । 

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds